८५ वर्षको वृद्ध व्यक्ति किन पार्टीको महामन्त्री भयो ?

कुनै व्यक्तिले कुन उमेरसम्म पार्टीमा सक्रिय भएर काम गर्न मिल्दछ ? कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीमा सक्रिय हुन छाड्दछन्, निष्क्रिय हुन्छन् वा पार्टीबाट पलायन हुन्छन् । पार्टीप्रतिको आस्था, उत्साह वा कतिपय अवस्थामा रोग वा शारीरिक असक्तताका कारणले पनि कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीको कामबाट पछाडि हट्दछन् । तर, कुनै व्यक्तिले लामो समयसम्म वा बृद्ध अवस्थामा पुगेपछि पनि पार्टीमा काम गर्ने उत्साह वा सक्रियतालाई कायम राख्दछ भने के त्यो अपराध हुन्छ ?

हाम्रो पार्टीको आठाैँ महाधिवेशनले यो स्वीकार गरेको छ कि अहिले पार्टीमा अनुशासनको अवस्था धेरै नै कमजोर छ । त्यो महाधिवेशनभन्दा पहिले, महाधिवेशनको वेलामा वा त्यसपछि पनि पार्टीभित्रबाट कैयौँ गोप्य सूचनाहरूको चुहावट भएको कुराबाट प्रष्ट हुन्छ । कतिपय वेलामा, जस्तो कि माथि पनि भनियो, पार्टीका इमान्दार र अनुशासित साथीहरूबाट पनि गल्ती कमजोरीहरू भएर पार्टीभित्रका सूचनाहरू बाहिर जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

तर, गतकालमा जसरी पार्टीभित्रका थुप्रै गोप्य कुराहरू बाहिर जाने गरेका छन्, त्यसबाट पार्टीभित्र नै बाहिरका गलत तत्वहरूको धेरै नै पहुँच भएको वा पार्टीभित्र कुनै न कुनै तहमा घुसपैठ भएको स्थितिलाई नै बताउँछ । तर, पार्टीको कुनै सदस्यले लगातार पार्टीभित्रका गोप्य सूचनाहरू पार्टी बाहिरका गलत तत्वहरूलाई दिने वा छद्म वा अप्रत्यक्ष प्रकारले पार्टीको सार्वजनिक रूपले नै आलोचना गर्ने गर्दछन् भने त्यो गम्भीर प्रकारको गल्ती वा अक्षम्य अपराध पनि हो । त्ससप्रकारका तत्वहरूलाई पत्ता लगाउनका लागि पार्टीका सबै स्तरका समिति वा सदस्यहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । नत्र त्यसप्रकारका तत्वहरूले पार्टीलाई गम्भीर क्षति पुर्याउन सक्दछन् ।

आठौँ महाधिवेशनका सिलसिलामा पार्टीका विरूद्ध खास गरेर तल लेखिएअनुसारका भ्रमहरू फैलाउने काम गरिएको छ ।

८५ वर्षको वृद्ध व्यक्ति किन पार्टीको महामन्त्री भयो ? भन्ने भ्रम सर्वाधिक रूपमा फैलाइएको छ । आठाँैं महाधिवेशनको सन्दर्भमा सबैभन्दा बढी आक्षेप लगाइएको विषय यही हो । यो विषयलाई सर्वप्रथम व्यक्तिगत आधारमाभन्दा त्यससित जोडिएको प्रक्रियाका आधारमा विचार गर्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा पार्टीको कुनै सदस्य कुन उमेरसम्म पार्टीको नेतृत्वमा रहन मिल्छ भन्ने प्रश्नभन्दा महत्वपूर्ण प्रश्न यो हो ः कुनै व्यक्तिले कुन उमेरसम्म पार्टीमा सक्रिय भएर काम गर्न मिल्दछ ? कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीमा सक्रिय हुन छाड्दछन्, निष्क्रिय हुन्छन् वा पार्टीबाट पलायन हुन्छन् ।

पार्टीप्रतिको आस्था, उत्साह वा कतिपय अवस्थामा रोग वा शारीरिक असक्तताका कारणले पनि कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीको कामबाट पछाडि हट्दछन् । तर, कुनै व्यक्तिले लामो समयसम्म वा वृद्ध अवस्थामा पुगेपछि पनि पार्टीमा काम गर्ने उत्साह वा सक्रियतालाई कायम राख्दछ भने के त्यो अपराध हुन्छ ? त्यसरी कुनै व्यक्ति पार्टीमा सक्रिय भएको अवस्थामा उसलाई के जिम्मेवारी दिने वा कुन कमिटीमा राख्ने त्यो पार्टी वा सम्बन्धित कमिटीका सदस्यहरूले निर्णय गर्ने कुरा हो । माक्र्स, ऐंगेल्स, स्तालिन, माओ, होचिमिन्ह आदिले धेरै नै बृद्ध भइसकेपछि पनि पार्टीको नेतृत्व वा महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरेका थिए ।

भारतको सोहरतगढमा भारतीय कम्युनिष्ट पार्टीका एकजना वृद्ध कामरेड शीतलप्रसाद हुनुहुन्थ्यो । आफ्नो उमेरमा उहाँले ठूलाठूला आन्दोलनहरूको नेतृत्व गर्नुभएको थियो र त्यहाँको पार्टीको प्रान्तीय समितिमा पनि हुनुहुन्थ्यो । तर पछि करिब पचासी वर्षको उमेरमा पुगेर शारीरिक रूपले धेरै नै कमजोर भएपछि सोहरतगढको स्थानीय टोलको सेलमा बसेर काम गर्ने गर्नुहुन्थ्यो । त्यही प्रकारले आज पार्टीले मलाई महामन्त्रीमा निर्वाचित गरेको छ भने त्यसले भोलि मलाई सल्लाहकारमा राख्न, कुनै जिल्ला कमिटीमा राख्न वा मेरो आफ्नो गाउँ ओखरकोट वा अन्यत्र कतै सेलमा पनि राख्न सक्दछ ।

त्यो मेरो काम गर्नसक्ने क्षमता, स्प्रिट वा पार्टीले कुनै पार्टी सदस्यलाई कहाँ राखेर वा कुन जिम्मेवारी दिएर काम गराउनु उचित हुन्छ ? त्यस आधारमा निर्णय गर्ने कुरा हो । त्यो बाहेक कुनैवेला एउटै समयमा पनि पार्टीमा महामन्त्री, जिल्ला पार्टीको सेक्रेटरी वा एरिया कमिटीका सदस्यहरूका लागि पनि कैयौँ पार्टी सदस्यहरू उपयुक्त हुन सक्दछन् । उनीहरूमध्ये सबै व्यक्तिहरू महामन्त्री, कुनै कमिटीको सेक्रेटरी वा कुनै कमिटीका सदस्यहरूमा सबै जना निर्वाचित हुन सक्दैनन् । त्यो अवस्थामा कुनै पद वा कमिटीका लागि सम्भावित उम्मेदवारहरूमध्ये कसलाई निर्वाचित गर्ने ? त्यो सम्बन्धित कमिटीले निर्णय गर्ने कुरा हो ।

उपर्युक्त प्रक्रियाअनुसार नै म द्वितीय महाधिवेशनमा केन्द्रीय समितिको सदस्य, तृतीय महाधिवेशनमा पिवीमा, चौथौँ र छैठौँ महाधिवेशनहरूमा केन्द्रसित पार्टी एकता भएपछि महामन्त्रीमा, सातौँँ र आठौँँ महाधिवेशनहरूमा पुनः महामन्त्रीमा निर्वाचित भएँ भने ती पार्टीको प्रक्रियाअनुसार नै भएका निर्णयहरू थिए । कुनवेला कुनै पार्टी कमिटीले कुनै पदको लागि कसलाई निर्वाचित गर्ने ? त्यो कुरा आफ्नो निर्धारित प्रक्रियाअनुसार निर्णय गर्ने कुरा हो । भोलि नवौँ वा दशौँ महाधिवेशनहरूको वेलामा पनि म पार्टीको काम गर्न शारिरिक र मानसिक रूपले योग्य भएमा पार्टीले केन्द्रीय कमिटीदेखि सेल वा समर्थक गु्रपसम्म कुनै तहमा बसेर काम गर्ने जिम्मा दिन सक्दछ । अहिले पनि पार्टीले मलाई महामन्त्रीबाट हटाएर कुनै एरिया वा सेलमा काम गर्ने जिम्मा दिन्छ भने पनि त्यो मलाई सहर्ष स्वीकार हुनेछ ।

पहिले महामन्त्री भएको वेलामा पनि मैले त्यहाँबाट निष्कासित भएर, कुनै वेला सामान्य सेलमा बसेर वा महामन्त्रीबाट हटेर केन्द्रीय समितिमा बसेर वा केन्द्रीय समितिको पर्यवेक्षक भएर मात्र पनि काम गर्ने गरेको छु । कुन बेला कुन पद प्राप्त हुन्छ ? त्यो मुख्य कुरा होइन । मुख्य कुरा शारिरीक र मानसिक रूपल समर्थ हुँदासम्म पार्टीमा सक्रिय भइरहने हो । त्यस सन्दर्भमा कसैको उमेर ८५ वा १०० कति पुग्यो ? त्यो गौण महत्वको कुरा हो । मुख्य प्रश्न कुनै वेला कुन पदमा बस्ने भन्ने होइन, प्रश्न पार्टीप्रतिको आस्था, उत्साह वा सक्रियताको कायम रहँदासम्म जहाँ बसेर पनि पार्टीको काममा सकेसम्म योगदान दिने भन्ने नै हो ।

यसरी यो प्रश्न व्यक्तिगत रूपमा मसँग जोडिएको नभएर पार्टीको प्रक्रियासित जोडिएको विषय हो । पूर्व एमालेले ७० वर्ष काटेका व्यक्तिहरूलाई केन्द्रीय समितिमा नराख्ने निर्णय गरेको थियो । तर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा र हाम्रो पार्टीमा पनि त्यसप्रकारको कुनै नियम छैन । त्यसैले कुन उमेरमा को महामन्त्री भयो वा भएन भन्ने प्रश्न सिद्धान्तहीन, अराजनीतिक वा गौण महत्वको प्रश्न हो । जसले त्यसप्रकारको टिकाटिप्पणी गरिरहेका छन्, त्यसले उनीहरूको निम्नस्तरको र असैद्धान्तिक पिछडिएको मानसिकतालाई नै बताउँछ । क्रमशः (बाँकी आगामी अंकमा)

प्रतिक्रिया