सम्पदा पुनर्निर्माणमा समस्या नै समस्या

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असहयोगका कारण उपत्यका भित्रका सम्पदा पुनर्निर्माणमा समस्या नै समस्या देखिएका छन् । भूकम्प गएको चार वर्ष पुग्नैलाग्दा पनि अहिलेसम्म पुनर्निर्माणले तीव्रता पाउन सकेको छैन ।
१२ वैशाख ०७२ सालमा गएको भूकम्पबाट काठमाडौं महानगरपालिकाभित्रका साना–ठूला गरी करिब तीन दर्जन सांस्कृतिक सम्पदामा क्षति भएको थियो । केही पुनर्निर्माणको चरणमा छन् भने कुनै अझै पनि पुनर्निर्माणको पर्खाइमै छन् । महानगरपालिकाभित्रका सम्पदाको जीर्णोद्धार कार्य सम्पन्न भइसकेको छैन ।

महानगरका कतिपय स्थानका सम्पदा अहिले पनि लथालिंग अवस्थामै छन् । ऐतिहासिक सम्पदा अधिकांश पुनर्निर्माणका सुरुआती चरणमा छन् । इतिहास बोकेको काठमाडौं सहरमा रहेका सम्पदामा कुनैमा साधारण त कुनैमा गम्भीर क्षति पु¥याएको थियो भूकम्पले । कतिपय सम्पदाले ठूलो मानवीय क्षतिसमेत पु¥याए । तर, केही सम्पदाबाहेक अधिकांश निर्माण हुन सकेका छैनन् । पुनर्निर्माण प्राधिकरणको असहयोग, पुरातत्व विभागको समन्वय अभाव र दाताहरूको प्रतिबद्धतामा सर्तैसर्त, निर्माणमा प्राविधिक तथा तल्लो तहमा डकर्मी र सिकर्मीको अभावले सम्पदाको निर्माणमा गति लिन नसकेको महानगरको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले भत्किएका सम्पदा पुनर्निर्माणमा प्राधिकरणले असहयोग गरेको आरोप लगाएको हो । उसले खटाएका इन्जिनियरले नियमित काम नगरिदिएको आरोप लगाएको महानगरले पुरातत्व विभागले पनि असहयोग गरेको बताएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार विभिन्न क्षेत्रका असहयोगका कारण सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको बताए । उनले आवश्यक जनशक्ति नहुने र समन्वय पनि नहँुदा समस्या आएको उल्लेख गरे ।

काठमाडौं महानगरभित्रका कुल ४३ सम्पदामध्ये १९ वटा सम्पदाको पुनर्निर्माण पूर्णरूपमा सम्पन्न भएको छ । स्वयम्भू, बौद्धलगायत विश्वसम्पदा सूचीमा परेका सम्पदाको पुनर्निर्माण भइसकेको छ । महानगरभित्र रहेका मैत्रीपुर महाबिहार, बटु भद्रकाली मन्दिर, कीर्तिपुण्य महाबिहार, बाघभैरव मन्दिर, शोभा भगवती, भगवान् बहालस्थित बिहार पुनर्निर्माण, खुसीबही महाबिहार, भेलु महादेवको पाटी सुधार, बटुमा रहेको कृष्ण मन्दिरको पर्खाल, उमामहेश्वर मन्दिर, राधाकृष्ण सेवा संस्था, तारकेश्वर धाम पुनर्निर्माणको पर्खाइमा छन् । यस्तै, लगन बहाल, संकटा मन्दिर परिसरमा रहेको मुग द्यो मन्दिर निर्माण, राधाकृष्ण देवस्थल हाडीगाउँ, बैरोचन तीर्थको बिहार, वडा नम्बर पाँचको वृत्तचित्र निर्माण हाडीगाउँको दयाश्वर महादेव परिसरको भजन घरलगायत सम्पदाहरू निर्माण गर्न बाँकी छन् । महानगरले यस आर्थिक वर्षभित्रमा १५ वटा सम्पदा निर्माण गर्ने योजना लक्ष्य राखेको छ ।

यता, पुरातत्व विभागले क्षति पुगेका सम्पदाहरू बनाउन हतार गर्न नहुनेमा जोड दिएको छ । विगतमा के कारणले क्षति पुगेको हो, अध्ययन, अनुसन्धान गरी सम्पूर्ण रूपमा जानकारी पाएपछि मात्र सम्पदा बनाउनुपर्ने विभागका इन्जिनियरिङ शाखाका प्रमुख सम्पद घिमिरेले बताए । विभागका अनुसार हालसम्म देशभरका भूकम्पले क्षति गरेका दुई सयवटा सम्पदा निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

प्रतिक्रिया