रोल्पा । अज्ञात रोगका कारण विगत दुई महिनादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज आधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् ।
उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन् । विद्यार्थी काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । सुरुमा यस्तो समस्या कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार, पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरेको थियो ।
‘उक्त कक्षा सञ्चालन पश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुका साटो वृद्धि भई दैनिक १५-२० जना विद्यार्थी बिरामी पर्न थालेसँगै केही दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्न बाध्य भयौं’ विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भने । ‘स्वास्थ्यकर्मीको परामर्शबाट निको नभएपछि अभिभावकले विद्यार्थीलाई झारफूक गर्न लगाउनुभयो’, प्रधानाध्यापक आचार्यले भने, ‘विद्यालय नजिकै रहेको रिमूल भन्ने स्थानमा अभिभावकले बिरामी जम्मा गरेर झारफूक गरे पनि बिरामी अझै निको भएका छैनन् ।’
लामो समयसम्म विद्यार्थी बिरामी पर्दा समग्र विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । नगरस्तरीय अन्तिम परीक्षा नजिकिँदै गर्दासमेत समस्या समाधान भएको छैन उनले भने, ‘मनोचिकित्सकबाट परामर्श गरे समस्या हल हुने आफूले आशा गरे पनि त्यसका लागि स्रोत जुटाउन धौधौ परिरहेको छ ।’ विद्यार्थी बिरामी परेको खबर सुन्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली विद्यालयमा पठाएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।
स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेका छौँ प्रमुख केसीले भने, ‘बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरिसकेको छ’, उनले भने, ‘पछिल्लो अवस्थाबारे वडा कार्यालयले अद्यावधिक गराएपछि अवस्था हेरेर मनोचिकित्सक झिकाउने योजनामा छाैँ ।’
‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ’, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भने, ‘एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ, धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ ।’
धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई मास हिस्टेरिया भनिन्छ, स्वास्थ्यकर्मी डाँगीले भने । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुंग्री, ओतलगायतका विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।
प्रतिक्रिया