वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौं । वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासिकको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैत मसान्तस्म्म एक अर्ब ६ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै, माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर एक अर्ब २४ करोड ८ लाख १८ हजार ३ सय २९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ८५ करोड ४० लाख ५२ हजार १ सय २१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ दशमलव ९८ प्रतिशतले वृद्धि भई दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८ सय ५६ पुगेकोे छ । आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पुँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप संकलन गरेको छ । यस्तै, बैंकले ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ । विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा शून्य दशमलव ४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा शून्य दशमलव ३५ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ भने १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया