तीनवटा टोल पूर्ण सरसफाइ

सल्यान । पूर्ण सरसफाइ अभियानले तीव्रता पाएको सल्यानको कपुरकोट गाउँपालिकामा तीनवटा टोललाइ एक साथ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । कपुरकोट ६ को डाँग्री, रैजेखोला र सागिने टोललाई घोषणा गरिएको सरसफाइ टोल संयोजक दली साहुले जानकारी दिएकी छन् ।

यी टोलका ५६ घरधुरीले पूर्ण सरसफाइका न्यूनतम सूचकहरू पूरा गरेकाले सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । तीन टोलका वासिन्दाहरूले आफ्नो वासस्थान, कार्यस्थल वरिपरि, सार्वजनिक स्थलको स्वच्छता र पवित्रता कायम राख्न मन वचन र कर्मले निरन्तर लाग्ने प्रतिवद्धता जनाएको वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य अविकिरण डाँगीले जानकारी दिएका छन् ।

दूषित खाना र पानीका कारण लाग्ने अधिकांश रोग प्रत्यक्ष मानवीय व्यवहारसँग सरोकार हुने भएकाले यस अभियानले रोग न्यूनीकरणमा सहयोग गर्ने कपुरकोट ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले बताए । पूर्ण सरसफाइ उन्मुख टोल घोषणा कार्यक्रमका वक्ताहरूले सरसफाइ क्रियाकलाप निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी दिनमा अझ सक्रिय रूपमा लाग्न अनुरोध गरेका थिए ।

वडा सदस्य झाक बहादुर महतरा, कलसी सार्की , जानकी आधारभूतका प्रअ गोवद्र्धन शर्मा, स्वास्थ्य चौकी सिनवाङका अहेव नवराज भण्डारी, शिक्षक लोकराज भण्डारी, शिक्षिका रिता घर्ती , समाजिक परिचालक प्रतिभा केसीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया