निर्मला पन्तको बुबाआमाद्वारा धर्ना स्थगन

भीमदत्तनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका २ की १३ वर्षीय निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना स्थगन गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनिहरूले धर्ना स्थगन गरेका हुन् । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक संघर्ष समितिको पहलमा उनिहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।

छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोखेका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए ।

“प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन, उनले भने, “अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु पर्यो । धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएका छन् ।

प्रतिक्रिया