कम्युनिस्ट सरकारबाट आमजनता निराश

सरकार बनेको लगभग डेढ वर्ष भयो, मुलुकका समस्या ज्यूँका त्यूँ छन् । समस्याको समाधान गर्ने कुरामा सरकार त्यति गम्भिर भएको देखिँदैन । सुशासन, आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न सरकारले सकिरहेको छैन । जनताहरू गाँस, बास, शिक्षा, स्वास्थ्य, र रोजगारी जस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । अनि यो वर्तमान कम्युनिस्ट सरकारबाट आमजनता कसरी खुशी हुने ?

अहिले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ । जनताले त्यसको अनुभूति भने खासै गर्न पाइरहेका छैनन् । जनताको चुलोमा लोकतन्त्र पुग्न सकिरहेको छैन । जुन विपन्न वर्ग छन्, तिनिहरूको चुलोमा लोकतन्त्र पुग्नु पर्छ । अहिले देशमा गरिबी निवारण हुन सकिरहेको छैन । देशका धेरै जनता गरीब र विपन्न छन् । वर्तमान सरकारले काम भन्दा कुरा धेरै गर्ने गरेको धेरै जनताको बुझाई छ ।

वास्तवमा लोकतन्त्रलाई राजनीतिक दल र तिनका नेता, कार्यकर्ता र सुकिला मुकिलाहरूले उपयोग गरिरहेको आम जन गुनासो छ । लोकतान्त्रिक शासन व्यवस्थामा मुलुक वन्नु पर्ने हो, किन वन्न सकेन ? यो मुलुक वनाउन कसले छेकेको छ र रोकेको छ ? यो आमजनताको प्रश्न हो । देशको विकास गर्न प्रस्ट मार्ग चित्र खोइ ? अहिले पनि राज्य, प्रशासनतन्त्र र नीति निर्मातासँग पुरानो चिन्तन हावी छ । जबसम्म यो चिन्तन हावी हुन्छ, तव सम्म देशको विकास हुन सक्दैन । मुलुकमा थुप्रै राजनीतिक उतारचढाव भए । राजनीतिक दल र तिनका नेता, कार्यकर्ता मोटाए तर जनता मोटाउन सकेनन् ।

देशमा उत्पादनमुखी विकास हुन सकेन महंगीले आकाश छोयो । शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गरिएको छ । पैसा हुनेले मात्र पढने र उपचार पाउने अवस्था आएको छ । गरिब जनता सधै मर्कामा परिरहेका छन् । हिजो पनि मर्कामा नै थिए, आज पनि मर्कामा नै छन् । देशमा बेरोजगारी बढ्दै गएको छ, युवाहरू विदेश पलायन छन् । देशमा उत्पादन घट्दै गएको छ । भन्न खोजेको कुरा के हो भने लोकतान्त्रिक शासन व्यवस्था नेताहरूका लागी फलिफाप भयो । आम नागरिकका लागी कागलाई वेल पाक्यो हर्ष र विस्मातझै भएको अनुमान गर्न सकिन्छ । अहिले जनता खुशी छैनन् । जनतामा ठूलो निराशा छ ।

शिक्षा, स्वास्थ्यजस्ता चिज सर्वसाधरण जनताको पहुँजमा छैन । सरकारले देशमा सुशासन कायम गर्ने भन्दै आएको छ, तर चरम आर्थिक अनियमिता हुने गरेका समाचारहरू दिनहुँ जसो आइरहेका छन् । भ्रष्टाचारका जरा केन्द्रदेखी स्थानीय तहसम्म झाँगिदै गएको छ ।

सर्वसाधरण जनताको जीवन कस्टकर वन्दै गएको छ । यो वारेमा सरकारको ध्यान गएको छैन । पहाडका खेती हुने जग्गाहरू वाँझिदै गएका छन् । उत्पादनमुखी गाउँका खेत, बारी वाँझो हुँदा देशको विकास कसरी हुन्छ ? हाम्रो देश कृषि प्रधान हो भन्दै आएका छौँ, तर हामी कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । अझै पनि नेपालमा गरिवीको रेखा मुनि वाँच्न धेरै वाध्य छन् । जनताको जीवन स्तरमा कुनै प्रगति हुन सकिरहेको छैन । गरिव वर्गको नाममा धेरै राजनीति भयो, उनिहरूको नाममा राजनीति गर्नेहरूले धन सम्पति धेरै जोडे तर गरिव जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ ।

राजनीतिक दल र तिनका नेताहरूले आमनागरिकलाई भ्रममा पारेर आफ्नो दुनो सोझ्याउने काम गरे । अझै पनि सिद्धान्त र जनताका अधिकारका कुरा गरेर थाकेका छैनन् । दल र तिनका नेताहरूले जनताको नजरमा विश्वास गुमाइसकेका छन् । देशमा भएका धेरै जसो राजनीतिक दलहरू गुट, उपगुट, र व्यक्तिगत स्वार्थमा बाँडिएका छन् । आज मुलुकले ठूलो दुर्दशा भोग्नुपरेको छ । मुलुकले विकासको गति लिन सकेको छैन । मुलुकमा अहिले दुइतिहाईको कम्युनिस्टको नेतृत्वमा सरकार छ । तर, यो सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेन । सरकार बनेको लगभग डेढ वर्ष भयो, मुलुकका समस्या ज्यूँका त्यूँ छन् ।

समस्याको समाधान गर्ने कुरामा सरकार त्यति गम्भिर भएको देखिँदैन । सुशासन, आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न सरकारले सकिरहेको छैन । जनताहरू गाँस, बास, शिक्षा, स्वास्थ्य, र रोजगारी जस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् । अनि यो वर्तमान कम्युनिस्ट सरकारबाट आमजनता कसरी खुसी हुने ? मुलुकको भाग्य र भविष्य कहिले निर्माण हुन्छ ? कुराले मात्रै हुदैन, काम गरेर देखाउने वेला आएको छ । देशमा राजनीतिक परिवर्तन पटक–पटक भएका छन् । तर, जनताले परिवर्तनबाट कुनै अनुभूति पाउन सकिरहेका छैनन् । जनताको जीवनमा खुसीयाली छाउँदैन भने राजनीतिक परिवर्तन भएको के मतलव ? राजनीतिक परिवर्तनबाट जनताले के पाए ? अब समीक्षा हुनु जरुरी छ । सुशासन र विकासका कुरा गरेर मात्रै हँुदैन, अव कार्यान्वयन गरेर देखाउनुपर्छ । जनताले सरकारको आलोचना मात्र गर्न खोजेका छैनन् ।

सरकारका राम्रा राम्रा कामहरूको प्रशंसा गर्न खोजिरहेका छन् । विकास र समृद्धि आमनागरिकको चाहना हो । देशमा विकास र समृद्धि हुन सकोस् भनेर सरकारका कमीकमजोरीमा जनताले आवाज उठाएका हुन । लोकतन्त्रमा जनताले सरकारको कमि कमजोरी औँल्याउन पाउँछन् । यो जनताको अधिकार हो । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । देशका बुद्धिजीवि, लेखक, पत्रकार, कलाकार, सबैले सरकारको गलत काम वारे लेख्न, बोल्न, गाउँन, पाउछन् । लेख्न, बोल्न, गित गाउन पाइदैन भने यो के को लोकतन्त्र ? मुलुकमा विगतमा जस्तो पटक पटक सरकार परिवर्तन हुने अवस्था अहिले छैन ।

अहिले स्थिर र बलियो सरकार छ । यो सरकार सँग इमानदारी र दृढ इच्छाशक्ति हुनु जरुरी छ । त्यसो भयो भने देश अघि बढ्न सक्छ । अव देशमा दल र तिनका नेताहरूमा इमानदारीताको खाँचो छ । दल र तिनका नेताहरू इमानदारी भए भने देश बनाउन समय लाग्दैन । मुलुकमा विधिसम्मत शासन प्रणाली, कानुनी राज्य, सुशासन, दण्डहीनताको अन्त्य जरुरी छ । भ्रष्टाचार नियन्त्रणमा सरकारले सफलता पाउन नसकेको स्थिति छ । भ्रष्टाचार वढदै गयो भने विकास र समृद्धिको सपना पुरा हुन सक्दैन । दलका नेता कार्यकर्ताको दवाबमा परेर सरकारी र सार्वजनिक निकायबाट अनियमिता हुँदै आएका छन् । हाम्रो नेतृत्व र कर्मचारीतन्त्र पुरानो सोच र मानसिकताबाट बाहिर आउनुपर्ने जरुरी छ । राजनीतिक दल र तिनका नेता कार्यकर्ता र कर्मचारीतन्त्रमा व्यक्तिगत सुख सुविधाको लालसा बढ्दै गएको देखिन्छ ।

यसरी देश वनाउन सकिदैन । जनताका कामहरू नियम संगत रूपमा कुनै पनि सरकारी कार्यालयहरूमा हुन नसकेका जनगुनासाहरू आइरहेका छन् । लोकतन्त्रमा यो राम्रो संकेत होइन । यस्ता कुराहरूमा धेरै ध्यान पुयाउनु पर्नेछ । आमजनताको जीवनस्तरमा परिवर्तन ल्याउने चर्का चर्का नारा दलहरूले दिए । तर सरकारमा गएपछि सब कुरा भुले यो नै विडम्वना हो । अव सरकारले जनताको पक्षमा लोकप्रिय काम गरेर देखाउनु पर्छ । जनताको विश्वास जित्ने गरी काम गर्नु पर्छ । सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने आफ्नो दीर्घकालीन लक्ष्य रहेको बताउँदै आएको छ ।

सरकारले आफनो लक्ष्य अनुसार केही क्षेत्रमा सुधार गर्न खोजेको जस्तो देखिन्छ । तर, जनताले सोचेअनुसार भने काम हुन सकिरहेको छैन । सरकारले सुशासन कायम गर्ने विषयमा कुनै प्रगति देखिएको छैन । सुशासन कायम गर्न ठूलो इच्छाशक्ति नै देखाउनुपर्छ । देश बनाउने भनेकै दल र प्रशासनिक नेतृत्वले हो । दुवै पक्ष इमानदार भएर अगाडी वढ्न सके सुशासन कायम गर्न कठिन छैन । अहिलेसम्मको प्रगति हेर्ने हो भने सुशासनको अवस्था सन्तोषजनक छैन । अव भ्रस्टाचार गर्ने जो कोहीलाई बर्खास्त गर्न सक्ने गरी नयाँ कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । भ्रष्टाचार रोकिएन भने विकासले गति लिन सक्दैन । सबैभन्दा पहिला देशमा सुशासन कायम गर्ने कुरामा सबैको ध्यान जानुपर्ने देखिन्छ । सुशासन कायम हुन सक्यो भने मात्र सरकारले सोचेको विकास र समृद्धिको सपना पूरा हुनेछ ।

प्रतिक्रिया