वित्त आयोगमा पौडेल

काठमाडौं । संवैधानिक परिषद्ले पाँचवटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले ५ आयोगका अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो ।

सिंहदरबारमा बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरेको छ । वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको छ ।

पौडेल पूर्व–सचिव हुन् । उनी स्थानीय राज्य पुनःसंरचना आयोगका अध्यक्षसमेत भएका थिए । प्रदेशहरूले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर, एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो । सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

वित्त आयोगको अध्यक्षका दाबेदार रहेका डा. शान्तराज सुवेदीलाई समावेशी आयोगको अध्यक्ष सिफारिस गरिएको छ । सुवेदी दुईपटक अर्थसचिव भएका थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पनि सचिव थिए । पहिलो संघीय बजेट बनाएका सुवेदीलाई वित्त आयोगको अध्यक्षका दाबेदार मानिएको थियो ।

यसैगरी, मधेसी आयोगमा डा. विजयकुमार दत्तको नाम सिफारिस गरिएको छ । विष्णुप्रसाद चौधरीलाई थारू आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ । उनीहरूले संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति लिनेछन् । संवैधानिक आयोगका अध्यक्ष एवं सदस्यको संसदीय सुनुवाइ अनिवार्य गरिएको छ ।

धनुषाका दत्त मैथिली विद्यापति कोषका अध्यक्ष, जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका अंग्रेजी विषयको विभागीय प्रमुख, बर्दियाका चौधरी पूर्वसांसद्, काठमाडौंका अन्सारी नेकपाका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया