सिद्धलेक गाउँपालिकाले निर्वाहमुखी कृषिलाई विस्थापित गरी व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न १८० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । यस पालिकाले उपलब्ध सबै जमिनको उपयोग गर्ने नीतिअन्तर्गत जमिन बाँझो राख्न नपाईने व्यवस्था गरेको छ
धादिङ जिल्लाका १३ ओटा पालिकामध्ये सिद्धलेक गाउँपालिका एउटा हो । पृथ्वी राजमार्गमा पर्ने मलेखुको पुलबाट ५ किलोमिटरको यात्रामा पुगिने सिद्धलेक गाउँपालिकाले निर्वाचनपछि आफ्नै बलबुतामा जग्गा खरिद गरी भव्य भवन ठड्याएर आफ्नो पहिचान बनाएको छ । सदरमुकाम धादिङबेसी यात्रा गर्दा राजमार्गबाटै देखिने हालै रंग रोगन गरेको पालिका भवनमा आधुनिक तालीम केन्द्रसमेत निर्माण भएको छ ।
दुई ओटा सन्तान मात्र हुनेलाई स्याहार सुसार गर्न खर्च भनी सुत्केरी महिलालाई पोषण खानाका लागि एउटा भाले र २० ओटा अण्डा दिने सिद्धलेक पालिकाले अस्पतालमा सुत्केरी गराएमा थप एक हजार यातायात खर्च पनि दिने गरेको छ । यो पालिकामा सात वडा छन् र प्रायः सबै वडामा आफ्नै वडाको भवनसहित वडा कार्यालय सञ्चालन गरिएको छ । विद्युतीय माध्यमबाट सेवा दिने उत्साहका साथ अघि बढेको यस पालिकाले गाउँपालिका कार्यालय र वडा कार्यालय सबैमा सोलार जडान गरेको छ ।
नेपालभरीका पालिकाहरूलाई उत्प्रेरित गर्ने, उनीहरूलाई सूचनाको हकको प्रचलनमा प्रतिबद्ध तुल्याउने र स्थानीय सरकार सञ्चालन सम्बन्धमा प्रशिक्षण दिने ध्येयले यस पंक्तीकारले आरम्भ गरेको अभियान अन्तर्गत ०७६ वैशाख ६ गते सिद्धलेकमा अन्तक्र्रिया गरेको थिएँ । सो कार्यक्रमका लागि प्रमुख प्रशासकीय अधिकृतले आमन्त्रण गर्नु भएको थियो भने कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले पालिकाद्धारा परिवर्तनका लागि आफ्नो नेतृत्वमा भए गरेका कामको फिहरिस्तै प्रस्तुत गर्नुभयो ।
सिद्धलेक गाउँपालिकाले गाउँपालिका तथा माध्यमिक विद्यालयहरूमा विद्युतीय हाजिरी जडान गरेको छ । पालिका कार्यालय र वडा कार्यालयमा नेट जडान गरेको यस पालिकाले वेवसाइट सञ्चालनमा ल्याएको छ । यस पालिकाले ग्रामीण सडकको मापदण्ड निर्धारण गरी सबै वडामा सडक सञ्जाल पु¥याउने र सबै सडकमा बाह्रै महिना यातायात सञ्चालन गराउने लक्ष्य लिएको छ । यो पालिकाले ग्रामीण सडक निर्माण गर्दा भूक्षय नियन्त्रण गर्न सडकको पेटीमा कोदो, निगालो, बाँस आदि लगाउने गरेको छ ।
जो अन्य पालिकाहरूका लागि अनुशरणयोग्य देखिन्छ । यो पालिकाले आफूलाई आवश्यक पर्ने थुप्रै ऐन, नियम, कानुन, नियमावली, कार्यविधि निर्माण गरी लागू गरेको छ । यो पालिकाले वृक्षारोपण कार्यक्रममा फलफूल र उपयोगी विरुवा वितरणको कार्य थालनी गरेको छ । नागरिकको आय आर्जन वृद्धि गर्न उपहार समूह गठन गरी बाख्रा वितरण गरेको छ । जस अनुसार सुरुमा पालिकाबाट उपहार स्वरूप बाख्रा पाउने समूहले अर्को समूह गठन गरी बाख्रा नै उपहार दिनु पर्नेछ । यस्तो सृजनशील काम अन्य जुनसुकै पालिकाले अनुशरण गरी लागू गर्न सकिने देखिन्छ ।
सिद्धलेक गाउँपालिकाले निर्वाहमुखी कृषिलाई विस्थापित गरी व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न १८० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । यस पालिकाले उपलब्ध सबै जमिनको उपयोग गर्ने नीतिअन्तर्गत जमिन बाँझो राख्न नपाईने व्यवस्था गरेको छ । साथै नियमित रूपमा खेती बारी गर्न नसक्नेका लागि फलफूलको विरुवा वितरण गरी बगैँचा निर्माणमा जोड दिएको छ । यस अतिरिक्त सिद्धलेक पालिकाले ६ स्थानमा डिप बोरिङ गरी एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ ।
यस पालिकाको चौथो गाउँ सभाबाट सरकारी तलब खाने अभिभावकले अनिवार्यरूपमा आफ्ना बच्चाहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । साथै यस पालिकाले अब उप्रान्त जग्गाको अंश बण्डा र खरिदमा समावेशी बनाउन श्रीमान र श्रीमतीको नाममा संयुक्त जग्गाधनी पुर्जा बनाउने कार्य आरम्भ गरेको छ । यी कार्यहरू पनि मुलुकका अन्य पालिकाका लागि अनुशरणयोग्य छन् ।
सिद्धलेक गाउँपालिका विकास निर्माण र कृषि उत्पादनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको पालिका हो । कृषि क्षेत्रमा व्यापक लगानी गर्न सके रोजगारी र आर्थिक समृद्धि एकै पटक हासिल हुनेछ । यसर्थ सिद्धलेक आफ्नो १० बर्षे गुरुयोजना निर्माण गरी क्षेत्रीय, भाषिक, धार्मिक एवं लैंगिक लगायतका विभेद र सबै प्रकारको छुवाछुतलाई अन्त्य गरी आर्थिक समानता र सामाजिक न्यायको सुनिश्चितताका लागि कटिबद्ध रहेको छ ।
यसैगरी यो पालिका अल्पसंख्यक तथा विकासमा पछाडि परेका वर्ग तथा समुदायलाई विकासको मूलधारमा ल्याउन उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न पनि प्रतिबद्ध छ । यस पालिकाले वाङचुङ –मैदान सडकको स्तरोन्नति गरी नियमित रूपमा बस सञ्चालनयोग्य तुल्याएको छ । साथै बैरेनी–पिपलनलाङ–ठाँटी–कुम्लाबारी–मैदान सडकमा दैनिक यातायात सञ्चालनमा रहेको छ भने परेवाटार कुम्पुर भन्ज्याङ बागबच्छला कालीदह सडक स्तरोन्नति गरी चालू आ. ब. २०७५।७६ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यसैगरी मूलाबारी, काम्राङ, डुमीडाँडा, कोटडाँडा, ढल्के पिपल डिप बोरिङ सम्पन्न गरी पानी निकाल्ने काम सम्पन्न भइसकेको छ । यसरी सिद्धलेक आम जनताको अपेक्षा अनुरूपको विकास–निर्माणको काममा जुटेको देखिन्छ ।
सिद्धलेक पालिकाले फलफूलको व्यवसायिक खेती प्रबद्र्धन गर्ने नीति लिएको छ । यो पालिका काँडे भ्याकुरको संरक्षण र प्रबद्र्धनमा पनि लागि परेको छ । जेष्ठ नागरिकका लागि बृद्धाश्रम निर्माण गर्ने पालिकाको सोच बनेको छ । पशु हाट बजारको स्थापना गर्ने र तरकारी, फलफूल एवं अन्य कृषि उपजको संकलन तथा बिक्री वितरणलाई सहजीकरण गर्ने पालिकाको योजना छ । कुम्पुर डाँडामा र ढेवा लेकमा भ्युटावरको लागि विशेष पहल भैरहेको छ । यसैगरी पालिकाले दुग्ध संकलन केन्द्र स्थापना गर्ने, गोठ सुधार गर्ने, रसायनिक मल र रसायनिक विषादीको प्रयोग घटाउने तथा होमस्टे सञ्चालन गर्नेसम्मको लक्ष्य लिएको छ ।
बाली बिमा र पशु बिमाको पहल गर्ने, एग्रोभेट सञ्चालन गर्ने तथा जमिन बाँझो राख्न नदिने नीति सिद्धलेकले लिएको छ । यो पालिका एकातिर फलफूलको व्यवसायिक खेतीमा जोड दिन प्रतिबद्ध छ भने अर्कोतिर टारमा लिफ्ट सिँचाईको विस्तार गर्न कटिबद्ध छ । आधुनिक नर्सरी स्थापना गर्ने, व्यवसायिक पशुपालन र मौरी पालनमा जोड दिने र अग्र्यानिक खेती गर्नेलाई पुरस्कृत गर्ने पालिकाको लक्ष्य छ । व्यवसायिक रूपमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुर पालन लगायतमा किसानलाई प्रोत्साहित गर्दै एउटा प्रांगारिक मल कारखाना स्थापनाको पहलमा पालिका जुटेको छ । महिला र बालबालिका उपर कुनै पनि प्रकारको शोषण र हिंसा हुन नदिने वातावरण निर्माण गर्दै ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सिद्धलेक अग्रसर छ ।
सिद्धलेक गाउँपालिका सातै वडामा कम्तिमा एक एक ओटा स्तरीय ग्रामीण सडक निर्माणमा प्रतिबद्ध छ । आगामी ५ बर्षभित्र यस्तो सडक कालोपत्रे समेत गर्ने ध्येय राखिएको छ । कालु पाण्डे राजमार्गको सिद्धलेक खण्डमा पूर्ण सरसफाई गर्ने र हरियाली सडक निर्माण गरिनेछ । व्यवस्थित बसोबासका लागि आवश्यक पहल गरिनेछ । फुर्के खोलादेखि च्याद्रु खोलासम्म बजारमा दायाँ बायाँ सोलार बत्ती जडान गरिनेछ । थोपल खोला लगायतका खोलाहरूलाई स्वच्छतापूर्वक बग्न दिईने छ ।
जनताको आवागमनलाई सहज तुल्याउन ठाउँ ठाउँमा झोलुङ्गेपुल निर्माण गरिनेछ । लिफ्टिङ नहर, ड्रिलिङ सिँचाई तथा ड्रिलिङ प्रबिधिबाट खानेपानी सेवाको विस्तार गर्नुका साथै प्लाष्टिक पाइपको निर्माण गरिनेछ । प्रत्येक वडामा टोल मैदान निर्माण गरिनेछ । नदी कटान रोक्न तटबन्धको प्रबन्ध गरिनेछ । यसैगरी सार्वजनिक शौचालय निर्माण गरिनेछ । यसरी विविध विकास निर्माणका कार्य गर्न सिद्धलेक गाउँपालिका प्रतिबद्धताका साथ अघि बढेको छ ।
नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ स्थानीयतहलाई विभिन्न अधिकार र दायित्व सुम्पिएको छ । यसरी आफूलाई तोकिएको काममा खरो उत्रिनु सबै पालिकाको कर्तव्य हो । यस क्रममा सिद्धलेक गाउँपालिकाले भू–उपयोग नीति लागू गर्ने, बजार क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक लाइट राख्ने, प्रत्येक वडामा विनियोजित बजेटको पाँच प्रतिशत रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने पहल आरम्भ गरेको छ । यी कुरा अन्य पालिकाका लागि अनुकरणीय हुन सक्तछन् । यो पालिकाले खोप कार्यक्रम सञ्चालन गर्ने, बाल मृत्यूदर घटाउने, स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर खडा गर्ने र वैदेशिक रोजगारीमा जानेलाई उपयुक्त जानकारी प्रदान गर्ने प्रबन्ध गरेको छ ।
सिद्धलेकले वैदेशिक रोजगारीमा जान तयार भएका युवालाई विदेशमा दुःख नपाउन र बढी आर्जनसमेत गर्नु सकुन भनी सीप, भाषा र कानुनको तालिम दिने योजना बनाएको छ । बालमैत्री शासन सञ्चालन, बालमैत्री उद्यानको निर्माण र कुपोषणविरुद्धका कार्यक्रम सञ्चालन गर्न पनि यो पालिका प्रतिबद्ध छ । यसैगरी, स्वास्थ्य डेक्स, अपांग डेक्स र वैदेशिक रोजगारी सूचना डेक्स स्थापना गर्न पनि पालिका प्रतिबद्ध छ । अब उप्रान्त पक्की घर निर्माण गर्दा पालिकाबाट नक्सा पास गर्नुपर्नेतर्फ पालिका अघि बढेको छ ।
स्कुलको भौतिक पूर्वाधार निर्माण गर्ने, नियमितरूपमा गर्भ जाँच गराउनुका साथै अस्पतालमा प्रसुती सेवा लिन पालिकाले उत्प्रेरित गरिरहेको छ यसका लागि भत्ताको व्यवस्था पनि गरिएको छ । यो पालिकाले जिरो होम डेलिभरीको नीति लिएको छ । यो पालिका सबै वडामा हेलीप्याड निर्माणमा पनि कटिबद्ध छ । यस अतिरिक्त बातारण संरक्षणमा पनि पालिका लागीपरेको देखिन्छ । यसअन्तर्गत कुहिने र नकुहिने फोहोर छुट्याईने, पहिरो रोकथाम गर्ने, सार्बजनिक सम्पत्तीको संरक्षण गर्ने र खोलामा विद्युतीय साधन प्रयोग गरी माछा मार्ने कामलाई पूर्णरूपमा निषेध गर्ने गरी सिद्धलेक अघि सरेको छ । यी कार्य अन्य पालिकाका लागि अनुशरणयोग्य छन् ।
अन्त्यमा, सिद्धलेकपालिका अभिलेख प्रणालीलाई आधुनिकता प्रदान गर्न र अनलाईन सेवा प्रदान गर्न प्रयत्नशील रहेको पाइन्छ । आम जनतामा सरल र सहजरूपका सेवा प्रवाह गर्ने ध्येय पालिकाले राखेको छ । यसका लागि सुशासन बढाउन पालिकाले नागरिक बडापत्र, सुझाबपेटिका, सूचना अधिकारी तोक्ने जस्ता कामलाई अघि बढाएको छ । छलफलका दौरानमा पालिका नागरिकको सूचनाको हकको सम्मान गर्न र तीन–तीन महिनामा स्वतः प्रकाशन गर्न पनि प्रतिबद्ध रहेकोे छ ।
यो पालिका सञ्चालित आयोजनाहरूलाई समयमै सम्पन्न गर्न पनि प्रतिबद्ध छ । यसका लागि अनुगमनलगायतका कामलाई चुस्तता दिईने जनाईएको छ । पालिकाले वेभसाइट निर्माण गरी सबै सूचना वेभसाइटमा राखेको दावी समेत गरेको छ । यस अतिरिक्त राम्रो काम गर्नेलाई पुरस्कृत गर्न र विद्यालयमा ‘ई क्लास’ को कार्यक्रम लागू गर्न पालिका अग्रसर भएको देखिन्छ । साथै, पालिका एफ एम रेडियो सञ्चालनतर्फ पनि सोचमग्न छ । यस्ले वित्तीय अनुशासनमा पनि जोड दिएको पाइन्छ ।
प्रतिक्रिया