जल, जमिन, वायु, वनस्पती जस्ता प्राकृतीक श्रोतहरूको अनियन्त्रीत दुरूपयोग अर्थात सामाजिक जैविक आवस्यकता परिपुर्ती गर्ने प्राकृतिक क्षमता कमजोर हुनु नै पर्यावरणीय ह्रासको सूचना हो ।
प्रविधिको विकास, आर्थिक विकास र अत्याधिक जनसंख्या वृद्घिलाई धान्ने प्राकृतिक संसाधनको बढ्दो प्रयोगले पर्यावरणमा ह्रास आएको छ । अझै भन्ने हो भने विकासको नाममा भएको अत्यधिक वन विनास, हरित गृह ग्यासको उत्सर्जन, खनिज तेलको अत्याधिक प्रयोग र कार्बन उत्सर्जनको कारणले प्रदुषण वढेको हो । लगातार जनसंख्या वृद्धि अर्थात प्रतिव्यक्ती उपभोग दरमा वृध्दी हुँदै जाने र अर्कोतिर प्राकृतिक संसाधनहरू सकिँदै जाने कुराले कुनै दिन भएका संसाधन नै मानव समुदायको लागि अपुग हुने अवस्था आउन सक्छ ।
एकातिर ग्लोबल वार्मीङ र जलवायु परिवर्तनको कारणले हिमाल पग्लने, हिमताल फुट्ने, नदी सतह घट्ने, पानीका मूलहरू सुक्ने, वन जंगल मासिने, जिवजन्तुहरू लोप हुँदै जाने क्रम बढिरहेको छ भने अर्कोतिर सहरीकरण, औद्योगिकरण र विकासको नाममा पानीका श्रोत, मुहान, नदी, वायु, खोला प्रदुषित या दुर्गन्धित हुनेक्रम जारी छ । जस्ले नदिको पर्यावरणीय स्वरूप बिग्रँदै गइरहेको छ ।
नदीमा हुने फोहोर र अत्यधिक दोहनले जलचर नष्ट हुनुको साथै त्यसले नदीमा आश्रित समुदायको आयआर्जनमै असर पुग्छ । फोहोर र दोहनले नदीको गुणस्तर घटाउँछ र इकोसिस्टम नै बदलिन्छ । योजनाविहीन उपयोगकै कारण प्राकृतिक स्रोत साधनबाट देशले खासै लाभ पाउन सकेको छैन । संरक्षण र विकास सँगसँगै लैजान सके मात्र विकास दिगो हुन्छ भन्ने कुरा बुझन ढिला हुँदैछ
नदी र नदीभित्रको जलचर संकटापन्न अवस्थामा पुगेका छन् । नदि, पोखरी पानीको श्रोतको छेउछाउमा कागज, कपडा, चिनी, बिजुली, रसायन, रक्सी, क्रसर, स्यान्ड वासिङ आदी कारखानाहरू खुल्नु भनेको पानीको गुणस्तर र सम्पूर्ण जिवन तथा जलचरहरूमाथि खेलवाड गर्नु हो । खेतबारीमा जबदेखि रसायन र विषादि प्रयोग हुन थाल्यो तबदेखि पानी तथा खोलाको जीवन संकटमा पर्न थालेको छ । स्वच्छ जल, सरसफाइको कमी र तापक्रम वृद्घीले समाजमा रोगहरू बढिरहेका छन्, कृषि उत्पादनमा गम्भीर संकट पैदा भएको छ । दूषित पानीको कारणले वर्षेनी लाखौ मानिसहरू या त रोगी बनेका छन् या त मृत्युको शिकार बनेका छन् ।
संसारका प्रायः सबै सभ्यताहरू नदी किनारमै भएका छन् । नेपालमा त नदिलाई पुजनीय मानिन्छ । हरेक नदिको छेउछाउमा तिर्थस्थल हुनु, पानीलाई जल देवताको रूपमा स्वीकार गर्नु हरेक नेपालीहरूको परम्परा हो । आजभोलि नदी, ताल, झर्ना, वन, जंगल, महत्वपूर्ण मेला पर्वहरू पर्यटकीय आकर्षणको रूपमा पनि देखिन्छन् । जहाँ हरेक मानिसहरू रमाउन सक्छन् खुसी हुन सक्छन् । जनजीविकाको सवालमा पनि नदि तथा बगरहरू धेरै महत्वपूर्ण छन् । जहाँबाट खानेपानी, चरिचरण, निर्माण सामग्री, जन्म मृत्यु संस्कारका आवश्यकताहरू पूरा गर्न सकिन्छ ।
खानपान पनि पर्यावरण हो । हरेक मानिसले खाने खाद्यान्न तथा फलफूलमा प्राकृतिक गुण तथा विशेषता हुनुपर्छ । तर, खेती व्यवसायीक अर्थात नाफाको विषय बन्न थालेपछि कृषि उत्पादन रसायन या विषाक्त बन्दै गएको छ । आज हामीले खाने हर उत्पादनमा विष मिलान भएको छ । नखाई बाँच्न सकिन्न खाए विषबाहेक अरू केही भेटिन्न । जुन सुगर, प्रेसर, मस्तिष्कघात, हृदयघात, क्यान्सरजस्ता रोगहरूको मुख्य कारक बनेको छ । विश्व स्वास्थ्य संगठनले २०१८ मा प्रकाशित गरेको एक तथ्यांकअनुसार हरेक वर्ष मुटुसम्बन्धी रोगले १८ लाख, क्यान्सरले झन्डै १ करोड, मस्तिष्कघातले ७५ लाख, स्वासप्रश्वाससम्बन्धी रोगले झन्डै ६० लाख, दमले ४ लाख, मधुमेहले ४ लाख मानिसहरू मरेको तथ्यांक प्रस्तुत गरेको छ । यो भनेको निकै डरलाग्दो अवस्था हो ।
वागमती अञ्चलको रसुवा जिल्लामा पर्ने हिन्दूहरूको पवित्र तीर्थस्थलको रूपमा रहेको गोसाईँकुण्ड समुद्र सतहदेखि ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरूले घेरिएको यो ठाउँ अति नै सुन्दर र रमणिय छ । यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ । गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड‚ भैरवकुण्ड‚ सूर्यकुण्ड‚ गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरू रहेका छन् । नेवारहरू गोसाईँकुण्डलाइ शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पति यही गोसाईँकुण्डबाट भएको हो ।
विकासका नाममा त्रिशुली नदीको अस्तित्व नै संकटमा पार्न थालिएको छ । त्रिशुलीमा भइरहेको अवैध उत्खनन् र प्रदूषणले भावी पुस्ताको भविष्य जोखिममा परिरहेको छ । नदी उपयोगसम्बन्धी नीति र योजनाको अभावमा नदीको दोहन भइरहेको छ । नेपालका सबै नदीका आ–आफ्नै विशेषता छन् । जलयात्रा, विद्युत्, सिंचाइ र नदीजन्य वस्तु उत्खनन् गर्ने स्थानको टुंगो लगाएर योजनाबद्ध काम गर्नुपर्छ । नेपालमा करिब ६ हजार नदीनाला छन् । तर, नदीको ७ प्रतिशत पानी मात्र प्रयोगमा आएको छ । विद्युत् र सिंचाइबाहेक नदीबाट पर्यटन विकासको ठूलो सम्भावना छ ।
नदीमा हुने फोहोर र अत्यधिक दोहनले जलचर नष्ट हुनुको साथै त्यसले नदीमा आश्रित समुदायको आयआर्जनमै असर पुग्छ । फोहोर र दोहनले नदीको गुणस्तर घटाउँछ र इकोसिस्टम नै बदलिन्छ । योजनाविहीन उपयोगकै कारण प्राकृतिक स्रोत साधनबाट देशले खासै लाभ पाउन सकेको छैन । संरक्षण र विकास सँगसँगै लैजान सके मात्र विकास दिगो हुन्छ भन्ने कुरा बुझ्न ढिला हुँदैछ । नेपालका नदीहरूमा समुद्री सतहको ८० देखि २०० मीटर सम्म सिँचाइ, २०० देखि एक हजार २०० मिटरसम्म जीविकोपार्जन तथा पर्यटन र त्यसभन्दा माथि जलविद्युत् आयोजना सञ्चालन गर्न सकिने विज्ञहरू बताउँछन् । तर यहाँ त नदीको शोषण भइरहेको छ । नदी जोगाइराख्नुपर्छ भन्ने कुरा नीतिनिर्माताले नै नबुझेको जस्तो देखिन्छ ।
लेखक त्रिशुली बचाउ अभियानका पूर्वअध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया