पठाओको सेवा शुल्क एक किलोमिटरका लागि ४५ रुपैयाँ पर्छ । त्यसपछि हरेक एक किलोमिटरमा थप १५ रुपैयाँ शुल्क बढ्दै जान्छ । त्यसमा राइडरलाई ८५ प्रतिशत जान्छ । पठाओमा हाल २० हजार बाइक आबद्ध छन् । पठाओका राइडरमध्ये ६० प्रतिशतले दिनको एक वा दुई राइड प्रदान गर्ने गरेको पाइएको छ । बाँकी ४० प्रतिशतले दिनभर ग्राहकलाई सेवा दिन्छन् । दिनभर काम गर्नेले मासिक ४० देखि ६० हजार रुपैयाँसम्म कमाउँछन्
काठमाडौंको सार्वजनिक यातायात बस, माइक्रो, ट्याम्पो जताततै यात्रुको चापाचापका कारण अस्तव्यस्त छ । जसका कारण उपत्यकामा राइड सेयरिङ कल्चर बढ्दो छ । राइड सेयरिङ सेवा दिन ‘पठाओ’ र ‘टुटल’ अहिले कम्मर कसेर लागिपरिरहेका छन् । ‘पठाओ’ राइड शेयरिङ्ग सेवा र धेरैलाई पेड लिफ्ट (सःशुल्क लिफ्ट) दिन्छ भने पठाओको एपमार्फत् यात्रा गर्न चाहने व्यक्ति कहाँ छ र कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ । यो एपमार्फत् बोलाएको ठाउँमा केही समयमै लिन आइपुग्छ । ‘गुगल म्याप’ बाट एक–अर्काको ‘लोकेशन’ थाहा हुन्छ ।
बंगलादेशका तीनजना व्यवसायी हुशेन एम एलियस, फहिम सलेह र अदनान सिफातले सन् २०१५ मा ‘पठाओ शइडस’ स्थापना गरेका हुन् । बढ्दो ट्राफिक जाम र यात्रुको चापलाई मध्यनजर गर्दै सन् २०१६ को डिसेम्वरमा बंगलादेशमा ‘पठाओ मोबाइल एप’ बनेको थियो । राइड सेयरिङ सेवासँगै बंगलादेशमा पठाओ एपमार्फत् सामान र खानाको समेत डेलिभरी सेवा उपलब्ध छ । झन्डै सात वर्ष चीनमा बिताएका र विभिन्न क्षेत्रमा जागिर गरेर १५ वर्ष बिताएका असीममान सिंह बस्न्यातले बंगलादेशी ब्राण्ड र टेक्नोलोजी गएको अक्टोबरमा नेपालमा भित्र्याएको बताउँदै भने– ‘अध्ययनको क्रममा बंगलादेशी ब्रान्ड पठाओ नेपाल आउन खोजेको थाहा पाएँ, त्यो अवसर मैले गुमाउन चाहिन । पठाओले गर्न लागेको कामको एउटा सानो अंश हो भने अन्य सेवाका लागि पूर्वाधार निर्माण हुँदैछ । पठाओमार्फत् आगामी दिनमा ट्याक्सी सेवा, खाना तथा सामानहरूको डेलिभरी गर्ने तयारी गरिरहेका छौं ।’
पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले भने– ‘नेपालमा सार्वजनिक यातायातको अवस्था एकदमै दयनीय छ । १५ जना अट्ने माइक्रोमा ३० जना चढ्छन्, ४० जना अट्ने बसमा ८० जना कोच्चिएर चढ्छन् । काठमाडौंमा पार्किङको समस्या छ । न्युरोड जाने मान्छेले आफ्नो गाडी थन्क्याएर पठाओ चढ्छन् । आफ्नो सवारी साधन सर्भिसिङमा छाडेका वेलामा पठाओ प्रयोग गरेर अफिस जाने–आउने पनि धेरै छन् । पार्टीमा ड्रिंक गरेर बाइक चलाउन खोज्नेहरू अहिले पठाओ प्रयोग गर्छन् । ‘डन्ट ड्रिंक एन्ड ड्राइभ’ लाई हामीले प्रोत्साहन गरिरहेका छौँ । यसर्थ, हामीले यात्रुलाई दुर्घटना पार्न होइन, सुरक्षा दिने काम गरेका छौं ।
हाम्रो अफिसमा दिनमा सयजना मानिस बाइक दर्ता गराउन आउँछन् । नयाँ ठाउँमा जाने, यात्रुले मन पराउने, राम्रो रेटिङ पाउने, धेरैभन्दा धेरै राइड दिने राइडरलाई हामी बोनस पनि दिन्छौँ । त्यस्तै, यात्रुहरूलाई पनि वेलावेलामा डिस्काउन्ट अफर दिइरहेका हुन्छौँ, पठाओको सेवा शुल्क एक किलोमिटरका लागि ४५ रुपैयाँ पर्छ, ४५ रुपैयाँ न्यूनतम शुल्क हो । त्यसपछि हरेक एक किलोमिटरमा थप १५ रुपैयाँ शुल्क बढ्दै जान्छ । त्यसमा राइडरलाई ८५ प्रतिशत जान्छ र हामीले १५ प्रतिशत लिने गरेका छौँ । पठाओमा हाल २० हजार बाइक आवद्ध छन् । पठाओका राइडरमध्ये ६० प्रतिशतले दिनको एक वा दुई राइड प्रदान गर्ने गरेको पाइएको छ । बाँकी ४० प्रतिशतले दिनभर ग्राहकलाई सेवा दिन्छन् । दिनभर काम गर्नेले मासिक ४० देखि ६० हजार रुपैयाँसम्म कमाउँछन् । पठाओमार्फत् नयाँ रोजगारी जन्मिएको छ ।’
–‘टुगेदर वी मुभ’ उद्देश्यसहित सञ्चालनमा आएको अर्को मोटरसाइकलमा यात्रुलाई गन्तव्यमा पु¥याउने सेवा दिने ‘एप टुटल’ नेपाली ब्रान्ड हो । टुटल एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, मोटरसाइकल विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत् फाराम भर्नुपर्छ, एपको प्रयोगकर्ताले उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सकछन् । यो सुविधा लिएबापत यात्रुुले कम्तीमा तीन किलोमिटरसम्मको ६० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटरमा १८ रुपैयाँको दरले शुल्क तिर्नुपर्छ । टुटलका सेवाग्राहीले ई–सेवा र क्यास दुवै तरिकाले भाडा तिर्न सक्छन् । टुटल राइडर बनेर धेरैले आफ्नो घरखर्च चलाएका छन् । त्यसैले सरकारले उद्यमशीलतालाई प्राथमिकता दिनुपर्दछ । राम्रो काम गर्दा अवैध भन्नु कत्तिको न्यायोचित हो ? सरकारले प्रविधिको मर्मलाई बुझेर त्यसअनुरूप नीति र नियम ल्याउनु पर्दछ ।
मोटरसाइकल आफैँमा असुरक्षित सवारी हो, टुटल एपले असुरक्षित बनाएको होइन । जोखिम हो भने बाइक नै प्रतिबन्ध गर्नुपर्ने हो । टुटल मात्रै किन ? बस्न्यातले भने, ‘हामीसँग आबद्ध बाइकको तेस्रो पक्ष बिमा हुन्छ, त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ । हामीसँग कुन बाइकले कहाँ यात्रु चढायो–ओराल्यो ? सबै अनलाइन ट्रयाकिङ गरेर जानकारी लिइरहेका हुन्छौँ । हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाउन् भन्ने हो । एपमार्फत् मोटरसाइकल र स्कुटर थाइल्यान्ड, बंगलादेश, अफ्रिकाजस्ता धेरै देशले यो सेवा विस्तार गरिसकेका छन् । हरेक दिन सयौँका हाराहारीमा दृष्टिविहीनले यो सेवा लिइरहेका छन्, काठमाडौंको भीडमा दृष्टिविहीनलाई एक ठाउँबाट अर्को ठाउँमा जान गाह्रो छ, टुटलले उनीहरूलाई सहयोग गरेको छ ।’
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पुरन तामाङले भने, ‘टुटल’ र ‘पठाओ’ यातायात क्षेत्रमा समाधान होइनन् । उनीहरूले यात्रुमैत्री सेवा दिन होइन, व्यापार गर्न खोजिरहेका छन् । सरकार र हामी कसैसँग समन्वय नगरी यस्तो व्यवसाय सुरु गर्नु गलत हो । यो सेवा होइन, चोर बाटोबाट पैसा कमाउने धन्दा हो । कर छल्नका लागि लुकेर चोर बाटोबाट आएका हुन् । टुटल र पठाओले नेपालको कानुनलाई चुनौती दिएका छन् ।’ यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, ‘टुटल’ र ‘पठाओ’ ले सरासर अवैधानिक काम गरिरहेका छन् । अनुमति लिएर, नीति बनाएर, कानुुनलाई आत्मसात गरेर मात्र अगाडि बढ्नुपर्दछ ।
बिमा, नम्बर प्लेट, चालकको परिचयपत्र, यात्रुको सुरक्षाजस्ता धेरै कुरामा समस्या र चुनौती छन् ।’ सन् २०१६ को अन्त्यमा प्रकाश न्यौपाने र रवि सिंघलले ‘सारथी’ नामक संस्था दर्ता गरी सन् २०१७ को अगस्टमा कम्पनी सुरु गरी अहिले सयौँ ट्याक्सी जोडिएको कुरा बताउँदै भन्छन्– ‘फोनबाट बुक हुनेद मात्रै होइन, सारथीका ट्याक्सी खाली हुँदा जो–सुकैले पनि रोकेर चढ्न पाउँछन् । त्यसरी चढ्दा पनि मिटरमै उठेको बिल तिरेर यात्रा गर्न पाइन्छ ।’ बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहुको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकहरू गुनासो गर्दछन् । सारथीमा काम गरेपछि कमाइको चिन्ता गर्नुपर्दैन । सारथीका चालकले जति मेहनत गर्छन्, उति नै बढी पैसा कमाउँछन् ।
राइड सेयरिङ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने आन्तरिक राजस्व कार्यालय ललितपुरले कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि जरिवाना र व्याजसहित कर निर्धारण गरेको छ भने ‘पठाओ’ ले कर छली गरेको आशंकामा छानबिन गरिरहेको बताइन्छ । राजस्व स्रोतले भनेको छ, ‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो । सबैभन्दा बढी भ्याट शीर्षकमा कर निर्धारण भएको छ । टुटललाई सूचना दिएर सुनवाइको मौका दिई कर निर्धारण गरिएको हो । सेवाग्राहीसँग सेवा शुल्क भने पहिलेकै दरमा लिइरह्यो, तर सरकारी ढुकुटीमा दाखिला गरेन, उसको कारोबारका सबै विवरण हेरेर कर निर्धारण गरेका हौँ ।’
‘पठाओ र टुटल’ ले गर्दा न डिग्री, न अनुभव चाहिन्छ, ड्राइभिङ लाइसेन्स भए पुग्यो, मेहनत गर्ने हो भने साउदी, कतार गएर कमाउने पैसा यहीं कमाउन सकिन्छ । यसले गर्दा छिटो–छरितो समयमा भनेको ठाउँमा पु¥याइदिने माध्यम बनेको छ । ट्याक्सीभन्दा कम मूल्यमा जान पाइन्छ । किलोमिटरअनुसार भाडा लिने भएकाले सस्तो पनि छ । यस्ता प्रविधिले ट्याक्सी चालकहरूले लिने गरेको मनपरी भाडालाई मज्जाले च्यालेन्ज गरेको छ । गाडीहरू नजाने ठाउँमा समेत यसको प्रयोग गर्न सकिन्छ । न जामको चिन्ता, न सवारी साधन नपाइएला भन्ने पीर । युवा–युवतीहरूले सुरु गरेको इनोभेटिभ कामलाई प्रोत्साहन गर्नुपर्छ ।
प्रतिक्रिया