कृष्टिना र स्टेलालाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई दुई अवार्ड हात लागेको छ ।

सिंगापुरमा गत २६ जुनदेखि १ जुलाइसम्म आयोजना भएकोे ‘एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९’ मा नेपालका पाँच सहभागीमध्ये दुई बालबालिकाले उत्कृष्ट उपाधि जित्न सफल भएका छन् । एसियाका ४२ देशका बालबालिका सहभागी रहेको उक्त महोत्सवमा ‘लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९’ मा ११ वर्षीया कृष्टिना खड्काले शीर्ष उपाधि जितिन् । कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समूहकी विजेता समेत हुन् ।

यस्तै, ‘मिनी एसिया प्यासिफिक प्रिन्सेस–२०१९’ मा सबै प्रतिस्पर्धीलाई पछि पार्दै ८ वर्षीय स्टेला शाहले शीर्ष उपाधि हात पारिन् । स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समूहकी विजेता हुन् ।

त्यसैगरी, नेसनल किड्स अफ इयर २०१८ कै उपविजेता यांशु श्रेष्ठले प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि जितेकी छन् । नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माइल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयर अवार्ड प्राप्त गर्न सफल भए ।

प्रतिस्पर्धामा सहभागी पाँचै जनालाई ‘लिटिल एसिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एसिया प्यासिफिक प्रिन्सेस–२०१९’ को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिंगापुर लगेको हो । दुई बालिकाको सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बताए ।

उनले बिजेताले पनि आफूहरूले लामो समयको मिहिनेतपश्चात् एसियाका अरू देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याउन सफल भएको बताए । उनीहरूलाई कोरियोग्राफर रोजिन श्रेष्ठले प्रशिक्षण दिएका थिए भने अभिमन्यु शर्माले प्रतियोगिताको व्यवस्थापन हेरेका थिए ।

प्रतिक्रिया