बारा । आँधीहुरीबाट पीडित बनेकाहरू खुला आकाशमुनि नै रहँदा राहत घोषणाको भने ओइरोे लागेको छ । पीडितहरू अझै पनि त्रासदीबाट उम्कन नसकिरहेका वेला राहत घोषणा गर्न जाने र राहत लिएर जानेको ओइरोे लागेको हो ।
मंगलबार मात्रै विभिन्न राजनीतिक दल र प्रदेश सरकारले राहतको कार्यक्रम र रकम घोषणा गरेका छन् । पीडितहरूले आफूहरू अझै पनि खुला आकाशमुनि नै रहन बाध्य भएको बताइरहेका छन् । उनीहरूले सरकार र विभिन्न संघ-संस्थाले लगेका त्रिपाल लगायतका सहायताहरू नक्कली पीडितहरूले लगेको गुनासो समेत गरेका छन् । सबैभन्दा बढी त्रिपाल र म्याटमा वास्तविक पीडितहरूले नपाएको बताएका छन् । खाद्यान्न र औषधि उपचारमा पनि केही समस्या देखिएको छ ।
भिभिआइपीसँगै आउने भिडका कारण समस्या देखिएको स्थानीयहरूले बताएका छन् । राहत अपुग नभए पनि त्यसको वितरणमा समस्या भएको छ । राहत वितरणमा समेत एकरूपता आउन सकेको छैन । कतिपय ठाउमा दोहो¥याइ तेहर्याइ राहत पुगेको छ, भने कुनै ठाउँमा राहत नै पुग्न सकेको छैन । जसका कारण राहतमा मनोमानी भइरहेको स्थानीय पीडितको आरोप रहेको छ ।
यद्यपि, राहत वितरणमा गृह मन्त्रालय र प्रदेश सरकारले समेत समन्वय गरेका कारण केही राहत भने मिलेको पीडितहरू बताउँछन् । उनीहरूलाई सबैभन्दा खान र बासको समस्या भएको छ । पीडितहरू भग्नावशेषमा ओत लाग्ने ठाउँ खोजिरहेका छन्, भने केही आफन्त छिमेकीका घरमा बसेका छन् ।
तर, दलका नेताहरू पुगेर राहत दिने आश्वासन र घोषणा गर्दै फर्किएका छन् । विभिन्न संघ ÷संस्था, उद्योगी, व्यापारिक समूहले राहत बोकेर पुगेका छन् । तर, यति धेरै सहयोगी हातहरू हुँदाहँुदै पनि पीडितहरूले तत्काल पाउनुपर्ने राहत पाएका छैनन, यहाँसम्म कि, सरकारी निकायले वितरण गरेकोे पालसमेत हराएको भन्दै पीडितहरू छट्पटिरहेका छन् ।
पीडितहरूमध्ये कतिपयको घरबास उठेको छ । खानेकुरा छैन । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा छैन । दिनको चर्को घाम र रातमा खुला आकाशमुनि पीडितहरूले रात कटाइरहेका छन् । आँधीले सबैभन्दा धेरै वितण्डा मच्चाएको बाराको फेटा गाविस–२ भलबरियाका राजेन्द्र पटेलका अनुसार भिआइपीहरू आए पनि आफ्नो समस्या आफूसँगै रहेको बताउँछन् । उनी भन्छन, ‘५० जनाको सामूहिक भोजन छ । परिवारका सदस्यको ज्यान गएको छ । बाँचेकाहरू पनि घाइते छौँ । पक्की घरमा समेत क्षति भएको छ । अहिले न बस्ने बास राम्रो छ, न खाने र लाउने ?’
हालसम्म आएको राहतको प्रतिबद्धता
कांग्रेस संघीय सांसद–दुई दिनको तलव
नेकपाका संघीय सांसद–एक दिनको तलव
राजपा नेपाल–पाँच लाख
प्रदेश–३ सरकार–एक करोड
सुदूरपश्चिम प्रदेश सरकार–एक करोड
प्रदेश २ सरकार–मृतकका परिवारलाई तीन लाख
शेरबहादुर देउवा–२५ लाख
डा. बाबुराम भट्टराई–१५ दिनको तलब
विमलेन्द्र निधिसहित कांग्रेस प्रदेश–२ का सांसद–१० लाख
एकनाथ ढकाल–५० लाख
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा–सोमबार मात्रै दुई लाखभन्दा बढी वितरण ।
पुष्पकमल दाहाल प्रचण्ड–पाँच लाख
नेपाल उद्योग वाणिज्य महासंघ–५० लाखलगायत अन्य धेरै संघ-संस्था ।
प्रतिक्रिया