जैविक विविधता संरक्षणको खाँचो

केही देशमा पवित्र प्रजातिको वनस्पति संरक्षण गरिए तापनि पवित्र भू–स्वरूपको संरक्षणमा ध्यान दिएको पाइँदैन । तर, नेपालमा गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथजस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन्

जैविक विविधता भन्नाले जीवहरूको भिन्नता, प्रकार र जम्मा संख्या तथा तिनीहरू बीचको अन्तर सम्बन्ध हो । हालसम्म पनि यसको आर्थिक दृष्टिकोणले मात्र मूल्यांकन गरिएको पाइन्छ । वस्तुतः विश्वको उत्पत्ति एव. विकास प्रवृत्ति जैविक विविधतामा निहित । यसको महत्वपूर्ण परम्परागत प्रयोग, खानेकुरा, औषधी तथा उद्योग धन्दाहरूबाट उत्पादित सामानहरूको रूपमा पाइन्छ ।

नेपालका १८ जिल्लाहरू जैविक विविधतामा धनी छन् । तर, उचित संरक्षणको कमीले जैविक विविधतामा नकारात्मक प्रभाव परेको छ । आज जैविक विविधाको संरक्षणमा यथोचित ध्यान नपुग्नाले सिंह, बाघ, गैँडा, अर्ना जस्ता वन्य जन्तुहरूको संख्या निकै कम भएको छ भने ९ प्रजातिका चराहरू लोप भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभाग सहितको साझेदारी संस्थाले गरेको सर्वेक्षणमा उक्त तथ्य प्रकाशमा आएको हो ।

वनजंगलमा पाइने चराचुरुंगीहरूको विषयमा गरिएको ०७३ सालको एक सर्वेक्षणमा नेपालबाट ६७ प्रजातिका चराचुरुंगी अति संकटपूर्ण अवस्थामा छन् । साधारणतया हरेक चार वर्षमा गरिने सर्वेक्षणमा यहाँका चराचुरुंगीहरूको संख्या घट्दो क्रममा छ । यसो हुनुमा चराचुरुंगीहरूको वासस्थान मासिँदै जानु, नहर तथा कुला जस्ता संरचना धेरै निर्माण गर्नु, जथाभावी सडक तथा भौतिक संरचनाको निर्माण गर्नु, विद्युत्को हाई स्टेसनको निर्माण आदि विभिन्न किसिमका संरचनाले निकै प्रभाव पारेको छ । यति मात्र होइन, बढ्दो चोरी शिकारी र खाद्यान्नमा विषादीको प्रयोग गर्नाले पनि यहाँका चराचुरुंगीहरूमा नकारात्मक प्रभाव परेको छ ।

केही वर्षयता यहाँका वन्यजन्तु तथा चराचुरुंगी विस्तारै लोप हुन थालेपछि पर्यावरणमा पनि केही असर परेको छ । वन्य जन्तु तथा चराचुरुंगीहरू लोप हुँदै गएकोले पर्यावरणमा असन्तुलन बढ्दै गएको संकेत देखिएको छ । यस्तो अवस्थामा मानव जातिलाई अस्तित्वमा राख्नका लागि पनि वातावरण सन्तुलन राख्न आवश्यक देखिन्छ ।

यहाँ केही वन्य जन्तु तथा चराचुरुंगीहरू लोप हुन थालेकोले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले यिनीहरूका लागि २७ स्थानलाई अति महत्वपूर्ण स्थानको रूपमा छुट्याई संरक्षणका लागि केही काम थालनी गरेको छ । तर, यस कामको सफलताका लागि स्थानीय जनताको सक्रिय सहभागिताको आवश्यकता छ ।

सिमसार क्षेत्रमा विभिन्न किसिमका वनस्पति हुन्छन् । यहाँ धेरै थरीका जीवजन्तुहरू बसोवास गर्ने हुनाले उक्त क्षेत्रको संरक्षण गर्न सकेमा वनस्पति तथा जीवजन्तुहरूको सुरक्षा हुन्छ । फलतः यहाँको वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ । यद्यपि, धेरैजसो देशहरूमा बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँ सराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारहरूको तीव्र रूपले निर्माण लगायतका विभिन्न क्रियाकलापहरूले गर्दा सिमसार क्षेत्रको अस्तित्व नै संकटमा परेको छ । केही राष्ट्रहरूमा भू–माफिहरूको चलखेलको कारण उक्त क्षेत्र तीव्र रूपले संक्रमित हुँदैछ भने अव्यवस्थित रूपमा बढिरहेको आवास क्षेत्रको कारणले केही सिमसार क्षेत्रको अस्तित्व नै लोप हुने अवस्थामा छ ।

अधिकांश जीवजन्तुले वनजंगल, घाँसे मैदान र जलक्षेत्र वरपर बच्चा कोरल्ने, वासस्थान बनाउने र विचरण गर्ने भएकाले सिमसार क्षेत्रले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । तर, वनजंगलको बढ्दो अतिक्रमण, चुरे क्षेत्रको अत्यधिक दोहन, भू–माफियाहरूद्वारा जग्गा अतिक्रमण र अव्यवस्थित फोहर–मैला विसर्जनको कारण नेपालको सिमसार क्षेत्रहरू घट्दो क्रममा छन् ।
एक आधिकारिक तथ्यांकअनुसार नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जग्गा सिमसार क्षेत्रले ओगटेको छ ।

उक्त क्षेत्र संरक्षण गर्नसके यहाँको जैविक विविधता संरक्षणमा धेरै सघाउ हुनेछ । नेपालमा पवित्र स्थलहरूको संरक्षण यहाँ विद्यमान धर्मसँग आबद्ध छ । आजसम्म पनि यहाँको परम्परागत समाजमा विभिन्न किसिमका वनस्पतिका प्रजातिहरूको पवित्र मानी संरक्षण, खाना तथा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । यसबाट यहाँका पवित्र स्थल तथा गुफाहरूको समेत संरक्षण भएको छ ।

धार्मिक दृटिले यहाँ वर, पीपल, बेल, निम आदि वनस्पति प्रजाति महत्वपूर्ण मानिन्छ । त्यसैले यिनीहरूको संरक्षणले यहाँको पारिस्थितिक प्रणालीको संरक्षणमा समेत सकारात्मक असर पर्छ । पीपल परिवारका प्रजातिले उष्ण प्रदेशका चरा तथा ससाना किराहरूलाई वास तथा खानेकुरा प्रदान गरेको छ । पहाडका देवी स्थान तथा तराईका ब्रह्मस्थानहरूले वर पीपललगायत लोप हुने अवस्थामा पुगेका चाँप र पलाँसजस्ता प्रजातिहरूको सुरक्षा गरेको पाइन्छ ।

केही देशमा पवित्र प्रजातिको वनस्पति संरक्षण गरिए तापनि पवित्र भू–स्वरूपको संरक्षणमा ध्यान दिएको पाइँदैन । तर, नेपालमा गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथजस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् । यस्ता पवित्र भू–स्वरूपलाई एक एकाइको रूपमा लिँदा विभिन्न परिस्थितिक प्रणाली जस्तो कि वनजंगल, घाँसे मैदान, जलाधार तथा सिमक्षेत्र र स्थानीय जनताबीच अन्तर सम्बन्ध हुन्छ ।

यसैले पवित्र भू–स्वरूपको संरक्षण पारिस्थितिक प्रणालीको विविधता तथा मानव कल्याणका लागि पनि नितान्त आवश्यक छ । नेपालमा मध्यवर्ती क्षेत्रको व्यवस्थापन, संरक्षित क्षेत्रहरूको व्यवस्थापन, पार्क–पीपल कार्यक्रम, सामुदायिक वन आदिको माध्यमबाट जैविक विविधता संरक्षण गर्ने प्रयास गरिएको छ । परन्तु संरक्षित क्षेत्रहरूको भू–स्वरूप व्यवस्थापन भने एक नौलो कार्य हो ।

यहाँका केही स्थानीय भू–स्वरूप, व्यवस्थापन गर्ने काम नेपाल सरकार, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र विश्व वन्यजन्तु कोषको संयुक्त प्रयासमा सुरु गरिएको छ । यस सन्दर्भमा मकालु वरुण क्षेत्र, कञ्चनजंघा तथा बर्दिया निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षको भू–भागलाई जनसहभागिता जुटाई भू–स्वरूप व्यवस्थापन गरिएको छ । तर स्थानीय जनताको आवश्यकता पूर्ति गर्दा जैविक विविधताको संरक्षण, पारिस्थितिक प्रणालीको स्थायित्व, परम्परागत ज्ञान तथा सीपको सम्बद्र्धन तथा प्रवद्र्धन भएमा मात्र भू–स्वरूपको व्यवस्थापन प्रभावकारी हुन्छ ।

वस्तुतः आनुवशिक स्रोतको संरक्षण प्रवद्र्धन र सही परिचालन गरी स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्याससम्बन्धी हकहितको संरक्षण गर्न जैविक विविधता ऐन १९९२ लाई नेपालले अनुमोदन गरेको छ । तर यसलाई व्यवहारमा उतार्न जरुरी छ । जैविकविविधताको व्यापारिक खोजको प्रक्रियाद्धारा जैविक स्रोतहरूको आर्थिक महत्व बढ्छ । परन्तु यिनीहरू लोप हुने डर हुँदा समयमै आनुवशिक स्रोत तथा सम्पत्ति अधिकार सम्बन्धी नीतिनियमहरू अविलम्ब बनाई कार्यान्वय नगर्न आवश्यक छ ।

प्रतिक्रिया