झाँक्री हत्या गर्नेलाई कैद

धादिङ । जिल्लाको गंगाजमुना गाउँपालिका–२ स्थित लताबमा झाँक्रीको हत्या गरेको आरोपमा जिल्ला अदालत धादिङले २६ जनालाई कारागार सजाय सुनाएको छ ।  धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सो सजाय सुनाएको हो भने चार जना महिलालाई भने सफाइसमेत दिएको छ । ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मंगले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐनअन्तर्गत ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दंगालले बताए ।

यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शंकर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनील तामाङ, १८ वर्षीय मीनबहादुर तामाङ, १८ वर्षीय अञ्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई भने जनही ५ वर्ष ६ महिना कैद गर्ने फैसला गरिएको छ ।

१७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय नीरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुईतिहाइ अर्थात ३ वर्ष ८ महिना मात्र कैद गर्ने फैसलासमेत गरिएको छ । अर्का ५६ वर्षीय बलबहादुर तामाङलाई भने मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरू मार्नका लागि सहयोग पु¥याएकाले ३ वर्ष ६ महिना मात्र कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ ।

साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमाया तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई पनि घटनामा निर्दोष रहेको भन्दै जिल्ला अदालतले सफाइ दिएको छ । यसअघि चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए । गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा गत ०७५ साउन ५ मा गाउँवासीको कुटपिटका कारण गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।

प्रतिक्रिया