तीन स्रष्टा पुरस्कृत

स्याङ्जा । नेपाली साहित्यमा योगदान पु¥याएका तीन जना स्रष्टा पुरस्कृत भएका छन् । स्याङ्जा साहित्य प्रतिष्ठान तथा भीरकोट नगरपालिकाले आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा विराटनगरमा बसेर साहित्य साधना गरेका स्रष्टा दधिराज सुवेदीलाई ‘कालीगण्डकी साहित्य कला पुरस्कार–०७५’ प्रदान गरियो ।

प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार’ २०५३ सालमा स्थापना गरेको हो । १५ हजार राशीको उक्त पुरस्कार नेपाली भाषा तथा समालोचनाका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्रष्टा सुवेदीलाई प्रदान गरिएको हो ।

यसैगरी, बाँकेको नेपालगञ्जमा रहेर नेपाली साहित्यमा क्रियाशील स्रष्टा खगेन्द्र गिरी ‘कोपिला’ लाई ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार–०७५’ र स्याङ्जाका स्रष्टा अग्निकुमार रेग्मी ‘पल्लव’ लाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार–०७५’ प्रदान गरियो ।
०७२ सालमा यादव, नीलकण्ठ र तिलाकुमारी गिरीको स्मृतिमा छोरा तुलसी गिरी तथा परिवारले स्थापना गरेको पुरस्कारको राशी १५ हजार ५ रुपैयाँ रहेको छ ।

यस्तै, आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार–०७५ वालिङमा बसेर नेपाली भाषा साहित्यको कविता र काव्य तथा गजल विधामा क्रियाशील साहित्यकार पल्लवलाई पुरस्कृत गरिएको प्रतिष्ठानका सचिव मिलन समीरले जानकारी दिए ।

स्रष्टालाई सम्मान गर्दै भीरकोट नगरपालिका प्रमुख छायाँराम खनालले सबैको चासो रहेमा स्याङ्जा साहित्यको केन्द्र बन्ने बताए । उनले साहित्यको सम्मान गर्न सकेमात्रै आफ्नो पनि सम्मान हुने भनाइ राखे । उनले भने, ‘कला तथा साहित्यका लागि सबै पक्षले ध्यान दिन सकेमात्रै समृद्ध नेपाल निर्माण हुनसक्छ ।’ कार्यक्रममा नगर उपप्रमुख सिमा कर्माचार्यले कला साहित्यको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् ।

स्याङ्जाली साहित्यको विकासका लागि राज्यले सिर्जनशील ढंगले काम गर्नुपर्ने स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए । उनले भने, ‘स्रष्टाको सम्मानविना सभ्य समाज निर्माणको परिकल्पना गर्न सकिदैंन ।’ कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अधिवक्ता तुलसी गिरी, समालोचक श्यामप्रसाद ढुंगाना, टिकाराम वाग्ले, नारायणप्रसाद ज्ञवाली, साहित्यकार डि.डि. शर्मा लगायतका स्रष्टाले संस्कृतिको विकासबिना समाज सभ्य बन्न नसक्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा देवेन्द्र लम्साल, चिन्तु गिरी, लेखनाथ काफ्ले, तर्कना शर्मा, लक्ष्मी अर्पणा, श्याम ढुंगाना ,शम्भु अर्याल, रेशम गोतामे, खगेन्द्र जंग थापा, प्रकाश पुलामी, गंगा कर्माचार्य पौडेल, राजेन्द्र श्रेष्ठ, मनिषा कोइराला लगायत तीन दर्जन बढी स्रष्टाले गीत, कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

प्रतिक्रिया