नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिने

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ ।

नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए। उनका अनुसार कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन् ।

अहिले सञ्चालनमा रहेका विद्यालयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफल भइरहेको उनले बताए । उनले भने, “निजी विद्यालय व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।

तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ । त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको नगर शिक्षा अधिकारी क्षेत्रीले बताए ।

ललितपुर जिल्लामा अहिले नै धेरै विद्यालय भएकाले नयाँ खोल्ने निजी विद्यालयको स्थायीत्व पनि नहुने उनले बताए । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ ।

प्रतिक्रिया