हिमपातले चिनियाँ सामान आयात ठप्प

रसुवा । हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भूभागको सडक तीन दिनदेखि बन्द भएको आफुले जानकारी पाएको र मालसामान लिन गएका कुनै पनि मालवाहक सवारी साधन फर्किएका छैनन् ।

तीन दिनअगाडि भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारी साधनको सामान मात्र परीक्षण गरी काठमाडौँतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सारले जनाएको छ । रसुवा गढी नाकाबाट करीब ३०० मालवाहक सवारी साधन मितेरीपुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिए ।

केरूङको बजारमा एक फिटभन्दा अग्लो हिमपात भएको र कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको मालसामान लिन गएका सवारी चालकले जानकारी पठाएका छन् । रसुवागढीबाट २३ किलोमिटर पर केरूङ बजारको र अधिकांश सडकमा मोटरका टायर गुडाउन सक्ने अवस्था नरहेको सवारी चालकले बताएका छन् ।

कम्बल वितरण

हिमपातको चिसोले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गको जनजीवन कष्टकर हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो कपडा वितरण गर्ने काम अगाडि बढाएको छ । रसुवाका सहायक प्रजिअ देवर्षि सापकोटाका अनुसार यही माघ ८ गतेदेखि उत्तरी रसुवामा हिमपात शुरू भएको र ग्रामीण क्षेत्रका विपन्न वर्गलाई जाडोबाट जोगाउन गृह मन्त्रालयको निर्देशनमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जिल्ला प्रशासन कार्यालयमार्फत कम्बल वितरण कामलाई तीव्रता दिइएको हो ।

स्थानीय तहको विपन्न व्यक्ति भन्ने प्रमाणका आधारमा उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गतलाङ, लाङटाङ चिलिमे क्षेत्रमा ७७ थान कम्बल वितरण गरिएको थियो । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका क्षेत्रमा वितरण गर्न प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा ८० थान कम्बलसहित एक टोली परिचालन भएको र विपन्नको सूचीकृत गर्ने कामलाई समेत अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

हिमपातले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ, चन्दनबारी, ठूलोस्याफ्रु, लाङटाङ, वृद्विम, टिमुरेकोखैदी, थुमन, धुञ्चेको नागुङ, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, गोल्जुङ, चिलिमेको शिम्भु तथा पुरानो तातोपानी क्षेत्र, नौकुण्ड गाउँपालिकाको यार्सा, सिङबन्दी, दोक्लाङ, चोरेचो, लोकिल क्षेत्रका बासिन्दालाई हिमपातले बढी प्रभाबित बनाएको स्थानीय बासिन्दाले बताएका छन् । रसुवाको उच्च भागमा परेको हिमपातले करीब १२ हजार रसुवाली चिसोले प्रभावित भएको नागरिक समाजले जनाएको छ ।

यस्तै समुन्द्री सतहदेखि दुई हजार २०० भन्दा माथि राखिने चौँरी गाईको चरन क्षेत्र हिमपातले चरन क्षेत्र छोपिएका कारण ५०० भन्दा बढी चौँरीगाई गाउँबेशीका नदी किनारको तातोस्थानमा सारिसकिएको चाँैरीपालक कृषक सोनाम नुर्पु घलेले बताए ।

प्रतिक्रिया