एकछिनको यात्रा

छेवैमा बसेकी मेरी छोरीले पनि मुख खोलिन्, हाे बाबा ! यो देशलाई सम्हाल्न त अब प्रशासनले ‘कि म छैन कुर्सीमा, कि यसलाई सम्हालेरै देखाउँछु,’ भन्ने खालका सुधारका अन्तिम उपायहरू अपनाउनै पर्छ, नत्र सोच्दै नसोचेका अवस्थाहरू आइपर्ने छन् 

१. सबै खाले यात्रुवाहक मोटरहरू अघि बढ्दै गर्दा, मोटरसाइकल सवारहरूको अनौठो ढंगको सडक प्रयोग देख्न पाइयो । उनीहरू घरी दाहिनेतिरबाट त घरी देब्रेतिरबाट अरूखाले वाहनहरूलाई पछि पार्दै अघि बढ्थे । कहीँ कहीँ ‘ए ! ए !! ठोक्किए कि ।’ भन्नै पर्ने स्थिति हुन्थ्यो । तर जोगिन्थे मोटरसाइकलहरू ।

खोइ कुन शक्तिले हो जोगाएको थियो उनीहरूलाई । ‘के त्यसरी जीवनको वास्ता नगरी, जे होला भन्दै चलाउन अनुमति दिएको छ देशको कानुनले ?’ एउटा विशेष प्रश्न मेरो मनमा उर्लन्छ । तर, म लाचार केही भन्न सक्दिनँ, किनभने त्यसबारे भन्नुपर्ने वा गर्नुपर्ने अरू नै थिए । हाप्m र झाप्m गरी ती सबैलाई तह लगाउन अहोरात्र खटिएका ट्राफिक प्रहरीहरू ।

२. एक ठाउँमा त अघि पछिका दुईवटा सवारी साधन बिचको एक मिटरभन्दा पनि कम दूरीमा, चलिरहेकै अवस्थामा स्वाट्ट पस्यो एउटा मोटरसाइकल । अघिल्लोमा त २÷४ सेन्टिमिटरको दूरीले ठोकिनबाट जोगियो । पछिल्लोमा बसिरहेका हामी तीनजना थियौँ (चालक सहित) हाम्रो मुटुले ठाउँ छोड्यो । सबैले एकैचाोटि ‘ए ! ए ! के गरेको त्यस्तो लापरबाही’ भन्न पुगेछौँ । कसले बचायो कुन्नि, तर हुनुपर्ने दुर्घटनाबाट कोही बच्यो, हामी पनि बच्यौँ ।

३. अघि बढ्दै जाँदा ३०÷४० जनादेखि ४०÷५० जनासम्म यात्रु बोक्ने अधिकार पत्र पाएका सबैजसो बसहरू ६०÷७० जना यात्रुहरू बोकेर गुडिरहेका थिए । अकस्मात् सबैजसो मोटरहरू रोकिए, जाम लागेर । अघिल्लो बसको सह चालकले भनेको प्रस्टै सुनियो ‘कोटेश्वर ओर्लने, छिटो छिटो अघि आउनोस्, जाम छ, पछि प्रहरीले रोक्न दिँदैन ।’

यात्रुहरूले भन्दै थिए “अघि सबै पछि पछि जाऊ, जति समय लागे पनि म ओराल्छु भन्थ्यौ भाइ यो भेडा–बाख्रा जस्तो खाँदिएको जिउ आफ्ना चिजबिज कसरी समालेर आउने ?…..पुग्न धौ उहीँ, यहाँ आउन सकिन्न । पानी पनि नछिर्ला जस्तो च्याप्पिएको अवस्था त तिमीले नै मान्छे कोचेर बनाएका हौ नि, होइन ?’ उसको जवाफ थियो, ‘म केही जान्दिनँ छिटो आओ नत्र भने कोटेश्वरमा ओर्लनेले जडीबुटीमा ओर्लनुपर्ला नि ।’

४. पछिल्लो बसको सहचालकले बोलेको पनि सुनियो, ‘कोटेश्वर,कोटेश्वर …..छिटो छिटो अघि आइपुग यहाँ झर्ने सबै ।‘सायद घचेटा–घचेट गर्र्दै अघि बढ्दा एउटा नानी काखमा लिएकी महिला च्याप्पिएर होला उनी कराउँदै थिइन्, नानीलाई नठेल ………नठेल त । नानी कराउँदै थिई ‘ऐया ! ऐया !!’ आमाको रिसले ठाउँ छोड्यो । अन्तिम शक्ति निकालेर होला कसैलाई झापड हानिछन् । त्यो आवाज हाम्रो कानसम्मै आइपुग्यो ।

५. सहचालक बोल्यो, ‘ए बुढा तिमीले बाटो छेक्यौ, छिटो निस्क त ।’ ८० लगभग पुग्न लागेका एकजना बुढा मानिस च्याप्पिएरै ‘ऐया ! ऐया !!’ गर्दै थिए । “अब यस्तरी च्यापेर थिलो थिलो भएको यो जिउलाई कसरी घर, पुर्याउने । किन यति साह्रै गर्छौ मान्छे चढाउन । झार्न पनि मिल्ने गरी चढाउने गर न बाबु …..।’ बुढा मानिसका शब्द के ओठबाट फुत्त निस्केका थिए, सहचालक कड्क्यो, ‘ए चढ्ने बेलामा चढ्ने अहिले दस किसिमका कुरा । …..यस्तै यस्तै कुरौटे मान्छेहरू चढ्छन् अनि फसाद । ..ए भाइ तिमी झरिहाल त…..ल । बैनी, तिमी पनि हामफाल बाटामा अनि पो अरूलाई बाटो हुन्छ ।’ उसले एक शासमा अरूलाई पनि करायो ।

यस्ता कुरा सुन्दा कताबाट हो कुन्नि मलाई ‘हरे राम ! लौ न यो देशलाई सबै क्षेत्रमा अनुशासन के हो, त्यसको पालना गर्ने सिप सिकाइ देऊ, नत्र त यो देश अनुशासनहीनताको खाईमा भासिने भयो’ भन्न आएछ ।

कुनै प्रशासनिक ओहोदामा रहेकी, मेरो छेवैमा बसेकी मेरी छोरीले पनि मुख खोलिन्, ‘हो बाबा ! यो देशलाई सम्हाल्न त अब प्रशासनले ‘कि म छैन कुर्सीमा,कि यसलाई सम्हालेरै देखाउँछु,’ भन्ने खालका सुधारका अन्तिम उपायहरू अपनाउनै पर्छ, नत्र सोच्दै नसोचेका अवस्थाहरू आइपर्ने छन् ।’

जाम खुकुलियो । मैले भावुक हुँदै छोरीको कुरालाई स्वीकृति दिएँ । हामी आफ्नो गन्तव्यतिरै गुड्यौँ । तर, एकैछिनमा बितेका ती विविध घटनाहरूले मलाई हत्तपत्त छोडेनन् । राजधानीको यस्तो अनुशासनले खोई कहिलेसम्म घचघच्याइरहने हो ?

प्रतिक्रिया