भक्तपुरमा दुई सडक शिलान्यास

भक्तपुर । होली पूर्णिमाका दिन बुधबार प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रभित्र दुई सडकको शिलान्यास गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सूर्यविनायक नगरपालिका–१ को सिरुटार, वडा नं ३ बालकोट र वडा नं ४ दधिकोट जोड्ने सूर्यविनायकको ‘दक्षिणबाराही मन्दिर, काठमाडौं स्कुल अफ ल क्याम्पस हुँदै पानीट्यांकी सिरुटार सडक र कटुन्जे चुनदेवी तीनधारा सडकको शिलान्यास गरेका हुन् । उनले भने, ‘यस वर्ष बालकोटमा मात्रै ५ करोड बजेट रहेको पाँच सडक र साना १३ सडक निर्माण भइरहेका छन् । यस क्षेत्रमा ढलका लागि नियमित बजेटभन्दा थप ३ करोड ८२ लाख रुपैयाँ निकासा भएको छ ।’

कार्यक्रममा प्रदेश–३ का प्रदेशसभा सदस्य शशीजंग थापाले विकास तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै आगामी वैशाखदेखि कलंकी हुँदै बालकोट, चित्रपुर हँुदै तर्खगालसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरिएको बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बास्तोलाले यो वर्ष विकास र समृद्धिको वर्ष भएकाले उपयुक्त योजनालाई बजेट विनियोजन गरिएको बताए । प्रदेश–३ पूर्वाधार विकास कार्यालय, धुलिखेलका प्रमुख लोकनाथ रेग्मीले ५ करोड रुपैयाँमा निर्माण सुरु हुन लागेको उक्त सडक आठ मिटरको चौडाइ र एक हजार ३ सय लम्बाइ रहेको उल्लेख गर्दै आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

यसैगरी, बुधबार नै सूर्यविनायक नगरपालिकाको १ करोड ४० लाख रुपैयाँको लागतमा अरनिको राजमार्गखण्डमा जोडिएको फुटपाथ र ड्रेनसहित आठ मिटर चौडाइ रहने वडा नं ५ कटुन्जेस्थित चुनदेवी तीनधारा सडक विस्तारको समेत सांसद बस्नेतले शिलान्यास गरेका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले गतवर्ष नगरपालिकाले टुक्रे योजना बजेट विनियोजन गरे पनि यस वर्ष भने ठूला योजनाका लागि बजेट विनियोजन गरेको बताए । प्रत्येक वडामा १ करोड रुपैयाँको एउटै सडक योजना र अन्य ठूला योजना तीव्र गतिमा अगाडि बढेको जानकारी गराउँदै उनले आगामी तीन वर्षमा नगरपालिकाले विकासमा काचुली फेर्ने बताए ।

प्रतिक्रिया