ओली, प्रचण्ड र नेपालबीच त्रिपक्षीय शक्ति संघर्ष

नेकपाको विधानको व्यवस्थाअनुसार पार्टीका सम्पूर्ण कमिटी फर्मेसन भइसक्दा उसका झण्डै चार लाख नेता–कार्यकर्ताले प्रत्यक्ष पार्टी कमिटीको जिम्मेवारी पाउँथे । तर, अहिले हिस्स बुढी, किच्च दाँत भएर रहेका छन् । नेकपाभित्र केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच त्रिपक्षीय शक्ति संघर्ष चलिरहेको छ । नेकपाले दुई वर्षमा महाधिवेशन गर्ने सहमतिअनुसार पार्टी एकता गरेको थियो । त्यसबीचमा झण्डै एक वर्ष बित्न लाग्दा पनि बोलीको वचनबद्धता देखाउने हो भने अर्को वर्षसम्म पार्टी महाधिवेशन गरेर जोर पाइलटबाट एउटै पाइलटको नेतृत्व खोज्नुपर्नेछ 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले ७० औं पार्टी स्थापना दिवसको अवसर पारेर सोमबार ७७ जिल्लाका अध्यक्ष र सचिवहरूको नाम घोषणा गरेको छ । जसअनुसार केपी ओली पक्षमा २५ अध्यक्ष, ८ सचिव, माधवकुमार नेपाल पक्षमा १५ अध्यक्ष, २२ सचिव, पूर्वमाओवादी पक्षमा ३३ अध्यक्ष, ४४ सचिव, तटस्थमा ४ अध्यक्ष, ३ सचिव रहेका छन् । ११ महीना अघि जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टी एकता गर्दा नै जिल्ला तहको कमिटीसहितका सम्पूर्ण तहको एकता प्रक्रिया तीन महिनाभित्र सिध्याइसक्ने कार्य योजना थियो । तर, पनि पार्टी एकता भएकै ११ महिना बितिसक्दा यो निर्णय भएको हो ।

नेकपाको विधानको व्यवस्थाअनुसार पार्टीका सम्पूर्ण कमिटी फर्मेशन भइसक्दा उसका झण्डै चार लाख नेता–कार्यकर्ताले प्रत्यक्ष पार्टी कमिटीको जिम्मेवारी पाउँथे । तर, अहिले हिस्स बूढी, किच्च दाँत भएर रहेका छन् । नेकपाभित्र केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच त्रिपक्षीय शक्ति संघर्ष चलिरहेको छ । नेकपाले दुई वर्षमा महाधिवेशन गर्ने सहमतिअनुसार पार्टी एकता गरेको थियो । त्यसबीचमा झण्डै एक वर्ष बित्न लाग्दा पनि बोलीको वचनबद्धता देखाउने हो भने अर्को वर्षसम्म पार्टी महाधिवेशन गरेर जोर पाइलटबाट एउटै पाइलटको नेतृत्व खोज्नु पर्नेछ । के महाधिवेशन गरेर यो सम्भावनालाई टार्न सक्ला ? यसै भन्न नसकिने स्थिति आइरहेको छ ।

नेकपा एकतामा विलम्ब किन भइरहेको छ ? शीर्ष नेताहरूलाई एकता प्रक्रिया टुंग्याउन किन सकस परिरहेको छ ? नेकपाकै स्थायी समिति सदस्य गणेश शाहले भने, ‘पाँच वर्षे स्थायी सरकारमा आधा समय ओली र आधा समय प्रचण्डजीले नेतृत्व गर्ने सहमति पार्टी एकीकरणअगाडि नै पूर्वशर्त थियो । सत्तामा साझेदारी गर्ने गरी प्रधानमन्त्री फिप्टी–फिप्टीमा भित्री सहमति गरियो । अर्कोतर्फ पार्टीमा पावर सेयरिङका आधारमा केही सहमति भएको थियो । सरकारको विषयमा भएको सहमतिको बूँदा पनि कार्यान्वयन होला–नहोला भन्ने आशंका छ । अर्कोतिर पार्टीमा पनि सबैले सेयर खोज्न थालेको अवस्था देखिन पुगेको छ । पार्टीको सत्ता भन्नाले केन्द्रीय समिति, विभाग, जनवर्गीय संगठनलगायतका पार्टी संरचनामा अहिलेसम्म वर्क आउट हुन नसकेपछि समस्या देखिएको हो । त्यसभित्र पनि विविधखालका समस्या छन् ।

नेकपाको महाधिवेशन नेतृत्वका लागि ओलीजीले अब आफू अगाडि नबढ्ने भनेर बोलिनसकेको स्थिति छ, प्रचण्डजीमा पार्टी महाधिवेशनबाट अध्यक्ष हुने आकांक्षा छ । माधव नेपालले आशंका गर्दै कहाँ सहमति हुन सक्छ ? भन्नु भएको छ । नेताहरूको एकता प्रक्रियाभित्रका कमिटी गठन महाधिवेशन लक्षित हो कि भन्न सकिन्छ । तीन नेता र तिनलाई चलाउने गूटको स्वार्थकेन्द्रित राजनीतिले नेकपामा घर गरिरहेको छ । पार्टी एकताको छोटै समयमा पार्टीमा देखिन थालेको यो गुटबन्दी, नेताहरूकै स्वार्थकेन्द्रीत राजनीति हावी हुन थालेपछि नेता–कार्यकर्तामा निराशा आउँछ । राजनीतिप्रति वितृष्णा र अनिच्छा पैदा गराउन सक्छ । त्यस्तो अवस्थामा फेरि साना वाम राजनीतिक पार्टीले पनि आफू मौलाउने मौका पाउन सक्छन् ।’

पार्टी एकताको चार महिनासम्म नेकपाभित्र नेताहरूका असन्तुष्टि पोखिएका थिएनन् । भिन्न ‘स्कुलिङ’ बाट आएका दुई ठूला कम्युनिस्ट पार्टीका बीचमा भएको एकताले नेता–कार्यकर्तामा खुशियाली नै थियो । तर, वरिष्ठ नेता झलनाथ खनालले मर्यादाक्रममा आफूलाई पछाडि पारेको भन्नेबाहेक असन्तुष्टि पोखेका थिएनन् । असोज ५ मा आफ्नो अनुपस्थितिमा सचिवालयले गरेको प्रदेश पदाधिकारी चयनको निर्णयमा महासचिवमार्फत् असहमति पत्र दर्ता गराउनेदेखि स्थायी समिति सदस्यहरूका लागि चियापान कार्यक्रम र ओली–प्रचण्ड देशबाहिर रहेका वेला माधवकुमार नेपालले संसद्मा देश डुब्न लागेको र किनारा लगाउने माझी छ–छैन ? भन्दै चर्को आलोचना गरे ।

त्यसपछि नै हो, नेकपामा सुरु भएको नेताहरूका बीचमै आरोप–प्रत्यारोप । यसरी हेर्दा स्थायी समितिमा देखिने समीकरणमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, किरण गुरुङ्ग र मुकुन्द न्यौपाने पर्दछन् भने माधवकुमार पक्षबाट भीम रावल, वामदेव गौतम, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भूसाल, वेदुराम भूसाल र भीम आचार्य पर्दछन् । त्यसैगरी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा छन्, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, मणि थापा, मातृका यादव, लीलामणि पोखरेल, लेखराज भट्ट, अग्नि सापकोटा, गणेश शाह, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, टोपबहादुर रायमाझी, देव गुरुङ्ग, देवेन्द्र पौडेल र पम्फा भुसाल ।

माओवादीभित्र भने तत्कालीन पार्टीभित्रको आन्तरिक भागबण्डामा विवाद देखिएको छैन । ७७ जिल्लामध्ये एकताका क्रममा तत्कालीन एमालेलाई ४५, माओवादी पक्षलाई ३२ जिल्लाको नेतृत्व बाँडफाँड गर्ने सहमति भए पनि नेतृत्व कसले गर्ने भन्नेमा देखिएको विवादभित्र आगामी महाधिवेशनलक्षित वर्चस्वको टकराव मुखरित हुने गरेको छ । एक स्थायी सदस्यले भने– ‘केन्द्रको एकतासम्म माओवादी र एमाले भागवण्डा थियो । तर, त्यसभन्दा तल्ला कमिटीको एकतामा आएपछि भने यी दुई पक्षको भागबण्डा त छँदै थियो, साथमा थपिएको छ, कुन गुटका कति ? त्यसकै रिहर्सल अहिले मुख्य तीन नेताहरू ओली, प्रचण्ड र नेपालले गरिरहेका छन् ।’

ओलीनिकट स्थायी सदस्य सत्यनारायण मण्डलले भने– ‘पार्टीभित्र तथाकथित् गूटहरू निर्माण गर्ने काम हुँदै आएको छ । संस्थापनको कुरा नमानेर आफैँले भनेको मात्र हुनुपर्छ भन्ने योजनामा माधव नेपाल पक्ष लाग्न खोज्नुभएको छ । सधैं त्यसरी पार्टी चल्दैन ।’ वरिष्ठ नेता नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने– ‘पार्टी एकताको काम गर्दा निश्चित विधि बनाएर गर्नुपर्छ । हुबहु सिद्धान्त विधिमा पास गर्नुपर्छ र त्यही आधारमा एकता टुंग्याउनु पर्छ । मनपरी मान्छे ओलीपक्षले टिपेर जिम्मेवारी दिन खोज्नुभएको छ । त्यसो गर्नुहुँदैन भन्ने माधव नेपालसहितका नेताहरूका कुरा हुन् ।’

तल्लो तहको एकता, पोलिटव्युरो गठन, केन्द्रीय सदस्यहरूकै कार्य विभाजन, केन्द्रीय विभागहरूको गठन, जनसंगठनहरूको एकतामा नेताहरूबीच देखापर्न थालेको प्रतिस्पर्धा, पार्टीभित्रका केन्द्रीकरण, कमिटीहरूको फर्मेशन, राजनीतिक दस्तावेज निर्माणलगायतका विषयमा छलफल गर्न अबको एक वर्ष समयको हिसाबले अपर्याप्त देखिए पनि महाधिवेशनलक्षित दबाब भने नेकपामा बढ्ने नै देखिन्छ ।

पार्टी नेतृत्वका लागि ओली मौन छन् भने प्रचण्ड भने पार्टी एकता गर्दै भावी अध्यक्षको दाबी गर्दै भनेका छन्, ‘लिडरसीप र लाइनको विषयमा आधारभूत सहमति बनाएरै पार्टी एकता गरिएको छ । आउने महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरी भोटिङ गरेरभन्दा समझदारीमा नेतृत्व चयन गर्ने भन्ने एकताको आधार छ ।’ तर, माधव नेपालले पार्टीभित्र लिइरहेको अडान आगामी महाधिवेशनबाट पार्टी र सरकार दुवैमा कब्जा जमाउने सुरमा रहे पनि ईश्वर पोखरेल, झलनाथ खनाल र वामदेव गौतम पनि आंकाक्षी छन् । रडाको मच्चाउन यिनीहरू पनि लाग्दैनन् भन्न सकिन्न ।

प्रतिक्रिया