दुईपटक सहिद घोषित भएका लखन थापा

गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द जिउँदा सहिदहरू टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले १०४ वर्षे राणा शासनविरुद्ध विगुल फुकेका थिए । यस बारेमा कसैको विमति रहेन । तर, १०४ वर्ष लामो राणा शासनका सूत्रधार र सुरुवातकर्ता जंगबहादुर राणालाई आजभन्दा लगभग १४० वर्षअघि नै हाँक दिँदा एकजना लखन थापामगर भन्ने मान्छेले गोरखा जिल्लाको बुङकोटमा सहादत प्राप्त गरेका थिए भन्ने बारेमा भने कमैलाई मात्र थाहा छ 

विगत दिनहरू हेर्दा देशका अमर सहिदहरूका बारेमा लेख्दा नेपालका मै हुँ भन्ने विद्वान्देखि लिएर सिकारुसम्मका लेखक तथा पत्रकारहरूले प्रथम सहिद को हुन् ? भन्ने बारेमा लेखेनन् । उनीहरू यस बारेमा अनविज्ञ थिए, वा दूराग्राही थिए । तर, अनविज्ञ थिए भनी पत्याउन भने अलि गाह्रै पर्छ । जे होस्, बर्सेनि नेपालका सहिद र सहिद दिवसका बारेमा लेख्दा कहिल्यै पनि कुनै पनि लेखकले लखन थापामगरका बारेमा लेखेनन् गत केही वर्षदेखि भने कसैकसैले लखन थापामगरको नामसम्म उच्चारण गर्छन् भने कसैले त अतिशय ढंगले लखन थापामगरलाई किन प्रथम सहिद मान्ने ? भन्ने आशयको लेख पनि लेख्छन् । उनीहरूले नेपालका प्रथम सहिद लखन थापामगर हुन् भनी धेरै पछिसम्म स्वीकार गरेनन् ।

तर, लखन थापामगरलाई राज्यस्तरबाट (मन्त्रिपरिषद्ले) निर्णय गरेर नेपालका प्रथम सहिद ‘लखन थापामगर’ हुन् भनी घोषणा गरेकोे दुई–दुई पटक भइसकेको छ । नेपालका बुद्धिजीवीहरू खासगरी लेखक, पत्रकारहरूले अझै पनि लखन थापामगरलाई नेपालका प्रथम सहिद हुन् भनेर खुला हृदयले स्वीकार नगर्नु अर्कै कुरो हो । हुन पनि हाम्रो दे्रशमा सुरुदेखि नै इतिहास गलत लेखिदै आएको छ भने जित्नेहरूको इतिहास बढाइचढाइ लेखिएको । हार्नेहरूको बंग्याएर हेलाहोचो गरेर लेखिएको छ । त्यसो भन्दैमा यो पंक्तिकारले १०४ वर्षे एकतन्त्रीय राणा शासनविरुद्ध आफ्नो अमूल्य जीवनको बलि चढाउने ती महान् चार सहिदलगायत अन्य सहिदहरूको अपमान गर्न खोजेको भने पटक्कै होइन ।

आउनुहोस्, यसबारेमा छोटो चर्चा गरौं । केही वर्ष अघिसम्मको राज्यको परिभाषा अनुसार गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द गरी चारजना नेपालका प्रथम सहिदहरू हुन् भने टंकप्रसाद आचार्य, रामहरि जोशीलगायत चाहिँ जिउँदा सहिदहरू हुन् ! स्वर्गीय धर्मरत्न यमीले आफ्नो किताब ‘नेपालका कुरा’मा भनेझैं ती जिउँदा सहिदहरू पनि त्यो बेलाको कानुनमा ‘मान्छेमा बाहुनलाई र जनावरमा गाईलाई काट्न-मार्न नपाइने’ भएकाले मात्रै उनीहरूले जिउँदा सहिद हुने अवसर पाएका हुन् ।

जे भए पनि मरेर जाने सहिदहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द जिउँदा सहिदहरू टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतले एकसय चारवर्षे राणा शासनविरुद्ध विगुल फुकेका थिए । यस बारेमा कसैको विमति रहेन । तर एकसय चारवर्ष लामो राणा शासनका सुत्रधार र सुरुवातकर्ता जंगबहादुर राणालाई आजभन्दा लगभग एकसय ४० वर्षअघि नै हाँक दिँदा एकजना लखन थापामगर भन्ने मान्छेले गोरखा जिल्लाको बुङकोटमा सहादत प्राप्त गरेका थिए भन्नेबारेमा भने कमैलाई मात्र थाहा छ ।

गोरखा जिल्लाको बुङकोटमा जन्मिएका लखन थापामगरको खास जन्म मिति थाहा नभए तापनि उनी स्वयं पनि विक्रम संवत् १९११ मा २० वर्षको उमेरमा उनका पिता पुर्खाले जस्तै मगरहरूको पल्टन (पुरानो गोरख गण) मा सेनामा क्याप्टेन पदमा भर्ती भए । सन् १९१४ मा भारतमा बेलायतीहरूले खडा गरेको कम्पनी सरकारको अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकहरूले ठूलो विद्रोह ग¥यो । अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकले गरेको यो विद्रोहलाई अंग्रेज सैनिकहरूले मात्रै दवाउन नसकेपछि नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज रहेका जंगबहादर राणा आफैँ नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर भारतको लखनऊतर्फ लागे ।

जसमा मगरहरूको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङ लगायतका सैनिक अधिकृतहरू पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोष जनताहरूलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनउ लुट’को नामले परिचति लखनऊका नबाब अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लुट्ने क्रममा देखिएको उश्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरूको भारतलाई बेलायतीहरूको पन्जाबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे ।

अहिलेको २१ औं शताब्दी भनिएको समयमा त समाजमा अन्धविश्वास र कूरीति व्यापक छ भने त्यो बेला त झन् कस्तो थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि अशिक्षित र धर्मभीरु समाज थियो । स्वभावैले जनताहरू बढी नै धर्मकर्ममा विश्वास गर्थे÷राख्थे । अतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनविरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । यस क्रममा लखन थापामगरले ‘जंगेले नेपाललाई म्लेच्छ (गोरा) लाई बेच्यो । दुनियालाई त्राही–त्राही पारेको छ । जातपात छूवाछूत झनै बढाएको छ । अब जंगेलाई हटाएर नेपाल आमालाई यो पापको बोझबाट हल्का पार्न पर्छ ।

यसका लागि मलाई मनकामना देवीले वरदान दिएकी छन् । भाइ हो, तयार हौं !’ भनी गाउँलेहरूलाई ठाऊँ–ठाऊँमा भेला गर्दै चेतना फैलाउन थाले । यसरी केन्द्र (काठमाडौं)मा जंगबहादुरको अत्याचार र अन्याय बढिरहँदा उता लखन थापामगरले भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार हालको भाषामा (प्रधानमन्त्री) बने भने जयसिंह चुमीमगरलाई सेनापति (जनरल) बनाए ।

उनले अन्य सहयोगीहरूमा हालको लमजुङ जिल्लाका सुकदेव गुरुङ, हालको ओखलढुंगा जिल्ला रुम्जाटारका ज्ञान दिलदास र कालु लम्साललाई मन्त्री बनाएका थिए । उनले आफ्नै नेतृत्वमा २ हजार सेनासमेत संगठित गरेका थिए । ती सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएका थिए ।

यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेखअनुसार ‘जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफैँ श्री ३ बाट श्री ५ हुन लागेका थिए ।

तर, लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरू भन्छन्) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको सिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाडौं फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाडौंको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर–घमासान युद्ध भयो ।

अन्तमा काठमाडौंको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरूका सहयोगीहरूलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाडौं ल्याए । त्यसपछि तत्कालै निर्णय गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर, लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झुन्ड्याएर मार्ने आदेश दिइयो ।’ भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मुच्र्छा परिन् ! त्यसैले, तत्कालै प्रायश्चित गर्दै जंगबहादुरले ‘मबाट ठूलो भूल भयो, लखन थापालाई नमार्नू ।’

भनेर सैनिकमार्फत खबर पठाए । जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदै छ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरूले मस्र्याङ्दी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरूलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले पठाएका सैनिकहरू तीनदिन ढीला पुग्दा लखन थापालाई उनकै दरबारअगाडि खिर्राको बोटमा झुन्ड्याइएर मारिसकिएको थियो । यसरी लखन थापालाई मारिसकेको खबर पाउनासाथ जंगबहादुर आफँै बुङकोट गएर लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै काठमाडौं फर्किएका थिए ।

यसरी उनलाई झुन्ड्याएर मारेको दिन थियो –विसं १९३३, फागुन २ गते । २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको थियो । तर, उक्त घोषणालाई विविध कारणले गर्दा कार्यान्ययनमा ल्याउनै चाहेन, नेपालका कर्मचारीतन्त्रले । त्यस्तै, आवाजविहीहरूको पनि आवाज भनिने मिडियाहरूले पनि यसबारेमा समाचारै दिएनन् ।

आदिवासी जनजाति चलचित्रकर्मी तथा लेखक संजोग लाफामगरका अनुसार २०६२-०६३ को तेस्रो जनआन्दोलन पछिको परिवर्तनपछि पनि नेपाल मगर संघले लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गरियोस् भनी पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुनः ज्ञापनपत्र बुझाउन जाँदा ठाडै अस्वीकार गरिएको थियो । तापनि २०७२ फागुनमा फेरि पनि तत्कालीन सुशील कोइराला सरकारले लखन थापामगरलाई नेपालका प्रथम सहिद भनी घोषणा गर्यो ।

प्रतिक्रिया