४० करोडका उपकरण थन्किदा जनतालाई सास्ती

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले ४० करोड ९८ लाख रुपैयाँमा खरिद गरेर ल्याएका दुई वटा नयाँ अत्याधुनिक मेसिनहरू झन्डै डेढ वर्षदेखि थन्किएर बस्दा बिरामीले सास्ती पाएका छन् ।

मुलुककै पुरानो अस्पताल वीर र ट्रमा सेन्टरलाई अत्याधुनिक उपकरण युक्त बनाउन सरकारले बजेट दिएर करिब दुई वर्ष अघि अत्याधुनिक सुविधा सहितको इन्ट्रा अपरेटिभ सिटिस्क्यान विथ न्याभिकेसन (सिटी) खरिद प्रक्रिया अगाडि बढाइएको थियो । त्यस अनुरूप टेन्डर पाउने कम्पनीले उपकरण वीर र ट्रमा सेन्टरमा जडान गरिसकेपछि सार्वजनिक खरिद पुनरावलोकन समितिले बखेडा निकाल्दा सञ्चालनमा आउन नसकेको हो ।

सार्वजनिक खरिद प्रक्रिया मिचेर उपकरणहरू खरिद गरिएको भन्दै टेन्डरमा सहभागी भएको हिमालयन मेडिटेकले सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) मा दुई थान उपकरण त्यसै थन्किएका छन् ।

वीर र ट्रमा सेन्टरमा अत्याधुनिक दुई थान ‘इन्ट्रा अपरेटिभ सिटि स्क्यान विथ न्याभिकेसन (सिटी)’ सञ्चालनमा नआउँदा उपचारका लागि आउने विरामीहरू मारमा परेका छन् । ‘न्यूरो सर्जरी इक्वीपमेन्ट’ ले कुनैपनि अप्रेसनलाई यथाशीघ्र पूरा गर्न सहयोग गर्ने डाक्टरहरू बताउँछन् । न्यूरो सर्जन डा. राजीव झाका अनुसार अप्रेसनका क्रममा अहिले भित्र्याइएको प्रविधिले २० देखि ३० प्रतिशत सहजता प्रदान गर्दछ ।

तर, टेन्डर प्रक्रियामा सहभागी भएपनि स्पेसिफिकेसन नमिल्दा बाहिरिएको हिमालयन मेडिटेकले बखेडा झिक्दा सर्वसाधारणले सास्ती पाइरहेका छन् । सर्वसाधारणहरू बाहिर क्लिनिक तथा नीजि डायग्नोस्टिक सेन्टरमा गएर महंगोमा उपचार गराउन बाध्य भएका छन् ।

पुनरावलोकन समितिले सर्वोच्च अदालतको फैसलालाई समेत अपहेलना गर्दै ‘इन्ट्रा–अपरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टम’ खरिद प्रक्रिया गैरकानुनी भएको बताउँदै टेन्डर रद्द गर्नुपर्ने भनेको छ ।

सर्वोच्च अदालतले समेत एलसी खोलेर उपकरण आइसकेको अवस्थामा टेन्डर रद्द गर्न नमिल्ने भन्दै खरिद प्रक्रिया नरोक्न गरेको फैसलालाई पुनरावलोकन समितिले अपहेलना गरेर सास्ती दिएको वीर अस्पतालका पदाधिकारीहरू बताउँछन् । ‘हामीले सम्पूर्ण खरिद प्रक्रिया पूरा गरेर स्पेसिफेकसन अनुसार जसको धेरै मिल्छ त्यही कम्पनीको खरिद गरेका हौँ, हिमालयन मेडिटेकले कम रेटमा टेन्डर हालेपनि उसले पेश गरेको स्फेसिफिकेसन मिलेन ।’ वीर अस्पतालका अस्पताल निर्देशक केदार सेन्च्युरीले बताए ।

प्रतिक्रिया