रासायनिक मलको अभावले रोपाइँमा समस्या

वीरगञ्ज । मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन । जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ । बाइसहजार ५०० मेट्रिक टन युरिया मल आउनुपर्नेमा बिहीबारसम्म १६ हजार मेट्रिक टन मात्र युरिया आएको र उक्त मल अन्य जिल्लामा पठाउनका लागि राखिएकाले हाल यहाँ युरिया मल अभाव हुन गएको सो कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा रहेको मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन समितिले जिल्लामा धान तथा अन्नबालीका लागि चाहिने मल अभाव हुन नदिन आवश्यक मल आपूर्तिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए । सो निर्णय अनुसार युरिया मल ६ हजार ४०० मेट्रिक टन, डिएपी तीन हजार ७५ मेट्रिक टन तथा पोटस एक हजार ६५० मेट्रिक टन आवश्यक पर्ने भएकामा कृषि सामग्री संस्थानसँग डिएपी ४०० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेशनसँग २५० मेट्रिक टन गरी ६५० मेट्रिक टन मल आवश्यक पर्ने बताइएको छ ।

आइबाररदेखि मनसुन सक्रिय खेतमा पानी जम्न थालेकाले केही किसानले धमाधम रोपाइँ शुरु गरेपनि मलको अभाबमा सबैलाई रोपाइँ गर्न गाह्रो भएको किसान शेषमन पण्डितले बताए । लिमिटेडले चालु आर्थिक वर्षमा मा युरिया छ हजार मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास १५० मेट्रिक टन बिक्री गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म डिएपी पाँच हजार ४८९ मेट्रिक टन, युरिया ११ हजार २१३ मेट्रिक टन र पोटास १३८ मेट्रिक टन बिक्री गरिएको जनाएको छ । छिमेकी मुलुक चीन र ओमानबाट पानी जहाजमार्फत भारतको कोलकत्ता तथा हल्दीया बन्दरगाह हुँदै रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म मलआईपुग्न समय लाग्ने भएकाले ढिलो हुने देखिएको सो कार्यालयले जनाएको छ ।

संस्थानले माग गरेअनुसारको मल देशको विभिन्न ठाउँमा आपूर्ति गर्दै आएको छ । २२ हजार ५०० मेट्रिक टन युरिया आउनुपर्नेमा हाल १६ हजार मेट्रिक टन मात्र आएको सो मल बाहिर पठाउँदा यस जिल्लाका लागि अपुग भए पनि साउनको पहिलो सातासम्म आइपुग्ने बताइएको छ । संस्थानले जिल्लाका ९५ सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आए पनि सो मल संस्थाले कालो बजारीमा अन्यत्र बिक्री गर्ने गरेकाले मलको अभाव सिर्जना भएको सम्बद्ध किसानको गुनासो थियो ।

स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँडने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको जनाइएको छ । कृषि सामग्रीले समानुपातिक हिसाबले सहकारी संस्थालाई मल दिने गरेको जिकिर गर्दै आएको छ । जिल्लामा ४६ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया