सञ्चारकर्मीको अगुवाइमा पुस्तकालय स्थापना

ताप्लेजुङ । सञ्चारकर्मीको अगुवाइमा सञ्चालित ‘मानवताका लागि करुणा’ भन्ने अभियानले जिल्लाको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विगत डेढ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील अभियानमार्फत फुङलिङ नगरपालिकास्थित मेवाराजा आधारभूत विद्यालयमा दुई हजार थान पुस्तक सहितको पुस्तकालय स्थापना भएको हो ।

उक्त पुस्तकालयको सरस्वतीपूजाको अवसर पारेर आइतबार उद्घाटन गरिएको अभियन्ता भुवन केसीले जानकारी दिए । विद्यार्थीमा बाहिरी ज्ञान तथा सीपको समेत विकास होस् भन्ने उद्देश्यले पुस्कालय स्थापना गरिएको अर्का अभियन्ता पर्वत घिमिरेले बताए । यसैबीच उक्त विद्यालयमा स्थापित छात्रवृत्ति अक्षयकोषलाई समेत ८५ हजार १ रुपैँया अभियानले प्रदान गरेको छ । मनकारीहरूको सहयोगमा सञ्चालित उक्त अभियानले यसअघि मुलुकका विभिन्न ठाउँमा बाढी, पहिरो, भूकम्प र आगलागीमा परेका पीडितहरूलाई समेत सहयोग गर्दै आएको बताइएको छ ।

यता पुस्तकालय उद्घाटनका क्रममा स्वर्गीय सिंहबहादुर खबासको स्मृतिमा उनकी पत्नी रेवता खबास र छोराहरूले १ लाख ५ सय ५ रुपैयाँ अक्षय कोषलाई हस्तान्तरण गरेका छन् । उनीहरू विद्यालय सेवा क्षेत्रका बासिन्दा हुन् । यसैबीच अन्य अक्षयकोषदाताहरूलाई समेत सोही अवसरमा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर पालुंवाले जानकारी दिए ।

कार्यक्रममा फुङलिङ नगरपालिकका नगरप्रमुख छत्रपति प्याकुरेलले दाताहरूको सहयोगलाई उचित उपयोग र संरक्षणमा ध्यान दिनुपर्ने बताए । नगरप्रमुख प्याकुरेलले नगरपालिकाले शिक्षाको क्षेत्रमा अझै बढी सुधारका लागि प्रयास गरिरहेको पनि बताए । कार्यक्रममा नगरप्रमुखसहित प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा, वडा–का वडाध्यक्ष पदमसुन्दर पालुंवा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया