पानी संकलनबारे राष्ट्रिय सम्मेलन

काठमाडौं । वर्षाको पानीलाई संकलन र व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । वर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

यही साउन ११ र १२ गते काठमाडौंमा हुने सो सम्मेलन खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट बास सोलुसनको संयुक्त आयोजना, खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाको सहयोगमा हुन लागेको हो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरियाबाट समेत खानेपानीमा काम गर्ने विज्ञ आउने भएका छन् ।

सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षात्को पानी संकलनबाट जलाधार तथा परिस्थितीय चक्र (इकोसिस्टम), आकाशे पानी संकलन प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र वित्तीय सहयोग, पानीको अभाव, जलवायु परिवर्तन र अनुकूलनजस्ता २५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकका सदस्य रामदीप शाहले जानकारी गराए ।

प्रतिक्रिया