श्रीलंका विस्फोटः आइएसले लियो जिम्मेवारी

कोलम्बो । श्रीलंकामा राष्ट्रिय शोकका माझ आइतबारको बम हमलामा ज्यान गुमाएकाहरूको सामूहिक रूपमा अन्तिम संस्कार गरिएको छ । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा मारिनेको संख्या ३ सय २१ पुगेको र झन्डै पाँच सय जना घाइते भएका प्रहरीले जनाएको छ ।

थप हमलाहरू हुनबाट रोक्न घोषणा गरिएको आपतकालीन अवस्था जारी नै रहेको छ । मंगलबार इस्लामिक स्टेट समूहले उसको समाचार निकायमार्फत उक्त आक्रमणको जिम्मेवारी दाबी गरेको छ । श्रीलंकाली सरकारले ती विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्यासनल तौहिद जमातलाई दोषी ठह¥याएको छ । उक्त हमलाको सम्बन्धमा प्रहरीले हालसम्म ४० जना सन्दिग्धहरूलाई गिरफ्तार गरेको छ ।

एकजना प्रवक्ताले गिरफ्तारीमा परेकाहरूमा एकजना सिरियाली नागरिक पनि छन् जसलाई ‘स्थानीय सन्दिग्धहरूलाई केरकार गरेपछि’ पक्राउ गरिएको थियो । हताहत भएका मध्ये कम्तीमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ । आइतबारका घटनाहरूपछि देशभरि राति कर्फ्यु लगाइएको थियो । सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा राखिएको विस्फोटक पदार्थ फेला पारेका थिए ।

त्यसपछि थप आक्रमण नहोस् भनेर सरकारले संकटकाल लगाउने निर्णय ग¥यो । सोमबार मध्यरातदेखि संकटकाल लागू भएपछि सुरक्षाकर्मीहरूले विशेष अधिकार पाएका छन् । सङ्कटकालको अवधिमा सुरक्षा निकायका अधिकारीहरूले अदालतको आदेशबिनै शंकास्पद व्यक्तिहरूमाथि छानबिन गर्न सक्नेछन् । देश शोकमग्न हुँदा श्रीलंकाको उच्च नेतृत्वमा भने केही विवाद देखिएको छ । सोमबार श्रीलंकामा आक्रमण हुन सक्ने चेतावनी सुरक्षा निकायलाई पहिला नै प्राप्त भएको विवरण सार्वजनिक भयो ।

त्यसपछि, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री रनिल बिक्रमसिंघेलाई त्यसको जानकारी नदिइएको मन्त्रीहरूले बताए । श्रीलंका सरकारका एक प्रवक्ताका अनुसार सरकारभित्र बढ्दो विवादका कारण गुप्तचर सूचनाबारे जानकारी दिइने बैठकमा लामो समयदेखि प्रधानमन्त्रीलाई नै सहभागी गराइएको छैन । गतवर्ष अक्टोबरमा राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल बिक्रमसिंघेलाई पदमुक्त गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको थियो । तर, सर्वोच्च अदालतले बिक्रमसिंघेलाई पुनस्र्थापित गरिदियो ।

त्यसयता राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी बैठकहरूमा सहभागी गराउने गरेका छैनन् । सरकारका प्रवक्ता राजित सेनारत्नेका अनुसार गुप्तचर निकायहरूले आइतबारको आक्रमण गराउने जिहादी समूहबारे एप्रिल ४ देखि नै चेतावनी दिँदै आएका थिए । त्यसमा आधारित भएर रक्षा मन्त्रालयले प्रहरी प्रमुखलाई जानकारी गराएको थियो ।

उनका अनुसार विदेशी गुप्तचर निकायले न्यासनल तौहिद जमात नामक अतिवादी समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । अमेरिकी सञ्चार माध्यमहरूले श्रीलंकाका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र भारतले सम्भावित घटनाबारे चेतावनी दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया