आशा लघुवित्तको समीक्षा गोष्ठी भरतपुरमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी भरतपुरमा सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रदेश १, २, ३ र ४ मा सञ्चालित २७ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरूको सक्रिय सहभागितामा दुईदिने समीक्षा गोष्ठी आयोजना गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गोष्ठीको शुभारम्भ गरे । गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृतले अब संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पु¥याउन शाखा प्रबन्धकहरूलाई निर्देशन दिए ।

कार्यक्रममा शाखा प्रबन्धकहरूले आ–आफ्ना शाखाहरूबाट चालू आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धिहरूको समीक्षा गरे । समीक्षाका क्रममा संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनीकरण तथा संस्थाको व्यावसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा विशेष छलफल भएको थियो । हालसम्म यस वित्तीय संस्थाले २८ वटा जिल्लाहरूका ४५ शाखा कार्यालयमार्फत करिब ४० हजार सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट ३५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया