डोटी । बाख्रापालक किसानहरूको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा ‘बोयर बाख्रा स्रोत केन्द्र स्थापना’ गरिएको छ । ग्लोबल एग्रिकल्चर एन्ड फुड सेक्युरीटी कार्यक्रमको सहयोगमा डिभिजन पशु सेवा कार्यालय सिलगढी, कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत सो स्रोत केन्द्र स्थापना गरिएको हो ।
विश्व कृषि तथा खाद्य संगठन (एफएओ) मार्फत अष्ट्रेलियाबाट बोयर जातका १३ वटा प्रजनन् बोका आयात गरेर दुई वर्षअघि नै किसानहरूलाई वितरण गरिएको केन्द्रका प्रमुख नारायणदत्त पन्तले बताए । उनले भने, ‘अहिले बोयर बाख्रा स्रोत केन्द्रसमेत स्थापना गर्न सफल भयाँै र यसबाट मासुजन्य उत्पादनमा डोटी सक्षम हुने छ ।’ केन्द्रका अनुसार यहाँबाट २३२ वटा क्रस बोयर प्रजनन जातका बोकाहरू अछाम, दार्चुला, बैतडीलगायत पहाडी जिल्लाहरूमा किसानहरूको विभिन्न समूहमा बिक्री वितरण गरिएको छ । यसरी बिक्री गरिएका बोयर प्रजनन् बोकाहरूबाट स्थानीय किसानहरूले वार्षिक ६८ लाख ४६ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको केन्द्रले जनाएको छ ।
स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लाहरूमा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको पशु प्राविधिक अधिकृत डाक्टर अर्जुन पण्डितले बताए । ‘बोयर जातको बोका चाडै फस्टाउने भएको र मासुजन्य उत्पादनका लागि समेत उपयुक्त हुने भएकाले यसको माग दिप्रतिदिन बढिरहेको छ’ उनले भने, ‘अन्य जातको भन्दा यो जातको बोका पाल्नु किसानलाई बढी फाइदाजनक छ ।’ स्थानीय किसानका अनुसार बोयर जातका बोकाको प्रतिकिलोग्राम बजार मूल्य जिउँदै ८ सय रुपैयाँ रहेको छ ।
पछिल्लो समय यहाँका किसानहरू प्रजनन बोयर बोका पालनमा आकर्षित हुन थालेको रुपसकाडाका स्थानीय भरत कुँवरले बताए । ‘छोटो समयमा चाँडै फष्टाउने र मासुजन्य उत्पादनमा यो जातको बोकाको माग अत्यधिक रहेको छ ।’ उनले भने, ‘स्थानीय जातको बोकाभन्दा यो जातको बोकोको बजार मूल्य र माग बढेपछि यस क्षेत्रका किसानहरू प्रजनन बोयर बोका पालनमा आकर्षित भएका हुन ।’
जिल्लाका करीब तीन दर्जनभन्दा बढी स्थानमा अहिले बोयर जातका बोका तथा बाख्रापालन व्यवसाय शुरु भएको छ । जताततै बोयर जातका बोका तथा बाख्रापानल सुरु भएपछि जिल्लामा रहेको रैथाने जातका बाख्राहरू क्रमिक रूपमा लोप हँुदै जान थालेको शिखर नगरपालिका–१ का किसान श्यामबहादुर नेगीको भनाइ छ । राम्रो र हष्टपुष्ट बोयर बोका करिब एक क्वीन्टलसम्म हुने गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया