भट्टराईका दुई पुस्तक बजारमा

काठमाडौं । साहित्यकार तुलसीप्रसाद भट्टराईद्वारा लिखित दुई पुस्तक ‘मञ्जरी’ गजल संग्रह र ‘समता’ खण्डकाव्य एकसाथ बजारमा आएका छन् । राजधानीमा साहित्य सुधा नेपालद्वारा आयोजित कार्यक्रममा उक्त कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकार डम्बर पहाडी, रमेश शुभेच्छुक, तिलकप्रसाद उप्रेती, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रूपमा विमोचन गरे ।

कुलपति उप्रेतीले बजारमा पछिल्लो सयम थुपै्र कृति आए पनि ‘मञ्जरी’ र ‘समता’ ले सिंगो समाजको प्रतिनिधित्व गर्ने जिकिर गरे । उनले भने, ‘समताले हिन्दू धर्मले कथित दलित जातिलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गरेको छ ।’ पुस्तक समाजको ऐना भएको बताउँदै उनले यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्ने भनाई व्यक्त गरे । उनले भने, ‘हिन्दू धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म ग्रन्थमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ ।’

उक्त कृतिका बारेमा टिप्पणी गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले यी पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको जिकिर गरे । भट्टराईले समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानुनका पुस्तकको लामो स्वाध्ययनपछि छन्दबद्ध काव्यको रूपमा तयार पारेको दोस्रो कृति हो । उनको पहिलो कृतिका रूपमा ‘मञ्जरी’ गजल संग्रहलाई हो । ‘मञ्जुरी’ मा राजनीतिक तथा सामाजिक कुसंस्कार तथा विचलन लगायतका विषयलाई उधिनिएको छ ।

५८ वटा गजल समावेश गरिएको उक्त संग्रहले नेपाली समाजको सांस्कृतिक विचलन, सामाजिक परिवेश र राजनीतिक अवस्थालाई चित्रण गरेको लेखक भट्टराईले बताए । झापामा बसेर कलम चलाउँदै आएका उनले ‘समता’ मा छुवाछुत मान्नुलाई अपराधको रूपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया