सरकारले भारतबाट आयात हुने तरकारीजन्य वस्तुमा विषादी चेकजाँच गरेर मात्र भित्र्याउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गर्यो । सोहीअनुसार राजपत्रमा सूचना प्रकाशित भयो तर, दुई दिन नबित्दै सरकार आफ्नो निर्णयबाट पछि हट्यो । अर्थात् हाललाई विषादी चेकजाँचको काम नगरिने भयो । सरकारको यस निर्णयको संसद्भित्र र बाहिर चर्को विरोध भइरहेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको यो निर्णयको चर्को विरोध गरिरहेको छ । कांग्रेस नेता गगन थापाले आफ्नो दलले सरकारको चेकजाँच गर्ने निर्णयको समर्थन गरेको तर फिर्ता हुँदा दुःख मनाउ गरेको संसदमा प्रष्टै देखियो । काठमाडौंका सडकमा तरकारीका माला लगाएर विरोध प्रदर्शन गरेको पनि देखियो । यसरी प्रचार गरिँदैछ मानौँ सरकारले जानी जानी तरकारीमा विषादी घोलेर नागरिकलाई जबर्जस्ती कोच्याउँदैछ ।
तरकारीमा मात्र होइन सबै प्रकारका खाद्यपदार्थमा विषादीको प्रयोग आम बनेको छ । भारतबाट आयातित तरकारीमा मात्र होइन्, नेपालमै उत्पादित हरेक खाद्य पदार्थमा विषादीको अत्यधिक प्रयोग अब बाध्यताजस्तै बनेको छ । भारतबाट आयातित तरकारीमा विषादी चेकजाँच गर्दा मात्र हाम्रो भान्सा विषादीरहित खाद्य पदार्थले भरिन पनि हैन । परम्परागत खेती गर्दा अब उत्पादन हुनै छाडेको छ । विज्ञान र प्रविधिमा नयाँ नयाँ प्रयोगले मानव जीवनमा नयाँ नयाँ समस्या पैदा गराएका छन् । प्राकृतिकरूपमा जुन ऋतुमा जुन फलफुल वा तरकारी उत्पादन हुने हो त्यो मात्रै होइन्, अब हामी विभिन्न प्रयोग गर्दै प्रकृतिलाई चुनौती दिँदै बेसिजनका खाद्य पदार्थ उत्पादन गर्दा गौरव अनुभूति गरिरहेका छाैँ । प्रकृति विपरित वा ऋतुलाई चुनौती दिँदै उत्पादन गरिने यस्ता कुराले अन्य समस्या वा नयाँ नयाँ रोग पनि निम्त्याएको छ । मानिसमा जस्तै वनस्पतिमा पनि यस्ता नयाँ नयाँ खाले रोग देखा परेका छन् । यसलाई नियन्त्रण गर्न कडाभन्दा कडा विषादीको प्रयोग भइरहेको छ । यो वाध्यता पनि हो । किनभने परम्परागत ढंग कमेरो माटोको घोल वा वस्तुभाउका मलमूत्र विषादीकोरूपमा प्रयोग गर्दा यी रोग नियन्त्रणमा आउँदैनन् । पराम्परागत घरेलु विषादीले अब सामान्य किटाणु पनि मर्न छाडेको छ । नेपालकै खेतबारीमा लगाइएका तरकारी वा धान गहुँजस्ता खाद्यपदार्थका विरुवा किन नहुन् कडा विषादीको प्रयोगबिना नियन्त्रण हुनै छाडेको छ । किसानले आफ्ना खेतबारीमा लगाएका तरकारीजन्य उत्पादनमा बोटमै विषादीयुक्त सुई लगाउनु अब आम बनेको छ । त्यसकारण भारतीय तरकारी चेकजाँच नभई भित्रियो भनेर सरकारलाई दोष दिनु जायज ठहरिन्न ।
यसको अर्थ विषादीयुक्त खानेकुरा खानु हाम्रो वाध्यता वा नियती हो भन्न खोजेको वा चेकजाँचको विपक्षमा उभिएको भने पक्कै होइन् । बजारमा विषादीयुक्त तरकारी भित्रिएको अहिले होइन । यो निकै वर्षअघिदेखि हुँदै आएको कुरा हो । यसमा सरकार अथवा राज्य सञ्चालक अवश्यै दोषी छन् । तर, अहिलेको ओली सरकार मात्र होइन् । यसबीच धेरै वटा वा धेरै दलका नेता प्रधानमन्त्री भएका छन् । संसद्का विषादीको विपक्षका कुर्लने गगन थापा पनि स्वास्थ्य मन्त्री भएका थिए । तीनले किन यसलाई रोक्न प्रयत्न गरेनन् भन्ने कुरा मात्र हो । भारतबाट आयात हुने तरकारीको चेकजाँच त हुनै पर्छ सँगै नेपालमै उत्पादन हुने तरकारी पनि विषादी चेकजाँच गरेर मात्र बजारमा प्रवेश पाउनु पर्छ । ओली सरकारले भन्सारमा नाकामै विषादीको चेकजाँच गरेर मात्र भित्रिन दिने निर्णय आंशिकरूपमा स्वागत योग्य कुरा हो । सरकारले आफूसँग भएका जनशक्ति प्रविधिको मूल्यांकन नगरी कार्यान्वयनको अवस्था नहेरी निर्णय गर्ने र त्यही बहानामा पछि हट्ने कुरा पाच्य हुँदैन । किनभने हाम्रो सरकार यतिसम्म गैरजिम्मेवार छ भनेर पत्याउन नागरिक तयार छैनन् ।
प्रतिक्रिया