कर कार्यालय कालिकोटमा राख्न माग

कालिकोट । करदाता कार्यालय कालिकोटमा स्थापित गर्नुपर्छ भन्दै कालिकोटका उद्योगी व्यापारीहरू एकजुट भएका छन् । कर तिर्नकै लागि जुम्ला र नेपालगञ्ज नै जानुपर्ने र धेरै खर्च हुने तथा काममा समस्या हुने भएकाले उद्योगी, व्यापारीहरूले एक अन्तर्क्रिया कार्यक्रममा यस्तो गुनासो राखेका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ सदरमुकाम मान्ममा कर शिक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको हो । करदाता कार्यालय जुम्लाका करअधिकृत हिमालय बमको अध्यक्षता, खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य संघका सल्लाहकार अजबहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कालिकोट जिल्लाका उद्योगी, व्यापारीहरूलाई कर शिक्षाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा कालिकोट चेम्बर अफ कमर्सका अध्यक्ष हस्तबहादुर बमले ‘यस जिल्लामा व्यवसाय गर्ने व्यापारीहरू र उद्योगीहरू कर तिर्नकै लागि दोहोरो मारमा परेको बताएका छन् ।’ उनले भने, ‘हामीले नै दिएको करले हामी व्यापारीहरूलाई झन् मारमा पारेको छ ।’

गाडी साउले दिएको कर सडकमा विकास भएको छैन, व्यापारी, उद्योगीले दिएको करले व्यवसायमा कुनै किसिमको विकास नभएको कुरा बताएका छन् । स्थानिय सरकार आएपछी सवै सेवा सुविधाहरू गाउँमा नै उपलव्ध हुने भन्ने थियो तर अहिले कर तिर्नकै लागि आर्थिक खर्च धेरै लाग्ने सहभागी अजबहादुर शाहीले बताए । साथै शाहीका अनुसार नागरिकतालगायत जुनसुकै सिफारिस लिँदा पनि धेरै नै पैसा स्थानीय तहले लिएको कुरा सुनाउँदै यस विषयमा सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै उद्योगी हजा सुनारले करदाता कार्यालयमा निःशुल्क पाइने निवेदन करदाता कार्यालय जुम्लामा नपाइको र बाहिर किन्दा २ सय ५० रुपैयाँ तिरेको बताइन् । होटल खर्च, यातायात खर्च लगायतको खर्चले गर्दा कर तिर्न जाँदा धेरै दुःख भएको कुरा सुनाउँदै अब करदाता कार्यालय जिल्लामै हुनुपर्ने माग राखेकी छन् ।

खाँडाचक्र नगरपालिका कालिकोटका प्रमुख जसिप्रसाद पाण्डेले अब तत्कालै करदाता कार्यालय कालिकोटमा ल्याउने पहल गर्ने कुरा बताएका छन् । करदाता कार्यालय जुम्लाका करअधिकृत हिमालय बमले पनि जुम्लाबाट दिइने सेवा सुविधाहरूबाट सेवाग्राहीहरूलाई सहज वातावरण सिर्जना गर्ने बताएका छन् ।

कालिकोट जिल्ला धेरै आर्थिक कारोबार हुने जिल्ला भएकाले करदाता कार्यालय जुम्ला हुँदा यहाँका सेवाग्राहीहरूलाई सास्ती हुने गरेको स्थानीय व्यापारीहरूको बुझाइ छ ।

प्रतिक्रिया