विपद्बाट १९५ को मृत्यु

काठमाडौं । यसवर्ष विपद्बाट अहिलेसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायतका एक हजार ५ सय २५ घटनामा परी १ सय ९५ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदंश छ, हवाई दुर्घटनाबाट तीनजना र अन्य तीनजनाको मृत्यु भएको बताए ।

विपद्को घटनामा परेर ३५ वेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुंगा पल्टेर एक र हिउँपहिरोमा परी एकजना छन् । घाइते हुनेमा चट्याङबाट १ सय ६३, हावाहुरीमा १ सय ४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करीब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६ सय १९ क्षति भएको छ । सबैभन्दा बढी क्षति बाढीबाट १ अर्ब ५ करोड ५ लाख ४ हजार रुपैयाँ क्षति भएको छ ।

बाढीपछि आगलागीबाट १ अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट १ करोड ७८ लाख ३ हजार रुपैयाँ, चट्याङबाट २६ लाख २ हजार रुपैयाँ, भारी वर्षाबाट ८२ लाख २० हजार ५ सय रुपैयाँ र जनावर आतंकबाट नौ लाख १९ हजार रुपैयाँ क्षति भएको जनाइएको छ ।

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६ सय ९७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी आगलागीबाट १ हजार ५६, बाढीबाट ६ सय ९९, चट्याङबाट २ सय ७, पहिरोबाट १ सय ५८, लेक लागेर १८, जनावर आतंक ७५, भारी वर्षाबाट ५० र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् ।

विपद्बाट १ हजार २ सय ६४ घर आंशिक र ७ सय २९ घर पूर्ण रूपमा क्षति भएको छ । यसैगरी १ हजार १ सय ७८ पशु चौपाया मरेका र ३ सय ८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४ सय १८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५ सय ५८, जनवार आतंकबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट ६ वटा चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण करिब ९० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया