दुल्लु अस्पतालमा धुलिखेलको सुविधा

दैलेख । धुलिखेल अस्पतालको सुविधा दैलेखको दुल्लुबाटै पाइने भएको छ । दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा आउने बिरामीहरूले धुलिखेल अस्पतालमा हुने विशेषज्ञ सेवा पाउने भएका हुन् । धुलिखेल अस्पतालले डाक्टरहरूद्धारा प्रदान गर्ने विशेषज्ञ सेवा अब दुल्लु अस्पतालबाट पाइने भएको हो । धुलिखेल अस्पतालमा एक वटा अप्टिकल किट र दुल्लु अस्पतालमा दुई वटा अप्टिकल किट जडान भएसँगै सेवा विस्तार भएको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र दुल्लु नगरपालिकाले संयुक्त रूपमा दुल्लु अस्पतालमा अप्टिकल किट जडान गरेको हो । आइसिडी फोरडीको प्राविधिक सहयोग, केडिडिआई फाउन्डेसनको सहजीकरण र एपिटीको आर्थिक सहयोगमा दुल्लु अस्पतालमा अप्टिकल किट जडान गरिएको हो । त्यस्तै नैपालमै पहिलोपटक १२ किलोमिटर अप्टिकल फाइबर दुल्लु नगरपालिकामा जडान गरिएको छ । अप्टिकल जडानसँगै ग्रामीण भेगका जनताको सूचना प्रविधि क्षेत्रमा सहजता भएको नगरप्रमुख भण्डारीले बताए ।

प्रभावकारी ब्रोडब्यान्ड संरचनाको माध्ययमले सूचना प्रविधिको विकास कार्यक्रम आयोजना गरेर आइसिडी फोरडी रकेडिडिआई फाउन्डेसनले दुल्लु नगरपालिकालाई अप्टिकल फाइबर जडानमा प्रयोग भएको सामग्री हस्तान्तरण गरेको छ । अप्टिकल जडानले यहाँको स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने भण्डारीले बताए । उनले दुल्लु नगरपालिकाको मातहतमा रहने गरेर आफ्नै नेटवर्क कम्पनीको निर्माण गरेर सूचना प्रविधिको विकासमा टेवा पु¥याउने बताए । भण्डारीले पहिलो चरणमा दुल्लु नगरपालिकाको कार्यालय, दुल्लु अस्पताल, नगरपालिकाका १३ वटै वडामा र केही विद्यालयमा अप्टिकल जडान गरिएको बताए ।

वडामै बसेर भए पनि नगरपालिकाको बैठकका विषयमा जानकारी लिन सकिने आइसिडी फोरडीका प्रमुख पवन शाक्यले बताए । शाक्यले केबल पुगेको ठाउँमा केबलमार्फत र नपुगेको ठाउँमा वाइरलेसमार्फत अप्टिकल फाइबरको सेवा प्रदान गरिएको बताए । ग्रामीण भेगका जनतालाई सूचना प्रविधिमा पहुँच पु¥याउनु, शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्नु यो परियोजनाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया