‘मिस नेपाल पिस’ हुने

काठमाडौं । नर्सिङ पेसामा आबद्ध सुन्दरीको प्रतियोगिता हुने भएको छ । स्काइफल ‘मिस नेपाल पिस’ को सातौँ संस्करणको आयोजना नेक्स्ट मोडल्स नेपालले गरेको हो । आयोजकले विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला गरिएको जनाएको छ ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीले आवेदन दिन सक्नेछन् ।

विगत ६ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताको उद्देश्य अन्तर्राष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउने रहेको आयोजकले जनाएको छ । नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई यस पेशा र समाजप्रति थप उत्तरदायित्वबोध गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

उनले प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजक जानकारी दिए ।
प्रतियोगिताको पहिलो अडिसन ११ फागुनमा राजधानीबाट सुरु हुँदै छ । सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्ने जनाइएको छ ।

यो सिजनमा सहभागी प्रतियोगीलाई विभिन्न ग्रुपमा विभाजन गरेर बे्रस्ट क्यान्सरसम्बन्धी अभियानसमेत चलाउने भएको छ । प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम प्रतिस्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्रावृत्ति जित्न सक्नेछन् ।

प्रतिक्रिया