‘देश गृहयुद्धमा होमिन सक्छ

कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् ।

उनले सो अन्तर्वार्तामा भने–‘देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरूको क्रियाकलापमा निर्भर छ ।’

सो टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएको एक समाचारमा जनाइएको छ ।
राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको उनले कडा शब्दमा आलोचना पनि गरेको समाचारमा जनाइएको छ ।

त्यसअघि विपक्षी नेता हुँवा गुइदो एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए । गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए ।

आफूले विश्वका शक्ति राष्ट्रहरूको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।

भेनेजुएलामा अहिले सत्ताको लागि संघर्ष सुरु भएको बताइएको छ । मदुरोले आफू नै निर्वाचित राष्ट्रपति भएको बताउछन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ ।

उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका हुन् ।

सो प्रश्नको जवाफमा उनले भने– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन । तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरूका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनको दाबी थियो ।

सोही अन्तर्वार्तामा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीहरूले पनि मान्नुपर्ने धारणा राखेको थियो ।

राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक संकट समाधानको प्रयासस्वरूप समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए ।

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए ।

उनीहरूले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेको बताइएको थियो । तर पनि मदुरोले दिएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएको अर्काे समाचार आएको छ ।

गएको शनिवार मात्र यस देशको राजधानी सहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना गरेका थिए । शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइदो अघि बढेका बताइएको छ ।

मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरूमा बताइएको छ ।

विपक्षीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि मदुरोले यहाँको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो । भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् ।

उनले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेको थियो । उनको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरूले समर्थन गरेपछि यहाँको संकट बढेको हो ।

प्रतिक्रिया