भारत–पाकिस्तान आमनेसामने, समस्यामा सार्क

नयाँदिल्ली । भारतको कस्मिर पुलवामामा बिहीबार आतंकवादी समूहको आक्रमणमा परेर ४६ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

कस्मिमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स(सिआरपीएफ) का सुरक्षाकर्मीहरू मारिएका हुन् । भारत सो घटनाबाट पाकिस्तानप्रति आक्रोशित भएको छ । भारतमा आक्रमण गर्ने समूहलाई पाकिस्तानले संरक्षण गर्दै आएको भन्ने उसको लामो समयदेखिको आरोप रहेको छ ।

सो घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत सहभागितामा शुक्रबार सुरक्षासम्बन्धी बैठक बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोदीले बिहीबारको आक्रमणकारीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेका छन् ।

उनले स्पष्ट रूपमा भनेका छन्, ‘हामीले यसको कडा जवाफ दिनेछौँ ।’ उनले पाकिस्तानको नाम नलिए पनि छिमेकी मुलुक भन्दै संसारभरि एक्लिएको देशले आफ्नो देशमा अस्थिरता उत्पन्न गराउन खोजेको भन्दै आलोचना गरे । घटनाको पाकिस्तानी इस्लामिक विद्रोही समूह जैस–ए–मोहम्मदले जिम्मेवारी लिएको थियो ।

भारतका अर्थमन्त्री अरुण जेटलीले पनि पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट सम्पूर्ण रूपमा अलग गर्ने चेतावनी दिएका छन् । उनका अनुसार भारतले सन् १९९६ मा पाकिस्तानलाई दिएको व्यापारमा ‘मस्ट फेभर्ड नेसन’ को अवसर पनि फिर्ता लिइएको छ । भारतमा विकसित पछिल्ला घटना क्रमले गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन पुनः अनिश्चित हुन पुगेको छ ।

सन् २०१६ मा भारतको उरीमा भएको त्यस्तै आतंकवादी हमलाका कारण भारत र पाकिस्तानबीच विवाद उत्पन्न भएपछि तिथि तय भइसकेको सार्कको १९औँ शिखर सम्मेलन अझै हुन सकेको छैन ।

१९औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बर ९ र १० तारेखमा पाकिस्तानको इस्लामाबादमा हुने कार्यक्रम तय भएको थियो । उरीमा सन् २०१६ को सेप्टेम्बर १८ का दिन भएको आक्रमणमा परि १७ जना भारतीय सैनिक मारिएका थिए । त्यतिवेला भारतले जैस ए मोहम्मदलाई नै सो घटना गराएको आरोप लगाएको थियो । अहिले पनि सोही समूहले भारतीय सुरक्षाकर्मीलाई आक्रमण गरेको हो ।

सन् २०१४ को नोभेम्बर २६ र २७ तारेखमा नेपालमा १८औँ सार्क शिखर सम्मेलन भएकोमा त्यसपछि शिखर सम्मेलन हुन सकेको छैन । सार्कको बडापत्रअनुसार हरेक वर्ष शिखर सम्मेलन हुनुपर्ने भए पनि गएको डिसेम्बरमै ३४औँ बडापत्र दिवस मनाइए पनि अहिलेसम्म १८ वटा शिखर सम्मेलन मात्र हुन सकेका छन् ।

पाकिस्तानका विदेश सचिव तेहमिना जन्जुआले गएको डिसेम्बरमा नै जुनसुकै वेला शिखर सम्मेलन गर्न पाकिस्तान तयार भएको बताएकोमा पछिल्लो घटनाले सार्कको भविष्य नै अन्योलमा पारिदिएको छ । यति ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले पाकिस्तानलाई मात्रै होइन नाम नलिइकन चीनलाई पनि कडा सन्देश दिन खोजेको छ ।

भारतको विदेश मन्त्रालयले जैस ए मोहम्मदलाई सो घटना गराएको भन्दै पाकिस्तानलाई सो संगठनलाई पूर्ण स्वतन्त्रता दिएको आरोप लगाएको छ । भारतले अन्तर्राष्ट्रिय समुदायलाई पनि सो संगठनलाई आतंककारीको सूचीमा राख्न आग्रह गरेको छ ।

आतंककारी मसुद अजहरलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् मातहत सूचीकृत गर्न भारतले आग्रह गरेको छ । चीनले अजहरलाई यो सूचीमा राख्न विगतमा रोक्दै आएको थियो । आतंकवादलाई सघाएको भन्दै पाकिस्तानलाई भारतको विदेश मन्त्रालयले त्यस्ता समूहहरूका गतिविधि रोक्न आग्रह गरेको छ ।

यो आतंकपूर्ण गतिविधि अन्तर्राष्ट्रिय आतंकवादी मसुद अजहरले गरिरहेको र उसलाई पाकिस्तानले गतिविधि सञ्चालन गर्न दिइरहेको भारतले आरोप लगाएको छ । १९औँ सार्क शिखर सम्मेलन भारत, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सले उरी आक्रमणपछि उपस्थित हुन नसक्ने जनाएपछि स्थगित भएको थियो ।

भारतले अन्तर्राष्ट्रिय समुदायलाई मसुद अजहरलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् मातहतको १२६७ नम्बर प्रस्ताव अन्तर्गत नाकाबन्दी गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र संघको सो संकल्प प्रस्तावअन्तर्गत यसअघि तालिवान र अलकाइदालाई पनि नाकाबन्दी गरिएको थियो । भारतले अजहरलाई पनि सोही प्रस्तावअन्तर्गत नाकाबन्दी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

भारतले सन् २०१६ को फेबु्रअरीमा पनि सो संकल्प प्रस्तावअन्तर्गत पार्न आग्रह गरेकोमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरू अमेरिका, बेलायत र फ्रान्सले समर्थन गरेका थिए भने चीनले त्यसलाई रोकेको भारतीय आरोप रहेको छ ।

भारतले पछिल्लो घटनाको कडा निन्दा गर्दै आफूले राष्ट्रिय सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने जनाएको छ । नेपालले बिहीबारको सो घटनाको प्रधानमन्त्री तह र परराष्ट्र मन्त्रालय तहबाट निन्दा गरिसकेको छ । भारत प्रशासित कस्मिरमा भारतको सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार आक्रमण गरिएको हो ।

कस्मिरको प्रमुख सहरबाट करिब २० किलोमिटर टाढा पुलवामा भन्ने स्थानमा राजमार्गमा गुडिरहेको सुरक्षाकर्मी रहेको गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ती सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भए पनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो ।स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ ।

समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमान्डो भनिने आदिल अहमदले गराएको र आफू जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकु रहेको स्थानीय सञ्चार माध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण हो । सन् १९४७ यता दुई राष्ट्रबीच कस्मिरकै विषयलाई लिएर तीनवटा युद्ध भइसकेका छन् । अहिले भारतले आरोप लगाएको सोही समूहले भारतीय संसद्मा समेत २००१ मा आक्रमण गरेको थियो ।

प्रतिक्रिया