स्वास्थ्य परीक्षणका लागि ५१ संस्थालाई अनुमति

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्यपरीक्षणका लागि ५१ स्वास्थ्यसंस्थालाई अनुमति दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आह्वानमा १ सय २६ स्वास्थ्यसंस्थाले स्वास्थ्यपरीक्षका लागि सूचीकृत हुन निवेदन दिएकोमा मन्त्रालयले ५१ वटा स्वास्थ्यसंस्थालाई सूचीकृत गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्यपरीक्षण प्रयोजनका लागि आफ्नो स्वास्थ्य संस्थालाई नियमपूर्वक सूचीकृत गराउन १३ चैत ०७५ मा सार्वजनिक सूचना आह्वान गरेको थियो । यसक्रममा निवेदन दिएका स्वास्थ्यसंस्थामध्ये मन्त्रालयले ५१ वटा मापदण्ड पुगेका स्वास्थ्यसंस्थालाई मात्र योग्य ठहर गरी २४ जेठमा सूचीकरण गर्ने निर्णय गरेको हो ।

निवेदन दिएका स्वास्थ्यसंस्थाको मापदण्ड परीक्षणका लागि मन्त्रालयले विशेषज्ञसहितको अनुगमन टोली खटाएको थियो । अनुगमनका क्रममा तोकिएको जनशक्ति, उपकरण तथा सेवा उपलब्ध अस्पताललाई मात्र योग्य ठहर गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा निवेदन दिएका ७५ स्वास्थ्यसंस्थामा मापदण्ड पूरा भएको नपाइएको मन्त्रालयको भनाइ छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्यपरीक्षणमा व्यापक अनियमितता हुने, स्वास्थ्यपरीक्षण नै नगरी छाप लगाइदिने, चर्को शुल्क लिने तथा गैरचिकित्सकले चिकित्सकको छाप प्रयोग गरेर स्वास्थ्य परीक्षणको कागज बनाइदिनेलगायत अनियमितता देखिएपछि सरकारले स्वास्थ्य संस्था सूचीकृत गर्ने नीति लिएको थियो ।

मन्त्रालयले वैदेशिक रोजगार नियमावली ०६४ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्यपरीक्षण गर्ने स्वास्थ्यसंस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि ०७२ को व्यवस्था अन्तर्गत स्वास्थ्य संस्थाको सूचीकरण गरेको हो ।

कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पतालसमेत सूचीकरणमा परेका छन् । पछिल्लो समय नेपालकै ठूला मानिएका अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न चासो देखाएकाले ‘रिपोर्ट’ वास्तविक आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कन नपर्ने मन्त्रालयको विश्वास छ । मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत रु तीन लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार बुझाउनुपर्ने छ ।

नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, बानेश्वरस्थित एभरेस्ट अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, धापासीस्थित ग्रिनसिटी अस्पताल, पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रालि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पताल पनि सूचीकृत भएका छन् ।

स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा देखिएका बेथिति अन्त्य हुने विश्वास गरिएको छ । यसअघि साना लगानीमा खुलेका स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र दक्षजनशक्तिको व्यवस्था नगरी स्वास्थ्य परीक्षणको ‘रिपोर्ट’ दिने गरेको आरोप लाग्ने गरेको थियो ।

प्रतिक्रिया