सडकमा वास बस्ने लागुऔषध दुव्र्यसनीका मुखबाट त हरेक वाक्यपिच्छे यस्ता फोहरी निस्किरहेका हुन्छन् । तर, सुन्नेहरूले खासै वास्ता गर्दैनन् । यतिवेला भने जनप्रतिनिधिको मुखबाट निस्केका कारण यो शब्दको चर्को विरोध भयो । चौधरी स्थानीय सरकारका प्रमुख पनि हुन्
इटहरी उपमहानगर पालिकाका मेयर द्वारिका चौधरी यतिवेला ‘रण्डी’ शब्द फलाकेका कारण चर्चाको शिखरमा छन् । हुन त नेपालमा यस्ता शब्द फलाक्नेहरूको कमी छैन । सडकमा वास बस्ने लागुऔषध दुव्र्यसनीका मुखबाट त हरेक वाक्यपिच्छे यस्ता फोहरी निस्किरहेका हुन्छन् । तर, सुन्नेहरूले खासै वास्ता गर्दैनन् । यतिवेला भने जनप्रतिनिधिको मुखबाट निस्केका कारण यो शब्दको चर्को विरोध भयो । चौधरी स्थानीय सरकारका प्रमुख पनि हुन् ।
यतिवेला प्रदेश १ को राजधानीका लागि समेत चर्चामा ल्याइएको उम्दा सहर हो इटहरी । केही दशक अघिसम्म इटहरी सानो बजार थियो । पूर्वपश्चिम तथा उत्तर दक्षिण राजमार्गको संगम भएका कारण इटहरीमा सवारी चालक तथा परिचालकहरूलाई लक्षित गरी एक राते होटल तथा लजहरू खुल्न थालिसकेका थिए । पूर्वाञ्चलका लागि अत्यन्तै पायकपर्नेस्थल हुँदाहुँदै पनि अली सभ्य मानिसहरू त्यतिवेला ‘संगत राम्रो छैन है’ भन्दै इटहरीमा बसोवास गर्न हच्किन्थे । विराटनगर नै पहिलो रोजाई हुन्थ्यो । तर, समयक्रम सँगै इटहरीले सभ्य सहरको रूपधारण गर्दै गयो ।
जनसंख्या तथा आकारको दृष्टिले विराटनगरलाई उछिन्दै प्रदेश १ को सबै भन्दा ठूलो सहर बन्ने तरखरमा रहेको इटहरीमा कत्तिको सभ्य मानिस बसेका होलान् ? भन्ने कूतुहल अन्य क्षेत्रका जनतालाई हुनु स्वभाविकै थियो । यर्थाथमा इटहरी यतिवेला शिक्षित तथा सभ्य सहर बनिसकेको छ । तर, मेयर चौधरीको अभिव्यक्ति सुन्ने तथा इटहरी नदेख्नेहरूको दिमागमा इटहरीप्रति कस्तो धारणा बन्ला ? केही दिन अघि पत्रकारको नाक भाँच्न एक करोड रूपैयाँ विनियोजन गरेको मेयर अभिव्यक्तिबाट सुरु भएको इटहरीको चर्चा अहिले अस्लिल शब्दसम्म पुगेको छ । मेयर चौधरीको अडियो तथा भिडियो रेकर्ड सुन्ने हो भने इटहरी कस्तो छ ? भन्ने छर्लंग हुन्छ । हुन त पूर्वी नेपालको पुरानो सहर विराटनगर र नयाँ सहर इटहरीको सभ्यता दाँज्ने चेष्टा यो पंक्तिकारको होइन । तर, यही शब्द विराटनगरका मेयरले प्रयोग गरेका हुन्थे भने यतिवेलासम्म विराटनगरमा मेयर पद रिक्त भइसकेको हुन्थ्यो ।
शब्द भनेको बन्दुकको गोलीभन्दा पनि भयानक अस्त्र हो जो मुखबाट निस्केपछि फिर्ता हुँदैन । बन्दुकको घाउ निको हुन्छ तर शब्दको घाउ कहिल्यै निको हुँदैन । यसले कालान्तरसम्म प्रभाव छाडिरहन्छ । त्यसैले शब्दलाई ब्रह्मास्त्र पनि भन्ने गरिन्छ । ब्रह्मास्त्रको उचित प्रयोग भएन भने प्रयोगकर्तातर्फ नै फर्कन्छ भनिन्छ । केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षविरुद्ध ‘निम्छरो’ भन्ने शब्द प्रयोग गरे ।
यो शब्द मेयर चौधरीले प्रयोग गरेको ‘रण्डी’ शब्द जस्तो आपत्ति जनक त होइन तर धेरैजसो गाली गलौजका लागि प्रयोग हुने शब्द भने हो । सायद सभामुखले यो शब्द संसद्को रेकर्डबाट हटाइसके होलान् । तर, प्रधानमन्त्री ओलीले प्रयोग गरेको शब्दको अध्याय समाप्त भए पनि इटहरीका मेयर चौधरीले प्रयोग गरेको शब्दको अध्याय भने समाप्त हुनुहुन्न । उनले माफी मागिसकेका कारण यसलाई उछाल्नु पनि उचित हुन्न । तर, यहाँनेर एउटा हेक्का राख्नुपर्ने कुरा के हो भने–‘मेयर चौधरीको मातृभाषा थारू हो, थारू भाषामा पनि यो शब्द धेरै नै फोहरी मानिन्छ ।
बन्दुकको घाउ निको हुन्छ तर शब्दको घाउ कहिल्यै निको हुँदैन । यसले कालान्तरसम्म प्रभाव छाडिरहन्छ । त्यसैले शब्दलाई ब्रह्मास्त्र पनि भन्ने गरिन्छ । ब्रह्मास्त्रको उचित प्रयोग भएन भने प्रयोगकर्तातर्फ नै फर्कन्छ भनिन्छ
अश्लील र आपत्तिजनक शब्दहरू शब्दकोषमा किन राखिएको होला ? हटाइदिए के हुन्छ ? भन्ने बहस पनि वेलावेलामा उठ्नै गरेकै छन् । मेयर चौधरीको अभिव्यक्तिका सन्दर्भमा पनि सामाजिक सञ्जालमा केही पुरुष मित्रहरूले उठाउनुभएको छ । साथै उही शब्द पुरुषले प्रयोग गर्दा गाली महिलाले प्रयोग गर्दा ताली किन हुन्छ ? भन्ने कुरा पनि केही मित्रहरूले सामाजिक सञ्जालमा उठाउनुभएको छ ।
तर, कुन शब्दहरू कतिवेला प्रयोग गर्ने ? भन्ने नियम भाषिक समुदाय आफैँले बनाएको हुन्छ । कुनै सन्दर्भमा अत्यन्त अश्लील र आपत्तिजनक मानिने शब्दहरू कुनै सन्दर्भमा स्वभाविक हुन्छन् । यस्ता शब्दले मनोरञ्जन पनि प्रदान गर्छन् । व्यक्तिगत कुराकानीमा प्रयोग हुने शब्द र सामूहिक कुराकनीमा प्रयोग हुने शब्दहरू पनि अलग अलग हुन्छन् । त्यसैले, शब्दको विरोध गर्नु पनि अनुचित हो ।
शब्द परिवर्तनले मात्रै भाव परिवर्तन हुने होइन । भाव परिवर्तनका लागि सुसंस्कार चाहिन्छ । ‘रण्डी’ शब्दकै उदाहरण दिउँ । यो शब्द अली अश्लील भयो कि भन्दै ‘वेश्या’ शब्द चलन चल्तीमा ल्याइयो । अहिले वेश्या शब्द पनि अश्लील भयो भन्दै ‘यौनकर्मी’ भन्ने शब्द चलन चल्तीमा ल्याइएको छ । अंग्रेजी भाषाको ‘सेक्सवर्कर’ शब्दलाई उल्था गरी ‘यौनकर्मी’ शब्द चलन चल्तीमा ल्याइएको हो ।
भोलि ‘यौनकर्मी’ शब्द पनि अश्लील लाग्न सक्छ । त्यस पछि अर्कै शब्द खोजी गरिएला । यसैगरी, वयस्क उमेर माथिकी नारी जातिलाई ‘आइमाई’ भन्ने प्रचलन थियो । संस्कृत भाषाको आर्यमाताबाट आइमाई शब्द बनेको हो । यसको अर्थ हुन्छ–‘सुसंस्कारयुक्त आमा ।’ आइमाई शब्द धेरै नै सम्मानजनक हो भन्ने कुरा यसको अर्थले नै पुष्टि हुन्छ । तर, प्रयोग गलत भयो । हुँदाहुँदा नारी जातिलाई होच्याउनका लागि आइमाई भन्न थालियो । नेपाली उखान टुक्कासमेत यसरी नै बन्दै गए । अहिले आइमाई शब्द विस्थापित गरी महिला भन्न थालिएको छ ।
यसैगरी, विधवा शब्द र एकल महिला शब्दले दिने अर्थ एउटै हो । तर, विधवा शब्दको गलत प्रयोग भएकैले एकल महीला भन्न थालियो । भोलि एकल महिला शब्दको पनि गलत प्रयोग भयो भने विकल्प खोज्नुपर्ने हुन्छ । नारी जातिलाई हेप्ने हाम्रो समाजको कुसंस्कार परिवर्तन नहुने हो भने यस्ता शब्दका विकल्पहरू हरेक १०–० वर्षमा खोज्नुपर्ने अवस्था आउन सक्छ । अर्को उदाहरण हेरौँ, मण्डल शब्द नेपाली भाषाको धेरै नै पवित्र शब्द हो ।
हरेक शुभकार्यको आरम्भ मण्डल बनाएर गरिन्छ । कुनै पवित्र उद्देश्य बोकेको संगठनलाई पनि नेपाली भाषामा मण्डल नै भनिन्छ । तर, पञ्चायतकालमा सत्ताले स्वतन्त्र विद्यार्थी मण्डल नाम गरेको एउटा संगठन निर्माण ग¥यो । प्रहरी लगाएर सिधै घरघरमा गएर कुटपिट गर्न नमिल्ने विपक्षीहरूलाई तह लगाउन स्वतन्त्र विद्यार्थी मण्डल प्रयोग गरियो । स्वतन्त्र विद्यार्थी मण्डलमा रहनेहरूले सत्ताको आडमा लुटपाट तथा भ्रष्टाचार गरे ।
जसका कारण उनीहरूलाई मण्डले भनियो । अहिले मण्डले शब्द भनेको गाली गलौजको शब्द बन्यो । नेपाली भाषाको शब्दकोष मै मण्डले शब्दको अर्थ दिइएको छ–‘छुल्याहा, फटाहा तथा खराब काम गर्ने ।’ पञ्चायतकालमा सरकारले शिक्षक संघ र शिक्षक संगठनको विरुद्धमा प्रज्ञिक संघ खडा ग¥यो । शिक्षकहरू नै सामेल भएकोले प्राज्ञिक शब्द चयन उनुपयुक्त थिएन । प्राज्ञको अर्थ हुन्छ–‘विद्धान ।’ शिक्षक भनेका समाजका लागि प्राज्ञ नै हुन् । तर प्राज्ञिक संगठनले गलत काम गरेकोले प्राज्ञ शब्द त्यतिवेला गालीका रूपमा प्रयोग हुन थाल्यो । कसैलाई होच्याउनु प¥यो भने–‘ए प्राज्ञे ?’ भन्न थालियो ।
कुन भाषा कति समृद्ध छ भनेर गरिने पहिलो मापन भनेको शब्दहरू हुन् । जुन भाषामा धेरै शब्दहरू छन्, धेरै उखान टुक्काहरू छन्, धेरै लोकसाहित्यहरू छन् ती भाषा नै समृद्ध मानिन्छन् । भाषामा उखान टुक्काको महत्व पनि त्यतिकै हुन्छ । अनुकूल उखान टुक्काको प्रयोग गर्दा आफुले व्यक्त गर्न खोजेको कुरामा अरू गहनता थप्न सकिने मात्रै होइन एक पेजमा लेख्नुपर्ने सन्देशलाई उखान टुक्काको एउटै हरफले प्रष्ट बनाइ दिन्छ ।
उदाहरणका लागि ‘एक हातले ताली बज्दैन ।’ यसले दिने सन्देशलाई अन्य माध्यमबाट बुझाउन खोज्ने हो भने र पानाभारी धेरै शब्दहरू खर्चनुपर्छ । पाँच–सात मिनेट बोल्नु पर्छ । तर, यो छोटो वाक्यको उखानले एउटा सिंगो पुस्तकले दिन नसक्ने सन्देश दिएको हुन्छ । उखान टुक्काको मामिलामा नेपाली भाषा धनी छ । तर, केही उखान टुक्काहरू यस्ता छन् जो अहिलेको सन्दर्भमा धेरै नै आपत्तिजनक छन् । कुनै उखान लैंगिक हिंसालाई प्रेरित गर्ने खालका छन् । उदाहरणका लागि ‘मर्दका दश वटी’, ‘नक्कली आइमाईका २० वटा पोइ मर्ने वेलामा कोही न कोही ।’
यसैगरी, जातीय हिंसालाई प्रेरित गर्ने उखानहरू पनि कयौँ छन् । उदाहरणका लागि ‘अर्तिले घर्ती मान्दैन’, ‘मरेपछि डुमै राजा’, ‘दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोचा चोर’ । यस्ता धेरै उखानहरू छन् जसले लैंगिक तथा जातीय हिंसा गरिरहेका छन् । यस्ता उखानहरू प्रयोग गर्न नहुने कुरामा समाजद्वारा, राज्यद्वारा पहल नभएको होइन तर जनजिब्रोमा झुण्डिरहेकै छन् । जनजिब्रोमा झुण्डिरहेसम्म खराब उखान तथा शब्दहरू सार्वजनिक रूपमा प्रयोग हुन छाड्दा रहेनछन् भन्ने कुराको पछिल्लो उदाहरण हो, ‘मुलुकका प्रधानमन्त्री ओली तथा इटहरीका मेयर चौधरीका पछिल्लो प्रस्तुति ।’
प्रतिक्रिया