विश्वकप छनोटमा नेपाल कठिन समूहमा

एजेन्सी, कतार । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह ’बी’ मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् । दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउँनेछन् ।

समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउँनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो । फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरू आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछ । नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

यता,राजनीतिका कारण कट्टर प्रतिद्वन्द्वी उत्तर कोरिया र दक्षिण कोरियाले सन् २०२२ को विश्वकपको छनोट चरणमा एकै समूहबाट एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्ने भएका छन् । बुधबार भएको ड्रमार्पmत कोरियाली प्रतिद्वन्द्वीसँगै अर्का कट्टर प्रतिद्वन्द्वी इराक र इरान पनि एउटै समूहबाट एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।

सन् २०१८ को विश्वकप खेलेका ह्याभिवेट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब आगामी विश्वकपको एसियाली छनोट चरणमा फरकफरक समूहमा परेका छन् । सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनोटमा यी राष्ट्र यसपटक मुख्य दाबेदार मानिएका छन् । दोस्रो पटक विश्वकप खेल्ने उद्देश्य लिएको चीन भने निकै सहज प्रतिद्वन्द्वीहरूको समूहमा परेको छ ।

चीन परेको समूह ‘ए’ मा फिफा विश्व वरीयतामा निकै पछाडि रहेका राष्ट्रहरू छन् । जुन समूहमा द्वन्द्वको भूमरीमा परेका सिरियाका साथै निकै सानो राष्ट्र ग्वामका साथै दक्षिण एसियाली कमजोर राष्ट्र माल्दिभ्स छन् । उक्त समूहमा चीनका लागि कठिन प्रतिद्वन्द्वी फिलिपिन्स हो । फिफा वरीयतामा ७३औँ स्थानमा रहेको चीन र फुटबलका समर्थकसमेत रहेका देशका राष्ट्रपति सि जिनपिङ विश्वकप फुटबलको आयोजना गर्ने लक्ष्य बोकिरहेका छन् ।

दक्षिण कोरिया एसियाली फुटबलमा निकै बलियो राष्ट्र मानिए पनि वेलावेला राजनीतिका कारण दुई बीचको खराब सम्बन्धका कारण उत्तर कोरियाली पनि छिमेकीलाई उतिकै चुनौती दिने प्रयास गर्नेछ । सेप्टेम्बरदेखि जुनसम्म हुने छनोटमा यी दुई राष्ट्रले होम एन्ड अवेका आधारमा एकअर्काविरुद्ध दुई पटक चुनौती प्रस्तुत गर्नेछन् । क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघको हेडक्वार्टरमा सम्पन्न ड्र पछि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले उत्तर कोरियासँग पर्नु खासै विशेष नभएको बताए ।

‘हाम्रा लागि यो खेलकुद मात्र हुनेछ,’दक्षिण कोरियाका प्रशिक्षक पाउलोले भने,‘गोलले नै छनोट हुने आधार निर्माण गर्नेछ । हाम्रो लक्ष्य पनि त्यस्तै हुनेछ ।’ साथै प्रशिक्षक पाउलोले आफ्ना खेलाडीलाई अन्य टोलीसँगको खेल जस्तै उत्तर कोरियामाविरुद्धको खेलमा पनि सोही किसिमको सम्मान प्रकट अनुरोध गरे । तर, खेलकै माध्यमबाट नै दुई ध्रुवमा विभाजित कोरियालीलाई एकै ठाउँमा उभ्याउने प्रयास पनि भइरहेका छन् ।

सन् २०१८ मा भएको विन्टर ओलम्पिकमा विभाजन पछि पहिलो पटक दुवै राष्ट्रले संयुक्त कोरियाका रूपमा प्रतिस्पर्धा गरेका थिए । तर, उत्तर कोरियाको आणविक प्रक्षपणपछि यी दुईबीच पुनः दरार सिर्जना भइरहेका छन् । एकआपसमा खराब सम्बन्ध भएका इरान र इराकले एकै समूह ‘सी’ बाट प्रतिस्पर्धा गर्दैछन् । जसको कारण यी देशबीचको खेल पनि निकै घम्साघम्सी हुनेछ । राउन्ड रोबिन फरम्यान हुने प्रतिस्पर्धाका प्रत्येक आठ समूहका विजेता र चार उत्कृष्ट विजेताले अन्तिम चरणको विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

एसियन छनोट चरणअन्तर्गत समूह ‘ए’ चीन, सिरिया, फिलिफिन्स, माल्दिभ्स र ग्वाम, समूह ‘बी’मा अस्ट्रेलिया, जोर्डन, ताइवान, कुवेत र नेपाल, समूह ‘सी’मा इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया, समूह ‘डी’ मा साउदी अरबीया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर, समूह ‘इ’ मा बंगलादेश, ओमन, भारत, अफगानिस्तान, कतार, समूह ‘एफ’ मा जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया, समूह ‘जी’ मा संयुक्त अरब इमिरेट्स, भियतनाम, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया तथा समूह ‘एच’ मा दक्षिण कोरिया, उत्तर कोरिया, लेबनान, तुर्केमिनिस्तान र श्रीलंका छन् ।

प्रतिक्रिया