गणतन्त्रबारे प्रधानमन्त्रीको बुर्जुवा परिभाषा

राजतन्त्रविरूद्धको ऐतिहासिक लडाइँमा जनताको ठूलो विजय थियो । तर, ठूला नेताहरूले यस ११ वर्षमा जनताको हातवाट गणतन्त्र खोसेर दलाल तथा नोकररूाही पुँजीपतिको गणतन्त्र बनाए । एक राजाको तन्त्र समाप्त भयो । तर, धेरै नव राजाहरूको तन्त्र सुरू भएको छ 

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले टुँडिखेलवाट गणतन्त्रको परिभाषाबारे व्याख्यान दिनुभएको छ । तर उहाँले गणतन्त्रको वारेमा मार्क्सवादी लेनिनवादी परिभाषा दिनु भन्दा पनि गैर मार्क्सवादी परिभाषाको वकालत गरेर भाषण गर्नु भएको छ ।

गणतन्त्रवारे प्रधानमन्त्रीले भन्नुभएको छः
गणतन्त्र – गणहरू, सर्वसाधारणको शासन व्यवस्था ।
गणतन्त्र – जनताका प्रतिनिधिहरूले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली ।
गणतन्त्र – जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली ।
गणतन्त्र – जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली ।

यदि प्रधानमन्त्री खड्ग ओलीको परिभाषा मान्ने हो भने अमेरिकादेखि युरोप भारत पाकिस्तान आदिका सबै राजा नभएका देशहरूमा उहाँले भन्नु भएझैं ‘सर्वसाधारणको शासन व्यवस्था’रहेको मान्नुपर्ने हुन्छ । यदि, ती देशहरूमा सर्वसाधारणको शासन ब्यवस्था रहेको भए राजा नभएका विश्वका सबै देशहरूमा जनताको बहुदलीय जनवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति आदि सबै अनावश्यक ठहर्ने हुन्छ । तर के यो सत्य हो ?

के विश्वका राजा नभएका र चुनाववाट सरकार चुन्ने व्यवस्था भएका सबै देशहरूमा वास्तविक जनपक्षीय गणतन्त्र रहेको छ ? के ती देशहरूमा खड्ग ओलीले भन्नुभएझैँ ‘सर्वसाधारणको शासन व्यवस्था’रहेको छ ? कदापि छैन । के ती देशहरूमा ‘जनताका प्रतिनिधिहरूले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली’ रहेको छ ? कदापि छैन । के ती सबै देशहरूमा खड्ग ओलीले भन्नुभएझै ‘जनताले रूचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली’रहेको छ ? कदापि छैन ।

यदि प्रधानमन्त्री खड्ग ओलीको परिभाषा मान्ने हो भने अमेरिकादेखि युरोप भारत पाकिस्तान आदिका सबै राजा नभएका देशहरूमा उहाँले भन्नु भएझैं ‘सर्वसाधारणको शासन व्यवस्था’रहेको मान्नुपर्ने हुन्छ । यदि, ती देशहरूमा सर्वसाधारणको शासन ब्यवस्था रहेको भए राजा नभएका विश्वका सबै देशहरूमा जनताको बहुदलीय जनवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति आदि सबै अनावश्यक ठहर्ने हुन्छ । तर के यो सत्य हो ? के विश्वका राजा नभएका र चुनाववाट सरकार चुन्ने व्यवस्था भएका सबै देशहरूमा वास्तविक जनपक्षीय गणतन्त्र रहेको छ

मार्क्सवाद लेनिनवाद माओवादले हामीलाई सिकाएको एक प्रमुख विषय भनेको शासन व्यवस्थाहरू वर्गीय स्वरूपका हुन्छन् र वर्ग निरपेक्ष हुँदैनन् भन्ने हो । यसको अर्थ हो, गणतन्त्र मुख्यत दुई प्रकारका हुन्छन्—मुठ्ठिभर शोषक वर्गको गणतन्त्र र बहुसंख्यक शोषित वर्गको गणतन्त्र । जस्तै, उहाँले आफ्नो मन्तव्यमा उल्लेख गर्नु भएका प्राचीन नेपाल र प्राचीन विश्वका गणतन्त्रहरू दास मालिकहरूको अधिनायकत्व थियो ।

ती गणतन्त्रहरूमा सरकार दास मालिकहरूले चुन्थे, तर त्यहाँ दासहरूलाई मत दिने अधिकार थिएन । दासहरू जनता नै थिए, तर उनीहरूलाई किनबेच गरिन्थ्यो, पशुपंक्षीलाईजस्तै । किसानहरूलाई अर्धदासको रूपमा दमन गरिन्थ्यो ती गणतन्त्रमा । महिलाहरूलाई सतीप्रथाको नाममा जिउँदै जलाइन्थ्यो— नेपाल र भारतका प्राचीन गणतन्त्र सरकारले । तसर्थ गणतन्त्र भन्नेबित्तिकै सबै जनताको हुन्छ भन्ने भ्रम राजनीतिक बेइमानी मात्रै हो ।

युरोपका गणतन्त्रहरूमा समेत सरुमा महिलाहरूलाई मतदानको अधिकार थिएन भन्ने ओली कमरेडले किन बिर्सनुभयो ?

के भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अमेरिका, युरोप आदिका अहिलेका गणतन्त्र ओली कामरेडले भन्नुभएजस्तै सर्वसाधारणको शासन व्यवस्था, जनताले रूचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली आदि हो ? यदि त्यसो हो भने यी देशहरूमा कम्युनिस्ट पार्टी किन चाहियो ? त्यहाँ जसले जितेको छ, त्यो नै बहुसंख्यक जनताले चाहेको शासक हो ? कदापि होइन । भारतको अहिलेको चुनावलाई हेर्ने हो भने पनि भारतका ९० करोड मतदाता मध्ये ३० करोडले मतदान नै गरेनन्, गर्न पाएनन् । केवल ३७ प्रतिशत भोट मात्रै भाजपाले पाएको छ । अर्थात नयाँ भाजपा सरकार अल्पमतको सरकार हो । भाजपा गठबन्धनले पनि केवल ४५ प्रतिशत मात्रै मत पाएको छ ।

भारतको वर्तमान संसद् चुनावमा ५ सय ४५ सांसदमध्ये ४७ प्रतिशत सांसद करोडपति रहेका छन् । वुर्जुवा गणतन्त्रमा मनि र मसल भएकाहरूले नै जित्ने हुन्छन् । किनभने भारतको गणतन्त्र बुर्जुवा गणतन्त्र हो, यो सर्वसाधारणको गणतन्त्र होइन । नेपालमा जनताले सर्वसाधारण जनताको गणतन्त्र ल्याउन खोजेका थिए । तर, ठूला नेताहरूले यसलाई धनीमानीको गणतन्त्रमा वदले । यसलाई उनीहरूले दलाल तथा नोकरशाही पूँजीपति वर्गको गणतन्त्रमा बदले ।

नेपालमा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि कांग्रेस एमालेलगायतका नेताहरूले जनतासमक्ष अब उप्रान्त भ्रष्टाचार बेइमानी आदि गर्ने छैन, जनताको पक्षमा काम गर्नेछु भनेर माफी माग्दै आन्दोलनमा उत्रन आह्वान गरेका थिए । जनताले जनपक्षीय गणतन्त्रको लागि ठूलो बलिदानीपूर्ण जनआन्दोलन र जनयुद्ध लडे ।

गणतन्त्र स्थापना नेपालको इतिहासमा एक ऐतिहासिक पाइला थियो । राजतन्त्र विरूद्धको ऐतिहासिक लडाइमा जनताको ठलो विजय थियो । तर, ठूला नेताहरूले यस ११ वर्षमा जनताको हातवाट गणतन्त्र खोसेर दलाल तथा नोकरशाही पूँजीपतिको गणतन्त्र बनाए । एक राजाको तन्त्र समाप्त भयो । तर, धेरै भ्रष्टाचारी नवराजाहरूको तन्त्र सुरु भएको छ ।
(पूर्वमन्त्री श्रेष्ठको फेसबुकबाट)

प्रतिक्रिया