मातृ सम्मान दिवस

संसारभरि नै विभिन्न दिनमा आमालाई सम्झिने गरिन्छ । बेलायतमा मदरिङ सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ । निकै नै लोकप्रिय रूपमा चीनमा मातृ दिवस मनाइन्छ । त्यस्तै, बोलिभियामा मे २८लाई मातृत्व दिवसका रूपमा मनाइन्छ । रोमानियामा मातृ दिवसलाई महिला दिवसका रूपमा मनाइन्छ । संयुक्त राज्य अमेरिका र क्यानाडा मेको दोस्रो आइतबारलाई मातृ दिवसको रूपमा मनाइन्छ । अन्य देशहरूमा पनि आ–आफ्नै चलनअनुसार फरक–फरक तिथि–मितिमा आमालाई विभिन्न रूपमा सम्झिने गरिन्छ

‘प्रेम त आमाले गरिन्, बाँकी सबले नाटक गरे’ गत हप्ता सामाजिक सञ्जालमा यस्तै केही पोस्टहरूले मेरो मन तरंगित बनाइरहेका थिए । ‘मातृभाषा’, ‘मातृधर्म’, ‘मातृभूमि’ जस्ता शब्दले उद्गमको अर्थ लगाउँछन् । प्राणीको उत्पत्तिको स्रोतको अर्को नाम नै ‘मातृ’ हो । समग्र मानव सभ्यतामा मातृ पक्षको अहम् स्थान रहेको हुन्छ । वैशाख महिनाको कृष्णपक्षको औंशी तिथि मातृ औंशीका रूपमा मनाइन्छ ।

यस वर्ष वैशाख २१ गते शनिबार आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशी परेको थियो । मातृ औंशीको दिन आमा भएकाहरूले आफ्नो सामथ्र्यअनुसार आमालाई खुसी पार्ने काम गर्छन् । काम अर्थात् विभिन्न कारणवश घरदेखि टाढा हुनेहरूले सम्पर्र्कका विभिन्न माध्यमहरूबाट यस दिन आमालाई सम्झिन्छन् । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमालाई सम्झिने गर्दछन् । कसैले यस दिनमा आफ्नी दिवंगत आमाको सम्झनामा विभिन्न सामाजिक कार्यहरू गर्ने गरेको पाइन्छ ।

काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थमा यस दिनमा आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने कार्य पनि गरिन्छ । यस्तै, देशका अन्य धार्मिक स्थानहरूमा पनि यस दिन आफ्नी आमाप्रति श्रद्धाभाव व्यक्त गर्ने गरिन्छ ।

अरूको लाख, आमाको काख । आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ । अर्थात्, त्यो ममता किनेर पाइँदैन । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै कष्ट सहेकी हुन्छिन् । शान्ति, क्षमा, करूणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ आमालाई । गर्भकालदेखि नै आफ्ना सन्तानप्रति आमाको आत्मिक सम्बन्ध हुन्छ । तर, केही आमा भएर पनि आमाको महत्व नबुझ्ने मानवरूपी पशुहरू पनि छन् हाम्रो समाजमा । सामाजिक सञ्जालमा ठूला–ठूला कुरा गर्ने, बाहिर गफ लगाउने केही व्यक्तिहरू घरभित्र भने आमाको महत्व नबुझेर आमालाई वृद्धाश्रम जान बाध्य बनाएका घटनाहरू हामीसामु विद्यमान छन् ।

आमालाई एक दिन भेटेर खुसी पार्ने होइन कि आमालाई सधैं सम्झनु जरूरी छ, खुसी पार्नु जरूरी छ । फेरि, हाम्रो समाजमा पछिल्लो समयमा जसलाई जन्म दियो, त्यहीबाट पीडित भएका छन् आमाहरू । अर्थात्, आफ्नै सन्तानबाट पीडा भोग्नुपरिरहेको छ आमाहरूले । महिला हिंसाका घटनाहरू बढ्दो छन् । यस्ता हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्ने प्रतिबद्धता गरौं आजैदेखि, तब मात्र आमाको महत्वले सार्थकता पाउनेछ । आमाका आँखामा आँसु आउन नदिने प्रण गर्नु नै सच्चा सन्तानको कर्तव्य हुन्छ ।

आमालाई माता, जननी, महतारी, मुमा, मुवाँ, मामु, मा, अम्मी, माई, माय, ममी, मदर आदि शब्दले पनि पुकारिन्छ । हामी कुनै दुःख, कष्ट आइपर्दा सबैभन्दा पहिला आमालाई नै सम्झन्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुञ्जेलसम्म माया, ममता पाइरहेका हुन्छौं, जसको मायामा कुनै स्वार्थ हुँदैन । यसैले त आमा जननी हुन्, देवी हुन् । आमाको जस्तो निस्कलंक, स्वच्छ माया अरू कसैले दिन सक्दैन । तिनै आमालाई कष्ट पु¥याएर, तिनै आमालाई हिंसा गरेर कसलाई खुसी पार्न उद्यत्त छौँ हामी ?

त्यस्तै, आज नेपाल आमा गरिबी, विदेशीको दासत्वबाट मुक्त पार्ने सन्तानको खोजीमा हुनुहुन्छ । हामी नेपालआमाका सन्तानहरू जिम्मेवार हुन जरूरी छ । दैनिक करिब पन्ध्र सय नेपाल आमाका सन्तानहरू विदेशिन बाध्य छन् । यस्तो बाध्यात्मक अवस्थाको अन्त्य गरौं । नेपालमा नै बसेर नेपाल आमाको सेवा गरौं । विदेशमा गएर पसिना बगाउनुको साटो नेपाल आमाको मुहार हसिलो पर्ने काममा जुटौं ।

हरेक आमाले आफ्ना सन्तानहरू मिलेर बसेको, प्रगतिपथमा लम्केको हेर्न चाहन्छिन् । आमालाई सबैभन्दा ठूलो पीडा सन्तानहरू एकआपसमा लड्दा हुन्छ । त्यसैले आमालाई खुसी पार्ने काममा लागौँ । आमा र सन्तानबीचको सम्बन्ध प्रगाढ बनाई नेपाल आमालाई समृद्ध र खुसी बनाऔँ । ज्यो. पं. भरतमणि मरासिनिका अनुसार संस्कृतमा उक्ति पनि छ– ‘कुपत्रो जायते क्वचिदपि कुमाता नभवितु ।’

‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनेर शास्त्रमा लेखिएको छ । हरेक प्राणीका लागि आमाको स्थान सर्वथा पूजनीय हुन्छ । प्रकृतिमा हरेक प्राणीले आमाद्वारा नै जीवन पाएका हुन्छन् । माँ, आमा, जननी, महतारी, मदर जे भने नि आमा शब्द बृहत् छ ।

संसारभरि नै विभिन्न दिनमा आमालाई सम्झिने गरिन्छ । बेलायतमा मदरिङ सन्डे वा ग्रीसमा यशु मन्दिरमा परम्परागत उत्सव मनाउने गरिन्छ । निकै नै लोकप्रिय रूपमा चीनमा मातृ दिवस मनाइन्छ । त्यस्तै, बोलिभियामा मे २८लाई मातृत्व दिवसका रूपमा मनाइन्छ । रोमानियामा मातृ दिवसलाई महिला दिवसका रूपमा मनाइन्छ । संयुक्त राज्य अमेरिका र क्यानाडा मेको दोस्रो आइतबारलाई मातृ दिवसको रूपमा मनाइन्छ । अन्य देशहरूमा पनि आ–आफ्नै चलनअनुसार फरक–फरक तिथि–मितिमा आमालाई विभिन्न रूपमा सम्झिने गरिन्छ ।

आमाको मुहार हँसाउन सके मात्र हामी बाँचेको र हाम्रो जीवन सार्थक हुनेछ । कहिलेकहीँ मात्र आमालाई सम्झेर, आमालाई एक छाक मिठो खुवाएर मात्र हुँदैन । जन्म दिने आमा र नेपाल आमालाई हामीले सधैँ खुसी र सुखी राख्न सक्नुपर्छ ।

प्रतिक्रिया