शिक्षा

एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

सौर्य अनलाइन २०७५ फागुन २९ गते १२:१३ मा प्रकाशित

पर्वत । एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताइन् ।

चैत १० गतेदेखि सुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन् । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई रु १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ ।

चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए ।

सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै रु पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्माले जानकारी दिइन्।

जिल्ला शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै छात्रा विद्यार्थी सङ्ख्याका अनुपातमा परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया