धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नवित्दै सिरहामा फेरि एक महिलालाई जिउँदै जलाइयो । जिउँदै जलाइएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको उपचारका क्रममा मृत्यु भएको छ ।
वैशाख ५ गते पनि धनुषाको शहीदनगर नगरपालिका–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । पथरी कि रिना वस्नेतको रहस्यमय हत्याले स्थानीय र प्रहरीबीच झडप नै भयो ।
वैशाख ६ गते राती पथरीको प्रस्तावित रङ्गशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । पछिल्ला घटनाक्रम हुन यि ।
यस्तै ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत, ६ वर्षीया बालिका बलात्कृत, बालिका बलात्कार प्रयास गर्ने वृद्ध पक्राउ, छात्रामाथि शिक्षकको यौनदुव्र्यवहार, ८ वर्षीया बालिका मृत फेला–बलात्कारपछि हत्याको शङ्का, सामूहिक बलात्कारको सिकार भएकी किशोरीको मृत्यु । यस्ता शीर्षकमा अहिले दिनहुँजसो विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा समाचार आइरहेका छन् । हामी कस्तो समाजमा बाँचिरहेका छौं ? पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका बलात्कार, हत्यालगायतका घटनाले स्तब्ध बनाएको छ ।
गैरसरकारी संस्था ओरेकको एक तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा बलात्कारका २ सय ८८ घटना प्रकाशमा आए, जसमा १४ जनाको बलात्कारपछि हत्या भयो । मुलुकका विभिन्न ठाउँमा घटेका यस्ता घटनामा अबोध बालिकादेखि वृद्धासमेत परेका छन् ।
समाजशास्त्रीय तथा मानव शास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रुपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरुलाई महिला हिंसा भनिन्छ ।
परिवारमा हुने मानसिक शारिरिक वा यौन हिंसाहरु, बालिका वा गृहिणीहरुको यौन शोषण, दाइजोसँग सम्बन्धित हिंसा, बलात्कार, कुटपिट, यौनमा चोटपटक लगाउने कार्य र कुनै पनि खालका हिंसा सम्बन्धी शोषण, समाज भित्रहुने शारिरिक, मानसिक र यौन हिंसाहरु (बलात्कार, यौन शोषण, महिला बेचबिखन बहुविवाह, जवर्जस्ती, व्यापारिक यौन व्यवहार) राज्यले निषेध गरेको कुनै पनि खालको शारीरिक, मानसिक एवम् यौन हिंसाहरु पर्दछन् ।
पछिल्लो समयमा महिला अधिकार हननका अपराध मामिलामा वृद्धिसँगै एउटा कुरा के पुष्टि गर्दछ भने अब समाजमा प्रेम सद्भावको ठाउँ बिस्तारै क्रुरताले लिँदैछ वा भनौं समाज क्रुर हुँदैछ । महिला हिंसा सामाजिक अपराध हो, यसका विरुद्ध समाजलाई जागरुक बनाउन जरुरी भएको छ अब । यदि समाज जागरुक भयो भने समाजमा देखा परेका विभिन्न विकृतिहरु जस्तै बोक्सी, छुवाछुत, बलात्कारका, दाइजो पिडितलगायतका घटनाहरु स्वयम् निराकरण हुनेछन् ।
केही पुरुषहरुबाट महिला हिंसाका घटनाहरु हुने गरे पनि यसको अर्को पाटो भनेको समाजमा देखिएका अधिकांस घटनामा महिला हिसांलाई बढावा दिनेमा सबैभन्दा बढी महिला नै रहेको देखिन्छ । बुहारीको घरबाट चाहे जतिको दाइजो भित्रिन सकेको छैन भने सासूले नै परिवारमा सबैभन्दा बढी रडाको मच्चाउने गर्छिन् र फलस्वरुप बुहारीको अवस्था हत्या वा आत्महत्यातिर अग्रसर हुने गर्छ । त्यस्तै महिलालाई यौन व्यापारमा लगाउनेहरु पनि महिला नै देखिनुले यसतर्फ सोच्ने बेला आएको छ । यदि महिला हिसांलाई निर्मूल पार्नु छ भने महिला नै पहिला अग्रसर हुनुपर्छ र पुरुष प्रधान समाजमा पनि समानहकका निम्ति पुरुषहरुले पनि सकारात्मक सोचले सहयोग गर्नु पर्दछ ।
आफन्त, बिरामी, अपाङ्गता भएका, गर्भवती, दूधे शिशुदेखि हजुरआमासम्म यो अपराधको सिकार भएका छन् । बलात्कारपछि हत्या गरिएको छ । बलात्कारीको कसुरबाट बच्न पीडितकै हत्या गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ । यस्तो क्रुर पासविक व्यवहारले हाम्रो समाज कतातर्फ जाँदैछ भन्ने कुरा सोच्ने बेला आएको छ । समाज किन यसरी क्रुर हुँदैछ ? महिला, बालबलिकाहरुले यो समाजबाट कहिलेसम्म तिरस्कृत भइरहनुपर्ने हो ? जसलाई जन्मदियो, त्यहीबाट आज असुरक्षित छन् महिलाहरु ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको यति लामो अवधि भइसक्दा पनि पिडितले अझै न्याय पाएका छैनन् ।
हामीकहाँ महिलालाई पराधिन तथा दोस्रो दर्जाको नागरिकका रुपमा हेरिन्छ । विभिन्न प्रकारका हिंसाबाट अहिले पनि महिलाहरु प्रताडित छन् । राज्य, परिवार तथा समाजबाट महिलाहरुमाथि दोहोरो प्रकारको विभेद, हिंसा थोपरिएको छ । आफ्नै परिवारका सदस्य इष्टमित्र र कानुनका रखवालाहरुबाट नै अपमानित, कुटपिट, बेचविखन, हत्या, घरनिकालाजस्ता हिंसात्मक दुव्र्यवहारहरु प्रशस्त मात्रामा हुने गरेको हरेक दिनजसो पढ्न र सुन्न पाइन्छ भने बलात्कार, हत्या, अपहरण, सार्वजनिकरुपमा बेइज्जतीजस्ता हिंसात्मक घटना पनि बढ्दो रुपमा छन् । केही घटनाहरु बाहिर आए पनि जति घटनाहरु समाजमा घट्छन् त्यसको तुलनामा कमै मात्र बाहिर आउने गरेका छन् ।
आफूमाथि भएका जघन्य अपराधहरुलाई किन महिलाहरुले उठाउन सक्दैनन् ? अपराधलाई किन ढाकछोप गरिन्छ ? किन चुपचाप सहिरन्छन् महिलाहरु ? जबसम्म यसको कारण खोजेर उपचारमा लागिँदैन, तबसम्म महिलाहिंसाका घटनामा कमी आउँदैन । पहिलो कुरा त हाम्रो समाजमा छोराछोरीमा मानसिकरुपमा नै विभेद गरिन्छ ।
दोस्रो कुरा, छोरासरह अहिले पनि छोरीलाई शिक्षा–दीक्षा दिइँदैन । तेस्रो, केही शिक्षित भए पनि सचेत छैनन् । आर्थिकरुपमा पुरूषमा निर्भर बनाइएको छ । अन्यायविरूद्धको आवज उठाउन केहीले साहस गरे पनि अदालतको लामो, झन्झटिलो, जटिल र खर्चिलो कार्यप्रणालीका कारण पनि न्याय पाउने सम्भावनाबाट टाढा पु¥याइन्छ र सामाजिक अपहेलनाको सिकार बनाइन्छ, जसका कारण महिलाहरु आफूमाथि हुने हिंसालाई चुपचाप सहेर बस्न बाध्य छन् ।
न्याय दिने निकायले नै न्यायको सट्टा निरूत्साहित पार्ने गरेको धेरै उदाहरणहरु देख्न र सुन्न पाइन्छ । कानुनी तथा प्रशासनिक जटिलताको फाइदा उठाएर पीडकको पक्ष लिने र पीडितलाई थप पीडा दिने काम राज्यले नै गरेको देखिन्छ । बलात्कारका घटनाविरूद्धका मुद्दा अपवादबाहेक बिना जनदबाव प्रहरीले दर्ता नै गर्ने गरेको पाइँदैन । कुनै घटनामा त प्रहरी नै संलग्न भएको पाइन्छ ।
त्यस्तै, घर–परिवार, स्कुल कहीँ पनि छोरीहरु सुरक्षित छैनन् । कहाँ लगेर बचाऔं छोरीहरु लाई ? समाज किन यसरी क्रुर हुँदैछ ? महिला, बालबालिकाहरुले यो समाजबाट कहिलेसम्म तिरस्कृत भइरहनुपर्ने हो ? घर, परिवार र समाजबाट महिलामाथि विभिन्न प्रकारका हिंसाका विरूद्ध न्यायका लागि सरकारी निकायमा पुग्दा राज्य संरचनाद्वारा समेत हिंसा थोपर्ने काम गरिन्छ । महिलाहिंसाका घटनाहरु ह्वात्तै बढेका छन् ।
सामूहिक बलात्कारदेखि हत्यासम्मका गम्भीर प्रकृतिका घटनाले महिला तथा बालबालिकाहरु असुरक्षित रहेको पुष्टि गर्दछ । यस्ता घटनामा धेरैजसो आफन्त, छिमेकी, सामान्य चिनजानका मानिस तथा परिवारकै सदस्यहरुको सङ्लग्नता भएको पाइन्छ । यसले के देखाउँछ भने जसको भर गर्नुपर्ने हो, तिनैबाट असुरक्षित हुँदै गइरहेका छन् । महिला तथा बालबालिकाहरु आफ्नै घरभित्र पनि सुरक्षित छैनन् ।
पछिल्लो समय सञ्चारमाध्यमको विकाससँगै महिलामाथि भएका हिंसात्मक कार्यहरु केही मात्रामा बढी सार्वजनिक हुने गरेका छन् । यसको अर्को कारण भनेको शिक्षा र अधिकारकर्मीहरुको उपस्थिति बढ्नु पनि हो । पछिल्लो समयमा घटेका घटनाहरु यिनै कारणले सार्वजनिक भएका हुन् ।
बलात्कारका घटना बढेसँगै विभिन्न क्षेत्रबाट यसको व्यापक विरोध पनि भइरहेको छ । आखिर एउटा सचेत नागरिकका लागि यस्ता घटनाले पिरोल्छ नै ।
सामाजिक नियम–कानुन भनेको त पुरूष–महिलाहरुलाई बराबर हुनुपर्ने हो । तर, हामीकहाँ त पुरूषले अनुशासनको पालना नगरे पनि हुन्छ, पुरूष कुनै प्रकारको नैतिकताको बन्धनमा नबाँधिए पनि हुन्छ भन्ने जस्तो देखिन्छ । उनीहरुलाई समाजमा स्वतन्त्र छाडिएको पाइन्छ भने महिलाहरुलाई अनेक बन्धनले बाधिन्छ । यसको आशय महिलाहरुलाई कुनै नियम लगाउनु हुँदैन भन्ने होइन तर नियम भनेको त सबैलाई बराबर लागू गर्नुपर्ने होइन र ? सामाजिक मर्यादा सद्भाव राख्नुपर्छ तर महिलामाथि विभिन्न बहानामा गरिने हिंसाको अन्त्य गरिनुपर्छ ।
यसका लागि सबैभन्दा बढी सचेत, अग्रसर महिलाहरु नै हुनुपर्दछ भने पुरूषको साथ सहयोग त्यत्तिकै जरूरी पर्दछ । महिला र पुरूषबीच फरक मापदण्ड बनाएर महिलाहरुलाई भेदभाव गर्ने जुन प्रचलन छ, यो गलत छ । महिलामाथिको हिंसा न्यूनीकरण गर्न महिला र पुरूषका बीच समान खालको अनुशासनको मापदण्ड बनाउन जरूरी छ ।
गलत कार्यलाई पुरूष भएकै कारण छुट पाउने महिला भएकै कारण दण्डित हुने चलनको अन्त्य हुनुपर्छ । चाहे पुरूष होस् चाहे महिला होस् गलत कार्यको समान दण्ड सजायको भागिदारी बनाउनुपर्दछ । मुलुकी अपराध (संहिता) ऐनमा जबरजस्ती करणी गरी ज्यान मारेको अपराधमा जन्मकैदको व्यवस्था छ । यो अपराधमा उमेर समूहअनुसार फरक–फरक सजायको प्रावधान छ । तर, यस्ता घटना न्यूनीकरण हुनुको साटो बढ्दो छन् । निष्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म कानुन जति कडा बनाए पनि यसको अर्थ छैन ।
हामी २१औं शताब्दीका कुरा गरिरहँदा आज पनि महिलाहरु सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक–हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरुको स्थितिमा तात्विक अन्तर आउन सकेको देखिँदैन । दोषीलाई कारवाहीको भागी गराउन बहस र छलफल तथा दबाव सिर्जना गर्नु आवश्यक छ ।
प्रतिक्रिया