दमौली । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–१ पान्धारे बाराही मन्दिरमा पोखरी निर्माण गरिएको छ । पौराणिक र धार्मिक महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु चार लाख र डिभिजन वन कार्यालयको रु दुई लाख गरी रु छ लाखको लागतमा पोखरी निर्माण गरिएको हो । श्रेष्ठका अनुसार पोखरी निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेका थिए । एक सय ७५ फुट गोलाइ र ५.५ फुट उचाइ रहेको उक्त पोखरीमा बाराही मन्दिरको देवताका रुपमा रहेको मत्स्यकन्याको मूर्ति राखिनेछ । पोखरी निर्माण अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्नपछि यस ठाउँको महत्व अझै बढ्ने स्थानीयवासी सन्तकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि मन्दिर क्षेत्रमा तटबन्धसमेत निर्माण गरिएको छ । साँगे नदीले मन्दिर क्षेत्र कटान गर्न थालेपछि भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा तटबन्ध निर्माण सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सदरमुकामबाट नजीकै रहेर पनि मन्दिर ओझेलमा परेपछि स्थानीयवासी यसको प्रचारप्रसारका लागिसमेत जुटेका छन् । उनले भने, ‘पाँचवटा धारा अविरल रुपमा बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्छ ।’
यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउता विजयी भएको र देउताले जनताको संरक्षण गरेको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
प्रतिक्रिया