काठमाडौँ । काठमाडौँ उपत्यकामा साझा बसले विद्युतीय सवारी सञ्चालन गर्ने भएको छ । विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार चारपक्षीय सम्झौता सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र साझा यातायात प्रालिका अध्यक्ष कनकमणी दिक्षितले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले देखेको सपना साकार भएको बताए । पेट्रोलियम पदार्थबाट नभई विद्युतबाट चल्ने बस चढ्ने सबैको सपनालाई यो सम्झौताले हौसला मिलेको बताए । साझा यातायात सहकारी संस्थालाई विद्युतीय बस खरिदका लागि प्रदेश–३ सरकारले ३० करोड हस्तान्तरणगरेको छ ।
वातावरण मैत्री युरो मापदण्डका २० वटा बस सेवा शुभारम्भ र विद्युतीय बस सञ्चालनको लागि सम्झौता तथा चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारले उक्त रकमको चेक साझालाई हस्तान्तरण गरेको हो । ललितपुर महानगरपालिकाले पनि साझालाई २ करोड ५० लाख रकम प्रदान गरेको छ । यसैबीच, साझा यातायातले स्मार्ट कार्डको शुभारम्भ गरेको छ ।
सो कार्ड सहचालकसँग २ सय रूपैयाँमा किन्न सकिनेछ । सो रकम बराबरको कार्ड प्रयोग गरिसकेकपछि पुनः त्यसमा रिचार्ज गर्न सकिनेछ । सो कार्ड प्रयोग गर्दा प्रयोगकार्तालाई भाडादरमा कुनै समस्या नहुने र ठगिने समस्याबाट बच्न सकिन्छ । यदि नगदमा नै कारोबार गर्दा पनि साझा यातायातका यात्रुले अनिवार्य कार्ड पाउने व्यवस्था रहेको छ । सो कार्ड बसको सहचालकले निकाल्ने गर्दछ ।
सो कार्डको पछाडि यौन हिंसा विरुद्धको चिन्ह रहेको छ । पहिलाको जस्तै महिला हिंसा यौन हिंसा विरुद्धको चिन्हलाई निरन्तरता दिइएको साझा यातायातका निर्देशक भूषण तुलाधरले जानकारी दिए । साझा यातायातले सोमबारवाट थप २० वटा बस सञ्चालनमा ल्याएको छ । राजधानीका विभिन्न सात नयाँ रूटमा ति बस सञ्चालन भएका छन् ।
यस्तै, काठमाडौ बाग्लुङ, बुटवल, भैरहवा वेलहियालगायतका रूटमा रात्रिकालीन सेवा पनि दिने भएको छ । योसँगै साझासँग ७१ वटा बस पुगेको छ । साझाले यसअघि सञ्चालन गरेका ५१ वटा बसहरू ‘युरो–३’ मापदण्डका रहेका थिए । हाल सञ्चालनमा आएका २० बस भने ‘युरो–४’ मापदण्डको रहेको छ ।
प्रतिक्रिया