सगरमाथा चढ्दा लाग्ने खर्च र लासको राजनीति

यो वर्षको सिजनमा गएको वर्षहरूमा भन्दा धेरै पर्वतारोहीहरूले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, अन्नपूर्ण लगायतका हिमाल आरोहण गर्न सफल भएको समाचार आएको छ । तर, साथसाथै यो वर्षको सिजनमा माथि उल्लिखित हिमालहरू आरोहण गर्न गएका पर्वतारोहीमध्ये २१ जनाले आप्mनो अमूल्य ज्यान पनि सँधैका लागि गुमाएका छन् । त्यसमा केही हराइरहेका पर्वतारोहीहरू समेत छन् ।

त्यसरी यो सिजनमा आप्mनो अमूल्य ज्यान सँधैका लागि गुमाएका २१ जनामध्ये सगरमाथामा ११ जना, कञ्चनजंघामा २ जना, मकालुमा ५ जना, चोेयुमा १ जना र अन्नपूर्णमा १ जना रहेका छन् । यसरी नेपालका विभिन्न हिम पर्वतहरू आरोहण गर्नेक्रममा अनपेक्षित रूपमा धेरै पर्वतारोहीहरूले ज्यान गुमाएकोमा विभिन्न देशीविदेशी समाचारपत्र, टिभी, डिजिटल अनलाइन लगायत समाचारमाध्यममा समाचारहरूले दुःखद भनी समाचार, टिप्पणी, सम्पादकीय र लेख रचनाहरू प्रकाशित गरे ।

हुन त यो सिजनमा नेपालका अन्य त्यस्तै ससाना हिमालमा पनि पर्वतारोहीहरूले ज्यान गुमाएका हुन सक्छन्, वा उनीहरू दुर्घटनामा परेका हुन सक्छन्, जो समाचारमा आएको छैन । जे होस्, विभिन्न समाचार स्रोतहरूले दिएको समाचारअनुसार र नेपाल सकार पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन विभागले दिएको जानकारीअनुसार यो वर्षको वसन्त ऋतुमा विभिन्न पर्वतहरूको आरोहणमा जाने पर्वतारोहीहरूले ज्यान गुमाउने क्रममा सबैभन्दा धेरै भारतीय पर्वतारोहीहरू रहेको देखिन्छ ।

संसारको पर्वतारोहणको इतिहास हेर्दा संसारमा लगभग सन् १८ तिर नै आधुनिक पर्वतारोहरूको सुरु भएको मानिए तापनि १९ औँ शताब्दीमा पर्वतारोहण र पर्वतारोहीहरूले नाम र दाम कमाउने र विश्वमा भएका ती पर्वतहरू र पर्वतारोहीहरूले पनि संसारभरि चर्चा परिर्चा पाउने क्रम सुरु भयो । खासगरी यो क्रम सूचना र सञ्चारको युगसँगै सुरु भयो भन्न सकिन्छ । यसै क्रममा आजभन्दा झण्डै ६६÷६७ वर्षअघि सन् १९५३, मे २९ का दिन संसारकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा दुईजना मानवले पाइला टेक्न सफल भएका थिए । ती दुईजना मानव थिए –‘नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्डल पर्सिभल हिलारी । ’

सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाइला राख्ने प्रयासका क्रममा अन्य कयौँ पश्चिमा देशका पर्वतारोहीहरूले पनि लामो समयदेखि प्रयास नगेका होइनन्, उनीहरूले पनि प्रयास गरेका थिए । तर, उनीहरूको भाग्यमा प्रथम सगरमाथा विजेता हुन लेखेको थिएन । त्यसैले उनीहरूको प्रयास खेर गयो । खासगरी बेलायती पर्वतारोहीहरूले सन् १९२१ मै सगरमाथामाथि मानव विजय प्राप्त गरेरै छाड्ने दृढताका साथ कर्णेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा प्रथम सगरमाथा आरोही टोली सगरमाथातर्फ गएको थियो ।

तर, उनीहरू त्यो वेला सगरमाथामाथि मानव विजय पाउन सफल भएनन् । उल्टै उनीहरूको टोलीमा सदस्य रहेका डाक्टर एएम कल्लसले सगरमाथा चढ्ने क्रममा ज्यान गुमाउने प्रथम मानव अर्थात् आरोहीको नाम दर्ज गर्न वाध्य भए । त्यसपछि बीचको समयमा स्वीट्जरल्यान्ड, फ्रान्स, जर्मनी, इटली लगायत पश्चिमा देशका पर्वतारोहीहरूले संसारकै अग्लो हिमशिखरमा मानव पाइला राख्ने प्रयास जारी राखेका थिए । यो क्रममा उनीहरूले तिब्बततर्पmको बाटो भएर अनेकौँ पटक संसारकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा चढ्ने प्रयास गरेका थिए ।

तर, सफलता भने अन्ततः सन् १९५३, मे २९ नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारीले प्राप्त गरे । यसरी उनीहरू संसारकै अग्लो हिम चुचुरोमाथि मानव पाइला राख्न सफल भए । तेन्जिङ नोर्गे शेर्पा र हिलारीले पर्वतारोहणको इतिहासमा अरू कसैले कहिल्यै नतोड्ने इतिहास र कीर्तिमान कायम गरे । तर, दुःखको कुरो पछि गएर तेन्जिङले भारतीय नागरिक बन्नुपर्ने विवशता आइलाग्यो भने, उता न्युजिल्यान्ड सरकारले हिलारीको तस्बिर अंकित नोट समेत प्रकाशित ग¥यो ।

हाल नेपालीहरूमाझमा ‘सगरमाथा’ र, विदेशीहरूमाझ ‘माउन्ट एभरेस्ट’ नामले नै बढी चिनिन थालेको छ । तर, यदि अझै पनि ‘चोमोलुङ्मा’ नामलाई मान्यता दिएर प्रचलनमा नल्याउने हो भने विस्तारै विदेशीहरूले लेखेको किताबहरूमा मात्रै ‘चोमोलुङमा’-झोमोलुङमा’ नाम सीमित रहने देखिन्छ । यसरी हेर्दा बिस्तारै सगरमाथा र एभरेस्ट नामले नै साम्राज्य चलाउने देखिन्छ ।

तापनि पहिलेपहिले (अझै पनि कतिपय विदेशी लेखकले ‘चोमोलुङमा’÷झोमोलुङमा’ नै लेख्छन् ।) विदेशीले सगरमाथाको बारेमा लेखेका किताबहरूमा एभरेस्टपछि सगरमाथाको सट्टा ‘चोमोलुङमा’÷झोमोलुङमा’ नाम नै लेखेको पाइन्छ । त्यसैले सम्बन्धित निकाय, खासगरी खुम्बु पासाङल्हामु गाउँपालिका, महाकुलुङ गाउँपालिका लगायत सोलुखुम्बुका अन्य गाउँपालिकाहरूले पनि यस विषय (सगरमाथाको स्थानीय नाम चोमोलुङमा राख्ने सम्बन्धमा) मा सकारात्मक ढंगले पहल गर्नुपर्ने देखिन्छ ।

जसरी १६ वर्ष भन्दा कम उमेरका आरोहीहरूलाई नेपालतर्फबाट सगरमाथा चढ्न प्रतिबन्ध लगाइएको छ । त्यसरी नै कीर्तिमानका नाममा हुने अनेक खालका विकृति उत्पन्न हुन नदिन पनि उत्तिकै सजगता अपनाउन पर्छ । जस्तो ८ घण्टामा सगरमाथा चढेको भनिएको एक नेपाली पर्वतारोही शेर्पाको कीर्तिमान खारेज भएको भनी केही समयअघि समाचार आएको थियो । हुन त सगरमाथामाथि कीर्तिमान कायम गर्ने क्रममा सन् २०१३ अप्रिल–मे सिजनमा १४ वर्षे एक बालकले पनि सगरमाथा चढ्न गएको भन्ने समाचार विभिन्न पत्रपत्रिकामा पढ्न पाइएको थियो ।

थाहा छैन, उनी नेपालतर्फबाटै गएका थिए कि, तिब्बततर्फबाट ? यस्तै सबैभन्दा बुढो उमेरमा सगरमाथा चढेर कीर्तिमान कायम राख्ने अभिलाषा लिएर सन् २०१२ मा नेपालका परराष्ट्रमन्त्री र विभिन्न देशका राजदूतसमेत भैसकेका शैलेन्द्रकुमार उपाध्यायले मृत्युवरण नै गर्नु परेको थियो । स्मरण रहोस्, सन् २०१२ (२६ वैशाख, २०६८) मा शैलेन्द्रकुमार उपाध्यायले सगरमाथामै मृत्युवरण गरेका थिए । यसरी सगरमाथाको शिरमा अनेकखाले कीर्तिमान कायम गर्ने नाममा जे पायो, त्यही गर्न दिँदै जाने हो भने सगरमाथाको गौरव बढ्ने होइन, घट्ने पक्का छ । हुन त सगरमाथामाथि कीर्तिमान कायम गर्ने सम्बन्धमा निश्चित मापदण्ड बनाउन विभिन्न सरोकारवाला संघसंस्थाहरूले नेपाल सरकारलाई अनेकपटक सरसल्लाह र सुझाव पेश गरिसकेको हो ।

जे भए तापनि सगरमाथा अर्थात् ‘चोमोलुङमा’÷झोमोलुङमा’ नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी र पर्यटन मजदुरहरू खासगरी क्लाईम्बिङ शेर्पा, आइसफल डाक्टर, सरकारी सम्पर्क अधिकृत, भान्से, भरिया, (पहिलेपहिले हुलाकीको पनि काम हुन्थ्यो ।) स्थानीय याक÷जोप्क्यो धनीहरू, स्थानीय किसान लगायत अन्य सहयोगीहरूले पाउने पारिश्रमिक र आयस्रोतको गतिलो आधार भएकोमा कसैको पनि दुईमत हुन सक्दैन । किनभने, सन् २०११ मा मात्रै सगरमाथा चढ्न आएका पर्वतारोहीबाट मात्रै नेपाल सरकार, पर्यटन मन्त्रालयले सगरमाथा आरोहण गरेवापत आरोहीले तिर्नुपर्ने सलामी अर्थात् रोयल्टी मात्रै १६ करोड ४४ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

माथि नै उल्लिखित अन्य व्यावसायी र मान्छेले कमाउने ज्याला, पारिश्रमिक र व्यापार गरेवापत आर्य आर्जन गरेको रकमको त अलग्गै हिसाब छँदैछ । त्यसो त सगरमाथाका शिरमा पुग्न चाहने पर्वतारोहीहरूको संख्या बढ्दो क्रममा छ । यो वर्ष (सन् २०१९) को वसन्त ऋतुमा मात्रै सगरमथा आरोहणका लागि विभिन्न देशका ४४ आरोहण दलका ३ सय ८१ जना विदेशी आरोहीहरूले अनुमति लिएका थिए ।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा, कञ्चनजंघा, मकालु, चोयु लगायत हिमाल चढ्न गएका विभिन्न देशका (नेपाल समेत) २१ जनाले ज्यान गुमाएकोमा ती मध्ये ८ जना त भारतीय पर्वतारोही मात्रै रहेका छन् । हुन पनि यसरी मौसमी कारणले अकस्मात भएको बज्रपातलाई विश्वका नामी सञ्चारमाध्यमहरूले विभिन्न सुझावसहित आलोचना गर्दै नेपालले आगामी दिनमा अपनाउनु पर्ने विधि विधानहरूको पनि चर्चा गरिएको पाइन्छ । तर, भारतीय मिडियाको चाला भने अतिशय नै देखिन्छ । मानाैँ कि यो दुर्घटना प्रकृतिले नभएर मान्छेले गराएको हो, मान्छेले पनि भारतीय विरोधी भएका कथित् राष्ट्रवादी भनिने नेपालीहरूले गराएको हो ।

हुन त यो लेखको शीर्षक ‘सगरमाथा चढ्दा लाग्ने खर्च र लासको राजनीति’ रहेको छ । खासमा पछिल्ला केही वर्षदेखि सगरमाथा आरोहणमा भएको केही दुर्घटना सस्तो बेसाहाले लागेको पखाला पो हो कि ? भन्नेमा पनि बहस र छलफल हुन थालेको छ ।

यो पंक्तिकारले गुगल सर्च गर्दा ‘कस्ट फ्रिक’ साइटले पर्वतारोहण गराउने संसारका विभिन्न पर्वतारोहण कम्पनीहरूले चोमोलुङमा चढ्दा लिने दर–रेटको सूची (स्याम्पल) दिएको छ । जस्तै अल्पाइन एसेन्ट (अमेरिका) ले एभरेस्ट साउथ–कोलको बाटो एकजना बराबर ६५ हजार अमेरिकी डलर, एडभेन्चर कन्सल्ट्यान्ट (न्युजिल्यान्ड) ले एक जना बराबर ६५ हजार, जेग्गड ग्लोब (बेलायत) ले ३८ हजार २ सय पाउन्ड, हिमालयन ग्लेसियर (नेपाल) ४० हजार, इन्टरनेसनल माउन्टेन गाइडस् (नेपाल) क्लासिक एभरेस्ट एक जना बराबार ४४ हजार र हाइब्रिड एभरेस्ट क्लाईम्ब एक जना बराबर ५९ हजार अमेरिकी डलर लिन्छ भनी सूची दिएको छ ।

त्यसैले आज तक मार्काका भारतीय मिडियाहरूले प्रचार गरेको भन्दा २४ औँ पटक चोमोलुङमा चढेका कामीरिता शेर्पा र नेपाल सकार पर्यटन मन्त्रालयका अधिकारीहरूले भनेकै कुरो ठीक हो कि ? अर्थात् हाल सस्तोमा चोमोलुङमा चढ्न चाहने पर्वतारोहीहरू र सामान्यतयाः मूल्य–मान्यतालाई नै तिलाञ्जली दिएर सस्तोमा चोमोलुङमा चढाउने कम्पनीहरू नै दोषी हुन् भन्न सिकन्छ, किनभने पछिल्ला केही वर्षदेखि २०-२५ हजारमै चोमोलुङमा चढाउने गरिन्छ भन्ने भनाइ बाहिर आएको छ ।

प्रतिक्रिया