अपहरित बालकको हत्या

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरबाट पाँच दिन अगाडि अपहरणमा परेको बालकको हत्या भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट गत शुक्रबार अपहरित स्थानीय शम्भु साहका छोरा आठ वर्षीय करण साहको हत्या भएको हो ।

१० जेठमा घर नजिकैबाट अपहरणमा परेका करणको शव प्रहरीले फेला पारेपछि हत्या भएको खुलेको हो । बाराको कलैया उपमहानगरपालिका–२५ मा पर्ने खौरहीस्थित खोलामा हत्या गरी फालिएको अवस्थामा बुधबार बिहान दुई बजे करणको शव भेटिएको प्रहरीले जनाएको छ ।

करणको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतमा स्थायी घर भई वीरगञ्जको प्रगतिनगरमा डेरा गरी बस्दै आएका २० वर्षीय विकाश शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो रहेका छन् । गत शुक्रबार बिहान आफ्नै घरअगाडि खेलिरहेका करण बेपत्ता भएका थिए । बालक बेपत्ता भएकै दिन बेलुकी ९ बजेर २१ मिनेटमा नचिनेको मान्छेले बालकका बुबा शम्भुलाई फोन गरी ३० लाख रुपैयाँ फिरौती मागेका थिए ।

प्रहरीका अनुसार, बालकको अपहरणपछि अपहरणकारीले सुरुमा ३० लाख फिरौती मागेको तर परिवारका सदस्यले त्यति रकम दिन नसक्ने भनेपछि पाँच लाख दिने सहमत भएको थियो । तर, फिरौती रकम दिएपछि मात्रै बालक फिर्ता दिने अडान अपहरणकारीले लिएपछि पीडित शम्भुले प्रहरीलाई खबर गरेका थिए । शम्भुले प्रहरीलाई खबर गरेपछि बालकको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय पर्सा र बाराको संयुक्त टोलीले बालकको अपहरण र हत्यामा संलग्न तीनै जनालाई मंगलबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै जनासँग प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले करणको कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा हत्या गरी शव फालेको वयान दिएका थिए ।

त्यसपछि तीन जनालाई लिएर प्रहरी घटनास्थल गएको थियो । बुधबार बिहान दुई बजेतिर प्रहरी पुग्दा बालकको शव भेटिएको थियो । त्यसवेला प्रहरीलाई नै झुक्याई अपरहरणकारी मध्येका विकास र सिकेन्द्र भाग्न खोजेपछि प्रहरीले चार राउन्ड गोली हानेर दुवैलाई पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

प्रहरीले चलाएको गोली विकास र सिकेन्द्रको खुट्टामा लागेको छ । दुवैजनाको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको छ । बालकका बुबा शम्भुसँग विकासको केही समय पहिले समान्य विवाद भएको र त्यही रिसइबी साध्नका लागि बालकको अपहरण गरेर फिरौती असुल्न अपहरण गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले छोरा अपहरणको सम्बन्धमा खासै चासो नदेखाएका कारण ज्यान गएको पीडित शम्भुले आरोप लगाएका छन् । अपहरणबारे प्रहरीलाई आफूले सबैथोक जानकारी गराए पनि खासै चासो नदेखाएका कारण छोराको ज्यान गएको शम्भुको आरोप छ । छोरा बेपता भएकै दिनदेखि आफू प्रहरीको निरन्तर सम्पर्कमा रहे पनि प्रहरीबाट खासै सहयोग प्राप्त नभएका कारण छोराको ज्यान गएको शम्भुले पत्रकारहरूसँग कुरा गर्दै सुनाए ।

उनका अनुसार अपहरणकारीहरूले सुरुमा ३० लाख रुपैयाँ फिरौती मागेको र त्यसपछि २० लाख, १५ लाख, १० लाख गर्दै पाँच लाखमा सहमति भएको थियो । अहरणकारीले पहिला पैसा त्यसपछि छोरा छोड्ने बताए पनि प्रहरीले पैसा दिएसँगै छोरा छोड्नुपर्ने सर्त राखेका थिए । उनले भने, ‘तपाईं तीन लाखको व्यवस्था गर्नुस् बाँकी हामी दिन्छौँ भनेअनुसार आपूmले तीन लाख लिएर गए पनि बाँकी दुई लाख प्रहरीले व्यवस्था नगरेका कारण फिरौती दिन नसकेर अपहरणकारीले छोराको हत्या गरेको पीडित शम्भुले बताए । नेपाली नम्बरबाट बारम्बार अपहरणकारीले फोन गरेर फिरौती माग गर्दा पनि अपरहरणकारीको खोजतलासमा पनि प्रहरीले खासै चासो नदेखाएको उनको आरोप थियो ।

प्रतिक्रिया