निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको सुरु छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १ सय ५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३ सय ३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार चालु आवमा सुरु ६ महिनामा १५ करोड एक लाख १५ हजार ७ सय ८३ राजस्व संकलन भएको छ । गत आव भरमा २३ करोड ७३ लाख ६३ हजार ९६३ राजस्व संकलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजस्व पनि बढेको बताए ।

भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको संख्या बढ्दै गएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताए । यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उनले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताए । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।

यसैबीच निकुञ्जले सौराहामा संकलन हुने राजस्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा संकलन सुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल संकलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा संकलन हुँदै आएको छ । राजस्व संकलन वाणिज्य बैंक भरतपुरमा गरिँदै आएकोमा राष्ट्र बैंक, वन मन्त्रालय, निकुञ्ज विभाग लगायतको अनुमतिपछि बुधबारदेखि कृषि विकास बैंकको सौराहा शाखामा संकलन थालिएको उनले बताए ।

सौराहामा माघ २८ बाट फुड फेस्टिबल हुने
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २८ गतेबाट सौराहा खाना महोत्सव (फुड फेस्टिबल)को आयोजना गर्ने भएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबलको यो १३ औं संस्करण हो । रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्ननगर नगरपालिका–७ को सिस्वार खेलमैदानमा फेस्टिवल आयोजना गर्न लागिएको हो । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने भएको छ ।

गिरीका अनुसार फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सौराहामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । एक सय दश होटल रहेको सौराहामा करिब ६० रेष्टुरेन्ट छन् । फेस्टिवल फागुन ३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया