भारतमा लोकसभाको निर्वाचन सुरु, कांग्रेसकाे कडा चुनौती

नयाँदिल्ली । भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ । जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन् । तर यस पटक नेहरु गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कांग्रेसले कडा चुनौती दिने सम्भावना पनि देखिएको छ ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीहरुले स्थानीय विधायक सहित पाँच जनाको हत्या गरेका छन् ।

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् । खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ ।

भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । आगामी मे १९ तारिखसम्म जारी रहने सात चरणको चुनावको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ । करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो चरणको चुनावमा करिब १४ करोड २० लाखले मतदान गर्नेछन् । पहिलो चरणमा चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशदेखि असाम, उत्तर प्रदेश, जम्मु र काश्मिर तथा तेलाङ्गाना समेतका २२ राज्यका ९० स्थानका लागि चुनाव हुँदैछ । यस पटकको चुनावमा आठ करोड ४० लाख नयाँ मतदाता थपिएका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार बिहानै ट्वीट गरी मतदानमा सहभागी हुन आग्रह गरेका छन् । मोदी र उनको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा भारी मतका साथ विजयी भएको थियो । भारतमा ३० वर्ष यता पहिलोपटक सन् २०१४ मा एउटै पार्टी भाजपालाई बहुमत प्राप्त भएको थियो ।

प्रतिक्रिया